ड्युटी सकिएको भन्दै पाकिस्तानी पाइलटले बीचमै विमान उडाउन नमानेपछि


प्रकाशित मिति : माघ ८, २०७८ शनिबार

 

पाकिस्तानका एक पाइलटले आफ्नो सिफ्ट सकिएको भन्दै बीच बाटोमै विमान उडाउन अस्वीकार गरेका छन् । पाकिस्तानी इन्टरनेशनल एयरलाइन्स (पीआईए)को एउटा विमान आइतबार साउदी अरेबियाको रियादबाट इस्लामाबाद उड्नुपर्ने थियो ।

यद्यपि, पीके–९७५४ ले रियादबाट त उडान भर्यो । तर खराब मौसमका कारण यसलाई साउदी अरेबियाको दम्माममा आकस्मिक अवतरण गराउनुपर्यो ।

मौसममा सुधार आएपछि विमानका क्याप्टेनले दमामबाट इस्लामाबाद उडान भर्न अस्वीकार गरे किनभने उनको ड्युटी आवर सकिएको थियो । पाइलटले विमान नउडाउनुको कारण बताउँदै गर्दा त्यहाँ उपस्थिति धेरैको रिसको पारा असाध्यै माथि चढिसकेको थियो । त्यसैले आफ्नो रोष व्यक्त गर्दै यात्री विमानबाट ओर्लिएनन् र यसमा आफ्नो विरोध जनाए ।

अन्ततः स्थितिलाई नियन्त्रणमा ल्याउनका लागि सुरक्षाकर्मीलाई नै बोलाउनुपर्यो । विमानस्थलमा यात्रीका लागि होटलको बन्दोबस्त पनि मिलाइयो ।

पीआईएका प्रवक्ताले द एक्सप्रेस ट्रिब्यूनसँगको कुराकानीमा भने, ‘सुरक्षित रुपमा विमान उडाउनु अघि पाइलटले पर्याप्त मात्रामा आराम गरेको हुनुपर्छ, त्यसैले यसै अनुरुप बन्दोबस्त मिलाइएको थियो ।’ ती प्रवक्ताले विमानका यात्री त्यसै दिन बेलुका ११ बजे इस्लामाबाद पुगेको पनि जानकारी दिए । एजेन्सी

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com