कामदारलाई भ्याक्सिन अनिवार्य गर्ने बाइडेनको नियम कार्यान्वयनमा सर्वोच्चको रोक


प्रकाशित मिति : पुस २९, २०७८ बिहीबार

ठूला व्यवसायमा काम गर्ने कामदारहरुलाई भ्याक्सिन वा कोरोना परीक्षण अनिवार्य गर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनको घोषणा कार्यान्वयनमा सर्वोच्च अदालतले रोक लगाएको छ । तर केही निश्चित प्रकारका स्वास्थ्यकर्मीहरुका लागि भ्याक्सिन अनिवार्य गर्ने नियमलाई भने सदर गरेको छ ।

ठूला व्यवसायका लागि नियम अवरुद्ध गर्ने सर्वोच्चको निर्णय संसदले व्यावसायिक सुरक्षा र स्वास्थ्य प्रशासनलाई त्यस्तो जनादेश लागू गर्ने शक्ति दिएको छैन भन्ने तर्कमा आधारित थियो।

उदारवादी न्यायाधीश स्टीफन ब्रेयर, सोनिया सोटोमायर र एलेना कागनले बाइडेनको नियम रोक्ने कदममा असहमति जनाएका थिए।

बाइडेनले ल्याएको नियम करिब ८० मिलियन व्यक्तिहरूलाई प्रभाव पार्ने खालको थियो । यो नियम अनुशार एकसय वा बढी कर्मचारीहरू भएका रोजगारदाताहरूले आफ्ना कर्मचारीहरूले पूर्ण रूपमा खोप लगाइएको सुनिश्चित गर्नुपर्ने प्रावधा थियो । अन्यथा नियमित कोरोना परीक्षण र मास्क लगाएको सुनिश्चित गर्नुपर्ने थियो ।

अमेरिकामा एकसयभन्दा बढी कर्मचारी भएका ठूला रोजगारदाता कम्पनीले जनवरी ४ सम्म आफ्ना कामदारका लागि भ्याक्सिन अनिवार्य नगरे १ लाख ३६ हजार ५ सय ३२ डलरसम्म जरिवाना हुने व्यवस्था समेत गरिएको थियो । बाइडेन प्रशासनले एकसयभन्दा बढी कर्मचारी हुने कम्पनीका कामदारलाई जनवरी ४ देखि भ्याक्सिन अनिवार्य गर्दै हरेक गम्भिर उल्लंघनका लागि १३ हजार ६ सय ५३ डलरसम्म जरिवाना गर्ने घोषणा गरेको थियो ।

जानाजान नियम उलंघन गर्ने विजनेशलाई १ लाख ३६ हजार ५ सय ३२ डलरसम्म जरिवाना गरिने नियम रहेको थियो ।

मापदण्डभित्र पर्नेहरुले मोडेर्ना वा फाइजर भ्याक्सिनको दुबै डोज लगाएको हुनुपर्ने तथा जोन्सन एण्ड जोन्सन भ्याक्सिनको एक डोज लगाएकाहरुलाई पनि मान्यता दिइने उल्लेख थियो । महामारीको सामना गर्ने एउटामात्र उचित बाटो भ्याक्सिन लगाउनु नै रहेकाले यो नियमको पालना गर्न राष्ट्रपति जो बाइडेनले सबैलाई आग्रह गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com