अमेरिकाबाट फ्रान्स जाने भ्याक्सिन नलगाएकाहरु १० दिन क्वारेन्टीनमा बस्नुपर्ने
प्रकाशित मिति : पुस १८, २०७८ आईतबार
अमेरिकाबाट फ्रान्स जाने भ्याक्सिन नलगाएका यात्रुहरु १० दिन क्वारेन्टीनमा बस्नुपर्ने नियम लागु गरिएको छ । अमेरिकामा कोरोनाको संक्रमण तीब्र बनिरहँदा फ्रान्सले अमेरिकालाई रेडलिष्टमा राख्दै अमेरिकाबाट त्यहाँ जाने भ्याक्सिन नलगाएकाहरुका लागि क्वारेन्टीनको नियम घोषणा गरेको हो ।
भ्याक्सिन लगाएकाहरुले पनि भ्याक्सिन लगाएको प्रमाण र यात्रा गर्नु अगाडि कोरोनाको नेगेटिभ रिपोर्टको प्रमाण पेश गर्नुपर्नेछ । अमेरिकामा कोरोना संक्रमितहरुको संख्याले नयाँ रेकर्ड कायम गरिरहेको बेलामा पछिल्लो नियम आएको हो । फ्रान्समा पनि संक्रमणदर उच्च रहेको छ । फ्रान्समा झण्डै दैनिक २ लाखको हाराहारीमा संक्रमितहरु थपिएका छन् ।
फ्रान्सको रेडलिष्टमा अफगानिस्तान, सर्विया, रसिया र बेलारुस पनि थपिएका छन् । कोरोनाको ओमिक्रोन भेरियन्ट अत्यन्तै संक्रामक रहेको तर कम खतरनाक रहेको प्रारम्भिक रिपोर्टहरु आइरहेका छन् । अमेरिकी राष्ट्रपतिका मेडिकल सल्लाहकार एन्थोनी फाउचीले ओमिक्रोन भेरियन्ट डेल्टाभन्दा कम खतरनाक रहेको बताएका छन् ।

सीडीसीको सिफारिसका आधारमा अमेरिकी राष्ट्रपति जो बाइडेनले दक्षिण अफ्रिका लगायतका ८ देशबाट अमेरिका आउनमा लगाइएको रोक पनि हटाइसकेका छन् । डिसेम्बर ३१ देखि प्रतिबन्ध हटाइएको हो ।
कोरोनाको ओमिक्रोन भेरियन्टका कारण गत महिना अमेरिकाले विभिन्न ८ वटा देशबाट अमेरिका आउनमा रोक लगाएको थियो । प्रतिबन्ध हटाइएसँगै विगत १४ दिनभित्र ती ८ देशमा उपस्थीत भएकाहरुलाई पनि अमेरिका प्रवेशको अनुमति दिइएको छ ।
अमेरिकाले गत नोभेम्बर २९ देखि साउथ अफ्रिका, बोत्सावना, जिम्बाबे, नामिबिया, लेसोथो, इस्वाटिनी, मोजाम्बिक र मालावीबाट गैर अमेरिकी नागरिकबाहेकका अन्यलाई अमेरिका आउनमा रोक लगाएको थियो । विगतमा लगाएको प्रतिबन्धले ओमिक्रोन भेरियन्टलाई बुझ्न समय प्राप्त भएको तथा अहिलेका भ्याक्सिनहरुले ओमिक्रोन भेरियन्टबिरुद्ध काम गर्ने पाइएको ह्वाइट हाउस प्रवक्ता मुनोजले बताएका छन् ।
त्यस्तै अमेरिकन सीडीसीले क्वारेन्टीनको अवधि पनि घटाएको छ । कोरोना संक्रमितहरुलाई १० दिनको साटो ५ दिनमात्र क्वारेन्टीन वा आइसोलेसनमा बस्न सुझाव दिइएको छ । कोरोना संक्रमितसँग सम्सर्गमा आएकाहरुलाई पनि क्वारेन्टीनको अवधि घटाएर १० दिनबाट ५ दिनमात्र बनाइएको छ ।
कोरोना संक्रमितहरुले लक्षण देखिनुभन्दा २ दिन अगाडि र लक्षण देखिएको ३ दिनसम्ममात्र अरुलाई सार्ने सम्भावना अत्याधिक भएको प्रमाणका आधारमा सीडीसीले क्वारेन्टीन र आइसोलेसनको अवधि घटाएको हो । कोरोनाको ओमिक्रोन भेरियन्टले विगतका भेरियन्टको तुलनामा कममात्र बिरामी बनाउने रिपोर्टहरु आइरहँदा सीडीसीले क्वारेन्टीनको अवधि घटाएको हो ।
सीडीसी निर्देशक रोशेल वालेन्स्कीले अमेरिकामा कोरोनाको ओमिक्रोन भेरियन्ट अझ धेरै हुने बताएपनि सिकिस्त हुने सम्भावना भने कम भएको बताएकी छिन् । अधिकांश संक्रमितहरुमा लक्षण नै नदेखिने उनको भनाई छ ।
हालैमात्र सीडीसीले कोरोना संक्रमित स्वास्थ्यकर्मीहरु ७ दिनपछि कोरोना नेगेटिभ देखिएमा र लक्षण नदेखिएको खण्डमा काममा फर्कनसक्ने नियम ल्याएको थियो । यस अगाडि यो नियम १० दिनका लागि रहेको थियो । कामदारको अभावका कारण आइसोलेसन अवधि ५ दिनबाट पनि घटाउन सकिने सीडीसीले जनाएको छ ।






