न्युयोर्कमा महामारी सम्बन्धित भाडा सहायता कार्यक्रमका लागि पुन: आवेदन खुलाइने
प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार

न्युयोर्कमा महामारी सम्बन्धित भाडा सहायता कार्यक्रमका लागि पुन आवेदन खुलाइने भएको छ । राज्यको सर्वोच्च अदालतका न्यायाधिस लिन कोटलरले प्रारम्भिक आदेश जारी गर्दै तीनदिनभित्र भाडा सहायता कार्यक्रमका लागि आवेदन खुला गर्न राज्यलाई निर्देशन दिएका छन् ।
घर निकाला हुनबाट संरक्षण प्रदान गर्ने र भाडा सहायता कार्यक्रमका लागि बुधबार अगाडि नै राज्यले अनलाइनबाट आवेदन लिन सुरु गर्नुपर्नेछ । यद्यपी यो कार्यक्रमका लागि छुट्याइएको रकम भने समाप्त भइसकेको छ ।
न्युयोर्कले करोडौं डलरको संघीय सहायता रकम भाडा सहायता कार्यक्रम अन्तरगत वितरण गरिसकेको छ । आगामी महिनामा थप रकमका लागि न्युयोर्क योग्य हुनसक्ने अपेक्षा गरिएको छ । गभर्नर क्याथी होचुल र राज्यका सांसदहरुले थप १ बिलियन डलर भाडा सहायता कार्यक्रमका लागि स्वीकृत गर्न वासिंटन समक्ष आग्रह गरेका छन् ।
न्युयोर्कमा गत नोभेम्बरदेखि भाडा सहायता कार्यक्रमका लागि आवेदन लिन बन्द गरिएको थियो । घरनिकाला हुनबाट प्रदान हुने संरक्षणको जनवरी १५ मा समाप्त हुने भएतापनि आवेदन लिन सुरु गरेपछि महामारीको कारणले आर्थिक कठिनाइको सामना गरिरहेको आवेदनको पुनरावलोकन भइररहँदा उनीहरुलाई घरनिकाला हुनबाट संरक्षण प्रदान गरिनेछ ।