अमेरिकापछि इंग्ल्याण्डमा पनि आइसोलेशन अवधि पाँच दिन


प्रकाशित मिति : पुस २९, २०७८ बिहीबार

इंग्ल्याण्डमा कोरोना संक्रमण पोजिटिभ भएकाहरुकाहरुका लागि  आइसोलेशन अवधि घटाइएको छ । यसअघि   १४ दिनबाट  १० दिन हुँदै आइसोलेशन अवधिलाई घटाएर सात दिनमा झारिएको थियो ।

बेलायती स्वास्थ्यमन्त्री साजिद जाविदले आउँदो सोमबारबाट लागू हुनेगरी नयाँ नियमको घोषणा गरेका हुन् । सोमबारबाट कोरोना संक्रमण पोजिटिभ भएका मानिसहरुले पाँच दिन आइसोलेशन बसेर पाँचौ र छैटौं दिनको  नेगेटिभ ‘ल्याटेरल फ्लो टेष्ट’ गरेपछि आइसोलेशनमुक्त हुन सक्नेछन् ।

बेलायतमा नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ संक्रमण तीव्र भएपछि स्वास्थ्य क्षेत्र लगायतका विभिन्न ठाउँमा कर्मचारी अभावका कारण संकटको अवस्था सृजना भएको छ । आइसोलेशन अवधि  अमेरिकामा पनि  पाँच दिनमा सिमित गरेपछि बेलायतमा पनि आइसोलेशन अवधि घटाउनको सांसदहरुले चर्को दवाब दिंदै आएका थिए ।

अमेरिकामा सीडीसीले ५ दिने आइसोलेसनको अन्त्यमा कोरोनाको परीक्षण गर्नसक्ने सिफारिससहित निर्देशिका अपडेट गरेको थियो ।

यदि पहुच भएको खण्डमा वा परीक्षण गर्न चाहेको खण्डमा ५ दिने आइसोलेसनको अन्तिममा तीब्र गतिको परीक्षण गर्न सीडीसीले सुझाव दिएको छ । अपडेटमा आइसोलेसनमा रहेकाहरुलाई परीक्षण गर्नैपर्ने भनिएको छैन तर कसैले गर्न चाहेको खण्डमा त्यसका लागि गाइडलाइन दिइएको छ ।

परीक्षण गर्दा पोजेटिभ देखिएमा कोरोनाको लक्षण देखिन थालेको मितिले १० दिनसम्म आइसोलेसनमा बस्न भनिएको छ । यदि नेगेटिभ देखिएको खण्डमा भने उनीहरु आइसोलेसबाट बाहिर निस्कन सक्नेछन् । तर उनीहरुलाई १० दिनसम्म मास्क लगाउन सुझाव दिइएको छ ।

आइसोलेसनमा बसेकाहरुलाई कम्तीमा १० दिन यात्रा नगर्न सुझाव दिइएको छ । तर यात्रा गर्नैपर्ने भएमा छैठौं दिनदेखि दशौंदिनसम्म सम्पूर्ण यात्राभर मास्क लगाउन भनिएको छ । सीडीसीको निर्देशिका विज्ञानमा आधारित रहेको ह्वाइटहाउसले जनाएको छ ।

अमेरिकन सीडीसीले केहीदिन अगाडिमात्र क्वारेन्टीनको अवधि घटाएको हो । कोरोना संक्रमितहरुलाई १० दिनको साटो ५ दिनमात्र क्वारेन्टीन वा आइसोलेसनमा बस्न सुझाव दिइएको छ । कोरोना संक्रमितसँग सम्सर्गमा आएकाहरुलाई पनि क्वारेन्टीनको अवधि घटाएर १० दिनबाट ५ दिनमात्र बनाइएको छ ।

कोरोना संक्रमितहरुले लक्षण देखिनुभन्दा २ दिन अगाडि र लक्षण देखिएको ३ दिनसम्ममात्र अरुलाई सार्ने सम्भावना अत्याधिक भएको प्रमाणका आधारमा सीडीसीले क्वारेन्टीन र आइसोलेसनको अवधि घटाएको बताएको छ । कोरोनाको ओमिक्रोन भेरियन्टले विगतका भेरियन्टको तुलनामा कममात्र बिरामी बनाउने रिपोर्टहरु आइरहँदा सीडीसीले क्वारेन्टीनको अवधि घटाएको हो ।

सीडीसी निर्देशक रोशेल वालेन्स्कीले अमेरिकामा कोरोनाको ओमिक्रोन भेरियन्ट अझ धेरै हुने बताएपनि सिकिस्त हुने सम्भावना भने कम भएको बताएकी छिन् । अधिकांश संक्रमितहरुमा लक्षण नै नदेखिने उनको भनाई छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com