‘लिभिङ टुगेदर’मा बस्दै आएका दुईको मृत्यु,पब्जीकै कारण घटना घटेको प्रहरीको आशङ्का


प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार

काठमाडौँ महानगरपालिका–६ कपनमा ‘लिभिङ टुगेदर’मा बस्दै आएका दुई जनाको रहस्यमय रुपमा मृत्यु भएको छ ।

खोटाङ शाक्ला गाउँपालिका–५ घर भएकी २२ वर्षीया युशिना राई गएराति कोठामा मृत अवस्थामा फेला परेका र उनीसँगै बस्ने सङ्खुवासभा घर भएका २५ वर्षीय अनिष जिमीको उपचारको क्रममा मृत्यु भएको छ । उनीहरु पब्जी खेलबाट चिनाजान भएको हुँदा झण्डै एक महिनादेखि सँगै बस्दै आएका थिए ।

आफन्तको घरमा बसेका उनीहरु चिच्याएको आवाज सुनिएपछि राति कोठामा हेर्दा गम्भिर अवस्थामा फेला परेको परिवारले जनाएको छ । प्रहरीकोमा राति १२ः४५ बजे घटनाबारे जानकारी आएको र तत्कालै प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

प्रहरीले पब्जी खेलकै कारण घटना घटेको आशङ्का गरेको छ । घटनाको अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । शरिरमा रगत लतपतिएको र चक्कुले हानेको घाउ छ ।

यसैगरी काठमाडौँको चन्द्रागिरी नगरपालिका–१ दहचोक बस्ने मोरङका २५ वर्षीय दिपक रिसिदेव थानकोट–चितलाङको भीरमा मृत भेटिएका छन् । मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङबाट पुस १६ मा वेपत्ता भएका उनको महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले शव फेला पारेको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com