कोरोना बढेपछि मुम्बइमा सार्वजनिक कार्यक्रममाथि प्रतिबन्ध
प्रकाशित मिति : पुस १५, २०७८ बिहीबार
मुम्बइमा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको बताइएको छ । भारतको नयाँ दिल्ली र मुम्बइमा पछिल्ला केही हप्तामा सङ्क्रमण बढेको हो । यसैबीच यहाँ कोरोना भाइरसको प्रकोप बढेपछि यहाँका सार्वजनिक स्थलहरुमा हुने विविध कार्यक्रमहरुमा प्रतिबन्ध लगाइएको बताइएको छ ।
भारतको आर्थिक राजधानी मानिने भारतीय ठूलो सहर मुम्बइमा नयाँ वर्षका कार्यक्रमहरुको आयोजना गरिएको र त्यसका कारण झन् संक्रमण बढ्ने आशंका गरेका कारण सरकारले सार्वजनिक स्थलमा जमघट हुने र नयाँ वर्षका कार्यक्रमहरु गर्ने काममा प्रतिबन्ध लगाएको हो ।
रातिमा कफ्र्यु नलगाइने तर पनि मानिसहरु जमघट हुने र समारोहहरु गर्ने काममा प्रतिबन्ध लगाइएको मुम्बई सरकारले जनाएको छ ।
यहाँ पनि पछिल्लो समयमा कोरोनाका सङ्क्रमितहरु बढेका पाइएको छ । गत हप्तामात्र यहाँ प्रत्येक दिन कम्तीमा पनि १५० जना मात्र सङ्क्रमित पाइएकामा हिजोआज भने कम्तीमा पनि दुई हजार जना सङ्क्रमित भेटिएका छन् ।
भारतमा थप १३ हजार १५४ जना कोरोना सङ्क्रमित
भारतमा कोरोना भाइरसबाट थप १३ हजार १५४ सङ्क्रमित केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ । गत २४ घण्टामा थपिएका सङ्क्रमितहरु मध्ये ९६१ जना ओमिक्रोन भेरियन्टका रहेका छन् ।
यसैसँगै भारतमा कूल कोरोना सङ्क्रमित संख्या तीन करोड ४८ लाख २२ हजार ४० पुगेका पनि सो मन्त्रालयले जानकारी दिएको छ । सोही अवधिमा थप २६८ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ८० हजार ८६० पुगेको मन्त्रालयले थप जानकारी दिएको छ ।
भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ८२ हजार ४०२ जना रहेका छन् । अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या कूल सङ्क्रमितको सङ्ख्याको ०।२४ प्रतिशत मात्रै रहेको मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा भारतमा सात हजार ४८६ जना कोरोनाबाट मुक्तभएका छन् ।
यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४२ लाख ५८ हजार ७७८ जनालाई कोरोना सङ्क्रमण निको भएका छन् । भारतमा कोरोना भाइरस निको हुने दर ९८. ३८ प्रतिशत रहेको जनाइएको छ । यो सङ्ख्या सन् २०२० को मार्चपछि सबभन्दा बढी भएको समाचारमा जनाइएको छ ।
भारतमा कोरोना सुरु भएदेखि हालसम्म ६७ करोड ६४ लाख भन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ जनवरी १६ सन् २०२१ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ४३ करोड १६ लाख भन्दा बढी डोज खोप लगाइएको जनाइएको छ ।






