न्युयोर्कको होमलेस सेल्टरमा ५ दिनदेखि मृत आमाका साथमा एकबर्षकी नाबालिका


प्रकाशित मिति : माघ १०, २०७८ सोमबार

न्युयोर्कको होमलेस सेल्टरमा एकजना बच्चाले मृत आमाका साथमा पाँचदिन बिताएको खुलासा भएको छ । होमलेस सेल्टरमा मृत्यु भएकी आमाका साथमा एकबर्षकी बालिकाले पाँच दिन बिताएको भन्दै न्युयोर्क सिटीको डिपार्टमेन्ट अफ होमलेस सर्भिसबिरुद्ध मुद्दा दायर गरिएको छ ।

न्युयोर्कको सर्वोच्च अदालतमा दायर गरिएको मुद्दामा न्युयोर्क सिटीको डिपार्टमेन्ट अफ होमलेस सर्भिसले बालबालिकाको ध्यान दिन नसकेको र सेल्टरको मापदण्डको पालना नगरेको दावी गरिएको छ । नाबालिका र उनकी मृत आमा सन् २०२१ को जुलाई २५ को राती फेला परेका थिए ।

कसैले गन्ध आएको भन्दै भवनको सुरक्षामा खबर गरेपछि मृतक सेल्बी वेस्लेक र नाबालिका छोरी भेटिएका थिए । भवनका सुरक्षामा खटिएका कर्मचारीले आपतकालिन मेडिकल सेवामा फोन गरेका थिए । मेडिकल सेवाका कर्मचारीहरु कोठाभित्र छिर्दा २६ बर्षकी सेल्वीको शव कुहिएको थियो भने नाबालिका छोरी खाटमुनी भेटिएकी थिइन् ।

ती नाबालिकालाई तत्काल अस्पताल लगिएको थियो । नाबालिकाको अनुशार दिशाले छोपिएको थियो भने उनी भोक र तिर्खाले छटपटाएको अवस्थामा थिइन् । सिटी संचालित सेल्टरमा निरिक्षण, नियन्त्रण लगायतका कैयन मापदण्डहरु पूरा नभएको अदालतमा पेश गरिएको कागजातमा जनाइएको छ ।

न्युयोर्क सिटीको डिपार्टमेन्ट अफ होमलेस सर्भिसबिरुद्ध दायर मुद्दामा ५ मिलियन डलर क्षतिपूर्तिको माग गरिएको छ । यो घटना हृदयविदारक र अत्यन्तै दुखद भएको डिपार्टमेन्ट अफ सोसल सर्भिसले जनाएको छ । आमाको मृत्युको कारणबारे अझै अनुसन्धान भइरहेको छ ।

मुद्दामा चासो देखाइएका विषयमा व्यवस्थालाई सच्याइएको होमलेस सेल्टरले जनाएको छ । हरेक रात हाजिर नलगाउनेहरुको स्वास्थ्य अवस्थाको त्यही रात नै जाँच गर्ने व्यवस्था गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com