फाइभ जीले विमानको प्रविधिमा समस्या आउनसक्ने भन्दै अमेरिकामा कैयन अन्तर्राष्ट्रिय उडान रद्द


प्रकाशित मिति : माघ ५, २०७८ बुधबार

फाइभ जी सेलफोन सेवाका कारण विमानको प्रविधिमा समस्या आउनसक्ने भन्दै अमेरिकामा ९ वटा विमानस्थलमा इमिरेट्सका उडानहरु रद्द गरिएको छ । बोस्टन, शिकागो, डलास फोटवर्थ, ह्युस्टन, मायामी, नेवार्क, ओल्र्याण्डो र शियाटलका उडानहरु रद्द गरेको इमिरेट्सले जनाएको छ । न्युयोर्कको जोन अफ केनेडी, लस एन्जलस र वासिंटन डिसीबाट भने उडानहरु यथावत नै रहेका छन् ।

एयर इन्डिया, अल निपोन एयरवेज, जापान एयरवेज, लुफथान्सा र बिट्रिस एयरवेज लगायतले पनि फाइभ जी प्रविधिलाई उल्लेख गर्दै उडानहरु परिमार्जन गरेका छन् । आफूहरुले विमान निर्माता र सम्बन्धित अधिकारीहरुसँग नजिकबाट काम गरिरहेको तथा निकट भविश्यमा सेवाहरु सुचारु गर्नेमा आशावादी रहेको इमिरेट्सले जनाएको छ ।

एयर इन्डियाले सान फ्रान्सिस्को, शिकागो र न्युयोर्कको जोन अफ केनेडीबाट दिल्लीको उडान रद्द गर्ने जनाएको छ । नेवार्कबाट मुम्बईको उडान पनि रद्द गर्ने एयर इन्डियाको भनाई छ । एएनए र जापान एयरलाइन्सले बोइङ ७७७ का उडानहरु रद्द गरेको तथा बोइङ ७८७ एसका उडानहरु जारी राखेको जनाएको छ ।

लुफथान्साले फ्रयांकफर्ट र मायामीबीचको उडान रद्द गरेको छ । लस एन्जलस, शिकागो र सान फ्रान्सिस्कोका उडानहरुमा विमान परिवर्तन गर्ने लुफथान्साले जनाएको छ । भर्जिन एटलान्टिक र एयर फ्रान्सले उडानहरु रद्द नगरेको तर अवस्थाको अवलोकन गरिरहेको बताएका छन् ।

स्वीच गर्न निर्धारण गरिएको फाइभ जीले हवाई जहाजका उपकरणहरुमा अवरोध गर्नसक्ने भन्दै उडानहरु रद्द गरिएका हुन् । संघीय टेलिकम नियामक र वायरलेस करिअरहरुले आश्वास्त पार्दा पनि कैयन उड्यन उद्योग समुहहरुले विमानका उपकरणमा असर पर्नसक्ने डर व्यक्त गरेका हुन् ।

इमिरेट्सका अध्यक्षले फाइभ जीको सुरुवातबारे आफूहरुलाई हिजो विहानसम्म थाहा नभएको र यो अत्यन्तै गैर जिम्मेबार काम भएको बताएका छन् । यातायात नियामकहरु भने फाइभ जीमा गरिने रुपान्तरणले विमानका उपकरणमा अवरोध गर्नसक्नेबारे पहिले नै चासो देखाएका थिए ।

विमानस्थल नजिकका फाइभ जी एन्टेनाहरुले पाइलटलाई तिनीहरु जमिनबाट कति टाढा छन् भनेर बताउन डिजाइन गरिएका उपकरणमा अवरोध गर्नसक्ने भन्दै चासो देखाएएको हो । राडार अल्टिमिटर भनेर चिनिने यो प्रणाली उडान अवधिभर प्रयोग गरिन्छ भने अत्यन्तै महत्वपूर्ण मानिन्छ । विमानमा चढ्ने यात्रुका सेलफोनका कारण भने समस्या नहुने जनाइएको छ ।

एटीएनटी र भेराइजनले निश्चित विमानस्थल नजिक रहेका टावरहरुमा फाइभ जी सकृय बनाउन केही ढिलो गर्ने बताएका छन् । मुख्य विमानस्थल नजिकमा यो प्रविधि सकृय बनाउन बुधबारका लागि तय भएको थियो । ४० वटा देशमा हवाई यातायातलाई कुनै अवरोध नगरी फाइभ जी सेवा संचालन गरिएको अवस्थामा अमेरिकाले संघीय उड्डयन प्रशासनले यो काम गर्न नसक्दा एटीएनटीका प्रवक्ताले आक्रोश व्यक्त गरेका छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com