छोरा खोज्दै ज्योतिषकोमा !


प्रकाशित मिति : जेष्ठ २३, २०७४ मंगलबार

लगातार छोरी जन्मेर छोराको खोजी गर्नेहरू नै परामर्श लिन बढी आउने गरेको कोइरालाको अनुभव छ । पाँच जनासम्म छोरी जन्मेपछि सन्तान नजन्माउने भनेर बसेकाहरू उमेरले ४५ कटेपछि पनि छोरा हुन्छ कि हेरिदिनुप-यो भनेर आउने गर्छन् ।
  विराट अनुपम
इटहरी । पूर्वका चर्चित ज्योतिष परामर्शदाता कृष्णप्रसाद कोइरालाले आधिकारिक रूपमा ज्योतिष परामर्श सेन्टर खोलेको पनि ६ वर्ष लाग्यो । त्यसो त उनले अनौपचारिक ज्योतिषीय परामर्श दिँदै आएको पनि दुई दशक नै भइसकेको छ । लामो समयमा ज्योतिषीय फलादेशमा आउने प्रतिक्रिया भने फेरिएको छ । एक दशक अगाडिसम्म ‘तपाईंको बहुविवाहको योग छ’ भन्दा पुरुषहरू धेरै खुसी हुन्थे । पछिल्ला वर्षहरूमा भने बहुविवाहको योग छ भन्ने फलादेश सुन्दा पुरुषहरू बढी नै दुःखी हुन्छन् । पहिलेपहिले ‘तपाईंका धेरै सन्तान हुने पो योग छ’ भन्दा धेरै अभिभावक मख्ख पर्थे । अहिले धेरै सन्तानको योग छ भन्दा असहज मान्छन् । पहिलेको तुलनामा ज्योतिष हेर्न आउनेहरूको इच्छा पनि फेरिएको छ ।

तर, दम्पतीहरूमा एउटा चाहना भने पटक्कै हटेको छैन । त्यो हो– छोराको खोजी । भर्खरै विवाह गरेको जोडीदेखि पहिलोपटक छोरी जन्मेपछि छोरा खोज्नेहरू ज्योतिष हेर्न पुग्छन् । ‘सन्तानको खोजीमा आउनेहरूमा ८० प्रतिशत छोरा नै चाहियो भन्न आउँछन् ।’ कोइराला भन्छन्, ‘समाज विकासको उपल्लो चरणमा पुगे पनि छोराको खोजीमा भौँतारिने दम्पतीको सङ्ख्या त पहिलाभन्दा झनै बढेको छ । पहिलापहिला छोराका लागि धेरै सन्तान जन्माउँथे । अहिले पहिलो सन्तान जन्माउन पनि छोरा हुन्छ कि हुँदैन भनेर हेर्न आउँछन् ।’ उनले छोराछोरी समान हुन्छन् है भनेर सम्झाउने कोसिस गरे पनि हात हेर्न आउनेहरूले सुन्नै नचाहने बताए ।

नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको पिण्डेश्वर विद्यापीठ धरानका सहप्राध्यापकसमेत रहेका कोइरालाको अनुभवसँग मिल्छ इटहरीका ज्योतिषी कमलप्रसाद दाहालको ज्योतिषीय अनुभव पनि । इटहरीस्थित सप्तकोसी एफएम र एरिना टेलिभिजनमा धार्मिक, वास्तु तथा ज्योतिषसम्बन्धी कार्यक्रम चलाउने दाहालका अनुसार अभिभावकमा छोरी हँुदा बोझ मान्ने र छोरा हुँदा शान मान्ने प्रचलन विद्यमान छ । दक्षिण एसियाली ज्योतिष महासङ्घका उपमहासचिव पनि रहेका दाहालको राष्ट्रिय ज्योतिष तथा परामर्श सेवा केन्द्र इटहरीमा छोराको खोजीमा आउनेहरूको लाइनै हुने गर्छ ।

अधिकांश छोराको चाहना गर्नेहरू विभिन्न अस्पताल, धामीझाँक्री तथा वैद्यको उपचारले छोरा नजन्मिएपछि अन्तिम विकल्पको रूपमा आफूकहाँ आइपुग्ने सहप्राध्यापक कृष्णप्रसाद कोइराला बताउँछन् । उनी भन्छन्, ‘अन्य विकल्प सकिएपछि अन्तिम विकल्पको रूपमा ज्योतिषकोमा आइपुग्छन् ।’

कोइरालाका अनुसार कतिपय अभिभावक त पटकपटक भ्रुणहत्या गरी पुनः ग्रहदशा हेरेर छोरा खोज्न आउँछन् । ‘विभिन्न अस्पताल तथा क्लिनिकमा लिङ्ग पहिचान गरी गर्भपतन गरेर आउनेहरू छोरा हुने योग छ कि छैन भनेर हेर्न आउँछन् । ज्योतिष कोइरालाचाहिँ छोराले भन्दा छोरीले बाआमा पाल्ने र काजकिरिया गर्ने प्रचलन बढेको छ भनेर सम्झाउने बताउँछन् । उनले थपे, ‘दुःखको कुरा छोरा चाहियो भनेर आउनेहरूलाई सम्झाउनै सकिँदैन ।’ उनले विचारमा अझै पनि मान्छेले छोरी छोराको विकल्प हुन सक्छे वा छोराजत्तिकै सक्षम छे भनेर बुझेकै छैनन् ।

लगातार छोरी जन्मेर छोराको खोजी गर्नेहरू बढी आउने गरेको कोइरालाको अनुभव छ । कतिपय भने पाँचजनासम्म छोरी जन्मेपछि सन्तान नजन्माउने भनेर बसेकाहरू पनि छोरा हुन्छ कि हेरिदिनुप¥यो भनेर आउने गर्छन् । त्यसरी आउनेहरूमा पढेलेखेकाहरू नै बढी छन् । ‘मैले कतिसम्म देखेको छु भने केही छोरी जन्मेपछि अब थप सन्तान नजन्माउने सोचमा रहेकाहरू पनि एकाएक बुढेसकालमा पनि छोरा हुन्छ कि हेरिदिनुप¥यो भनेर आउँछन्,’ कोइराला भन्छन्, ‘कतिपय सामाजिक र पारिवारिक कारणले गर्दा पनि अभिभावकहरू छोराको खोजीमा आएको पाउँछु ।’ हाम्रा पर्वहरूका कारणले पनि मान्छेहरू छोरा पाउन लालायित देखिन्छन् । तिहारमा बढेका छोरीहरूले भाइ खोज्ने र छरछिमेक तथा परिवारले पनि तर्पण–पिण्ड दिने छोरा त चाहिन्छ भन्ने गरेकाले पनि कतिपय बुढेसकालमा छोरा खोज्न आउने उनी बताउँछन् ।

दक्षिण एसियाली ज्योतिष महासङ्घका उपमहासचिव कमलप्रसाद दाहाल पनि कुनै घरमा छोरा नहुँदा आफन्त र परिवारलाई तनाव हुने बताउँछन् । ‘मसँग सन्तान प्राप्तिको योग हेर्न आउनेहरू अधिकांश छोरा हुन्छ कि हुँदैन भनेर सोध्छन्,’ दाहाल भन्छन्, ‘छोरी भए पनि सन्तान पुग्यो भनेर बस्नेहरू आफन्तले तनाव दिएपछि यहाँ आउँछन् ।’ उनले बौद्ध र किरात धर्म मान्नेहरूले पनि अंश र वंशको उत्तराधिकारी खोज्न छोरा नै चाहिन्छ भन्दै आइपुग्ने बताए ।

छोराको खोजीमा गर्भपतनदेखि ज्योतिषको परामर्श केन्द्रसम्म पुग्नेहरू छोरी हुन्छ कि हुँदैन भनेर अहिलेसम्म आएकै छैनन् । ज्योतिषहरू जन्मकुण्डली हेरेर सन्तान प्राप्तिको योग हेर्छन् । जन्मकुण्डलीमा सन्तान खण्डका बाह्र भावहरूको जोडघटाउ गरेर सन्तान प्राप्तिको फलादेश थाहा पाउन सकिने उनीहरूको भनाइ छ । मान्छेले जन्म लिँदा भएको ब्रह्माण्डका ग्रह तथा नक्षत्रको गति र तिनले पार्ने प्रभावका आधारमा बन्ने जन्मकुण्डलीका विभिन्न ग्रहका आचरणका आधारमा छोरा वा छोरी हुने ज्योतिषीय हिसाब निकाल्न सकिन्छ । जन्मेको समय जस्ताको तस्तै मिलाएर बनाएका चिनामा हेरेको फलादेशले छोरा वा छोरी के हुने भनेर सजिलै थाहा हुने बताउने उनी छोराकै प्राप्तिका लागि दौडधुप गर्ने कुरामा भने मन पराउँदैनन् । उनले ग्यारेन्टी गरेर छोरा वा छोरी हुन्छ भनेर अहिलेसम्म नभनेको बताए ।  (संचारिका फिचर सेवा)(विराट, इटहरीमा कार्यरत पत्रकार हुन् ।)

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com