शुक्रबारदेखि भ्याक्सिन लगाएकाहरु बेलायत जाँदा कोरोना परीक्षणको रिपोर्ट नचाहिने
प्रकाशित मिति : पुस २१, २०७८ बुधबार

शुक्रबारदेखि बेलायत जानेहरुले विमान चढ्नु अगाडि कोरोनाको नेगेटिभ रिपोर्ट पेश गर्नु नपर्ने भएको छ । बेलायत सरकारले यो नियमसँगै देश भित्रिने यात्रुहरुको लागि गर्दै आएको कडाइलाई थप खुकुलो पारेको हो ।
यसअघि बेलायत आउनुअघि पिसिआर टेष्ट अनिवार्य गर्नुपर्ने नियम रहेको थियो । पूर्णरुपमा भ्याक्सिन लगाएकाहरुका लागिमात्र विमान चढ्नु अगाडि नेगेटिभ पीसीआर रिपोर्टको नियम हटाइएको हो । तर भ्याक्सिन नलगाएका, पूर्णरुपमा भ्याक्सिन नलगाएका १८ बर्षमाथिकाहरुका लागि पहिले नै नियम लागु हुनेछ ।
प्रधानमन्त्री बोरिस जोन्सनले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको बिस्तारसंगै लागू नियम अहिले सहि समयमा पुनरावलोकन गरिएको जनाएका छन् ।
त्यस्तै, अबदेखि बेलायत आएको दोस्रो दिनमा गर्नुपर्ने पिसिआर टेष्ट पनि अनिवार्य नरहने भएको छ । जसको ठाउँमा सस्तो र सहज उपलब्ध र्यापिड एन्टिजेन टेस्ट गर्न सकिने भएको छ ।
परीक्षणको रिपोर्ट नआउँदासम्म क्वारेन्टीनमा बस्न पनि अनिवार्य हुनेछैन । यसअघि बेलायत आइपुगेको दोस्रो दिनको पिसिआर टेष्टको नेगेटिभ नतिजा नआएसम्म पर्खिनुपर्ने हुन्थ्यो। यदि एन्टिजेन परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको खण्डमा भने पीसीआर परीक्षण गर्नुपर्नेछ ।
बेलायतले घोषणा गरेको नयाँ लचकतासंगै अब बेलायत भित्रिने र बेलायतबाट बाहिरिने यात्रुहरुको संख्या उल्लेख्य रुपमा बढ्ने अनुमान गरिएको छ ।