न्युयोर्क मेयरको कार्यभार सम्हालेको पहिलो दिन नै ९११ मा एरिक आडम्सको फोन
प्रकाशित मिति : पुस १७, २०७८ शनिबार
न्युयोर्क मेयरको कार्यभार सम्हालेको पहिलो दिन नै एरिक आडम्सले प्रहरीलाई ९११ मा फोन गरेका छन् । सडकमा भएको आक्रमणको घटनामा उनले प्रहरीलाई फोन गरेका हुन् ।
बु्रकलिन स्टेशनभन्दा बाहिर सडकमा एकजना व्यक्तिले अर्कोलाई आक्रमण गरेको देखेका आडम्सले घटनाबारे जानकारी गराउँदै प्रहरीको आपतकालिन नम्बरमा फोन गरेका थिए । उनले फोनको अन्तिममा मात्र आफू मेयर भएको जानकारी दिएका थिए ।

एरिक आडम्सले डिसेम्बर ३१ को मध्यरातपछि अर्थात् जनवरी १ सुरु हुने बित्तिकै टाइम्स स्क्वायरमा सपथ ग्रहण गरेका थिए । नयाँ बर्षको अवशरमा टाइम्स स्क्वायरमा बल खसाल्ने बित्तिकै उनले सपथग्रहण गरेका हुन् ।
एनले एउटा हातले आमाको तस्वीर समातेर र अर्को हातले परिवारको बाइबल छोएर सपथ लिएका थिए । एरिक आडम्सले पूर्व मेयर बिल ब्लाजिओको भ्याक्सिनबारेको नियमलाई नै निरन्तरता दिने बताएका छन् ।
एरिक आडम्सको पदभार ग्रहण समारोह सुरुमा जनवरीका १ का लागि तय भएको थियो । तर कोरोना संक्रमण बढेपछि उक्त समारोह स्थगित गरिएको थियो । पदभार ग्रहणको कुनै विशेष समारोहविना नै आफू न्युयोर्क सिटीको नेतृत्व गर्न तयार रहेको आडम्सले बताएका थिए ।
आडम्स न्युयोर्क सिटीमा दोश्रो अश्वेत मेयर हुन् । उनी। न्युयोर्क सिटीको ११० औं मेयर हुन् । उनी सन् २०१४ देखि न्युयोर्क सिटीको ब्रुकलिन बोरो प्रेसिडेण्ट रहदै आएका थिए । शनिबारदेखि ६१ बर्षका आडम्सले वर्तमान मेयर बिल ब्लाजिओको स्थान लिएका छन् ।
गरिबीबाट उठेर प्रहरी क्याप्टेनहुँदै बु्रकलिन बोरो पे्रसिडेण्ट भएका एरिक आडम्स समक्ष कोरोना महामारीबाट क्षतिग्रस्त न्युयोर्क सिटीलाई पुनजीर्वित पार्ने तथा सिटीभित्रको सामाजिकआर्थिक तथा विभेदपूर्ण असमानतालाई सम्बोधन गर्नुपर्ने दायीत्व रहेको छ ।
पछिल्लो चरणमा न्युयोर्क सिटीभित्र बढेका गोलीकाण्ड र अपराधका घटनाले गर्दा न्युयोर्क सिटीलाई सुरक्षित बनाउनुपर्ने दायीत्व अझै धेरै बढेको छ । कानून कार्यान्वयन पृष्ठभूमिका एरिक आडम्सले शान्ति सुरक्षा कायम गर्ने सन्दर्भको एजेण्डामा न्युयोर्कबासीको मन जित्न सफल भएका थिए ।
एरिक आडम्स न्युयोर्कमा रहेका नेपालीमाझ समेत लोकप्रिय रहेका छन् । उनलाई नेपाली समुदायका तर्फबाट इन्डोर्स समेत गरिएको थियो ।साथै नेपाली समुदायले समेत उनलाई चुनावी अभियानका क्रममा फण्डरेजमा सहयोग गरेका थिए ।
आडम्सले कोरोना महामारीमा न्युयोर्कको नेपाली समुदायलाई उल्लेख्य सहयोग समेत गरेका थिए । साथै कोरोना महामारीमा अग्रपंक्तिमा रहेर योगदान दिने नेपाली समुदायका विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरेका थिए । नेपाली समुदायले आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागी हुदै आएका आडम्स न्युयोर्कको नेपाली समुदायको पहिलो छनौट रहेका थिए ।






