न्युयोर्कमा हजुरआमाले फोनबाट ८ हजार माग्ने ठगलाई यसरी पारिन् प्रहरी फन्दामा


प्रकाशित मिति : माघ ९, २०७८ आईतबार

न्युयोर्कमा एकजना हजुरआमाले फोनबाट ८ हजार डलर माग्ने ठगलाई प्रहरीको फन्दामा पारेकी छिन् । ७३ बर्षकी हजुरआमाले आफूलाई नाती बताउँदै जेलबाट जमानतमा छुट्न ८ हजार डलर माग्ने ठगलाई फन्दामा पारेकी हुन् ।

न्युयोर्कको लङ आइल्याण्ड सिफोर्डमा बस्ने ती महिलालाई एकजना व्यक्तिले फोन गरेर आफू ती महिलाको नाती भएको मादक पदार्थ सेवन गरेर गाडी चलाउँदा पक्राउ परेको बताएका थिए । तर आफ्नो कुनै गाडी चलाउने नाती नभएका कारण ती महिलाले तत्काल यो ठगको फोन भएको थाहा पाइन् ।

ठगले ती महिलालाई कैयन फोन कल गरेको र एकजनाले आफू नातीको वकिल भएको दावी गर्दै छुटाउनका लागि ८ हजार डलर चाहिने बताएका थिए । तेश्रो व्यक्तिले फोन गरेर जमानत रकम लिनका लागि आफूलाई खटाइएको बताएका थिए । तर ती महिलाले बैंक एकाउन्ट वा कार्डमा रकम नभएको तथा रकम घरमा भएकाले घरमै लिन आउन भनेकी थिइन् ।

ठगीमा संलग्न २८ बर्षको इस्ट्रेला गोमेज

त्यसपछि ती महिलाले घटनाबारे प्रहरीलाई खबर गरिन् । जब ठग घरमै रकम लिन आयो, तब उनले ठगलाई पेपर टावेलले भरिएको एउटा खाम दिइन् । त्यो व्यक्ति घरबाट निस्कने वित्तिकै बाहिर उसको प्रतिक्षामा रहेका प्रहरीले नियन्त्रणमा लिइहाले । नासु काउन्टीका प्रहरीले ठगीमा संलग्न २८ बर्षको इस्ट्रेला गोमेजलाई पक्राउ गरेका छन् । उक्त व्यक्तिविरुद्ध तेश्रो डिग्री ठगीको अभियोग लगाइएको छ ।

ठगीमा संलग्न व्यक्तिलाई फरबरी ३ मा अदालतमा उपस्थीत हुन सुचना दिइएको छ । धेरैजना व्यक्ति ठगिएपछिमात्र पत्तो पाउने भएतापनि आफूले ठगिनु अगाडि नै पत्तो पाएर ठगलाई नै फन्दामा पार्न सफल भएकोमा खुशी व्यक्ति गरिन् । ठगीबाट बच्न अनावश्यक फोनकल र मेसेज ब्लक गर्न प्रहरीले सुझाव दिएको छ । यदि कसैले पक्राउ परेको भन्दै फोन गरेमा उक्त व्यक्तिको नम्बर वा परिवारका सदस्यलाई फोन गर्न प्रहरीले सुझाव दिएको छ ।

तत्काल रकम माग्नेहरुबाट सावधान हुन र बैध निकायले रकम तिर्नैपर्ने भएतापनि त्यसका लागि समयअवधि दिने प्रहरीको भनाई छ । अज्ञात व्यक्ति वा व्यवसायलाई गिफ्ट कार्ड वा वायर रकमबाट नतिर्न प्रहरीले सुझाव समेत दिएको छ ।

कभर फोटोमा ठगलाई पक्राउ गरेको हेर्दै हजुरआमा ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com