Follow @khasokhasmag

जमरा सेलाउन नपाउँदै चिसियो किसानको मन : के खाएर बाँच्ने होला ?


प्रकाशित मिति : कार्तिक ४, २०७८ बिहीबार

दसैँको टीकालगत्तै लगातारको वर्षाका कारण यतिखेर धानबालीमा नराम्रोसँग क्षति पुगेको छ । दसैँको जमरा सेलाउन नपाउँदै खेतमा पहेँलपुर भएर पाकेको धान काटेर भित्र्याउन नपाउँदै त्यस यताको लागातरको वर्षाका कारण भिजेकाले किसान चिन्तित भएका छन् ।

वर्षभरका लागि दुःख गरेर लगाइएको धान भिजेपछि यतिखेर किसानको मन रोएको छ । नकाटेको धान पनि पाकिसकेका कारण बोटमै झर्न थालेको छ । कास्की जिल्लामा दसैँयता परेको पानीका कारण २०दशमलव ९३ प्रतिशत धानमा क्षति पुगेको पोखरास्थित कृषि ज्ञानकेन्द्रका प्रमुख शालिकराम अधिकारीले बताउनुभयोे ।

वर्षाका कारण रुपा गाउँपालिकाको ठूली बेँसी, माछापुच्छ्रे गाउँपालिकाको लाहाचोक, घाचोक, ल्वाङघलेललगायत स्थानको धानबालीमा क्षति पुगेको छ । त्यस्तै पोखरा महानगरपालिकाका बिरौटा, पामे, पटनेरी, गगनगौँडा, मालमूल, बेगनास, अर्मला, भरतपोखरीका खुर्वादी, आँगेटारी, अमटारी, कुलिङ, छहरा आदि स्थानमा वर्षाले क्षति पु-याएको छ । मादी गाउँपालिकाको मकैखोलालगायत स्थानमा पनि वर्षाले क्षति पु-याएको छ । धान काट्ने बेलामा पोखराकै फेदीपाटनलगायत स्थानमा बर्खामा जस्तै मूल फुटेपछि किसान कसरी पानी तर्काउने भन्ने चिन्तामा छन्।

वर्षाका कारण अन्नपूर्ण गाउँपालिकाका १, २, ३, ४ र ५ नं वडामा लगाइएको धान झारेको गाउँपालिका प्रमुख युवराज कुँवरले जानकारी दिनुभयो । पाकेको धान झर्नाका साथै बोटै लडेकाले किसानलाई मर्का परेको उहाँको भनाइ थियोे । जिल्लाका अधिकांश स्थानमा मनसुली धान पाकिसकेका कारण किसानले दसैँको टीका लगत्तै काटेका थिए । त्यस्तै लोकनाथ प्रजातिको र हाइब्रिड प्रजातिका उवारलगायत पाकिसकेका धान पनि काटेका किसान यतिखेर निहिन सुकाउन नपाउँदा चिन्तित छन् ।

यस पटकको पानीले चाँडो पाक्ने हाइब्रिड धानलाई बढी क्षति पु¥याएको पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले जानकारी दिनुभयो । पामेलगायत स्थानमा पानीले क्षति पु¥याएको उल्लेख गर्दै उहाँले दसैँ अघिका दिनमा राम्रै घाम लागेका कारण पनि किसान झुक्किन पुगेका हुन् भन्नुभयो ।

“चाँडो धान भित्र्याएर तरकारी खेती गर्ने सोचका कारण पनि दसँैं लगत्तै किसानले धान काटेका थिए”, महाशाखा प्रमुख कडरियाले भन्नुभयो, “रैथाने प्रजातिका धान ढिलो पाक्ने भएका कारण तिनमा भने यो पानीले खासै क्षति पु¥याएको छैन ।”नयाँ तथा हाइब्रिड प्रजातिका धानप्रति आकर्षणका कारण कास्की र आसपासका क्षेत्रमा रैथाने प्रजाति लोप हुँदै जानु पनि यतिखेर चिन्ताको विषय बनेको छ ।

उत्पादनका दृष्टिले पनि नयाँ उन्नत जातका धान रोप्न किसान आकर्षित हुन थालेकाले रैथाने जात विस्तारै लोप हुँदै गएको किसान शालिकराम पौडेलले बताउनुभयो । उहाँका अनुसार ताल किनारको सिमसार क्षेत्रमा पाइने जङ्गली धान नाभो लगभग लोप भइसकेको छ ।
धानको अति प्राचीन प्रजातिका रुपमा रहेको नाभोबाटै विस्तारै अन्य धानको विकास भएको मानिन्छ । पछिल्ला वर्षमा धेरै रैथाने जातका धान विस्तारै हराउन थालेको छ । रैथाने जातमा अधिकांशमा रोगसँग लड्ने क्षमता कम हुने गरेका कारण रोग प्रतिरोधी जातसँग क्रसिङ गरेर परम्परागत जात संरक्षण गर्ने गरिन्छ ।

कास्कीमा झण्डै डेढदशक अघिसम्म प्रचलनमा आएका समुद्र फिङ्जा, नाभो, आँगा, बले, कृष्णभोग, जिरासरी र फल्याङकोटे धान लोप नै भइसकेका छन् । करिब ३०० मिटरदेखि ६०० सय मिटरको उचाइमा फल्ने यी धान यहाँका प्राचीन रैथाने जात हुन् । जिल्लामा पछिल्ला वर्षमा गौरिया, बिरम्फुल, आँगा, रमनी, रुदुवा मार्सीजस्ता धान पाउन छाडेको छ ।

नयाँ जातका धानको आगमनसँगै परम्परागतरुपमा रोपिने पोखरेली मसिनो (पहेँले), मनसरा, ठिमाहा, ताकमारे, खोलेमार्सी, आँपझुत्ते, झिनुवा, अनदी, गुर्दी, मानामुरी, कन्जीरा, मन्सुली, तौली, खाल्टेखोले, गोला, कोदे, गुडुरा, जर्नेली, गौरिया, बर्मेली, एक्लेजस्ता धान विस्थापित हुने अवस्थामा पुगेको यहाँका किसानदे बताए । कम उचाइमा हुने गरेका काठे गुर्दी, तौली, फालो, पहेँले, लहरे गुर्दी, घैया, कालो झिनुवा, माला, बिरम्रफुल, भट्टे, अँधेरे, काँडे, कालो बयर्नी, कालो अनदीलगायत धान पनि पछिल्लो समय विस्थापित भइसकेका छन् ।

पछिल्लो समयमा जिल्लामा सुधारिएको जेठोबूढो, खुमल, राधा सात, राधा नौ, सावित्री, मनसुली, पहेँंलेजस्ता धान धेरै मात्रामा रोप्ने गरिएको कृषक पौडेलले बताउनुभयो । बास्नायुक्त र औषधीय गुण भएका धान छोड्दै उत्पादन बढी लिने सोचका साथ किसान हाइब्रिड जातका धानमा लोभिने गरेका कारण पनि हाइब्रिडले रैथाने जातलाई विस्थापन गर्दै गएको हो ।

आँगा, अनदी जस्ता धेरै औषधीय गुण बोकेका धान विस्थापित हुँदै गएका छन् भने बढ्दो रासायनिक मलको प्रयोगबाट जेठोबूढो, पहेँंले, बिरम्फूलजस्ता बास्नादार धानमा पनि बास्ना आउन छाडेको छ । कास्कीमा पर्याप्त धान उत्पादन हुने पोखराका बिरुवा फाँट, कुँडहर, लेखनाथको शिशुवा, पटनेरीलगायत स्थानमा बढ्दो प्लटिङका कारण धान खेतीमा कमी आउन थालेको छ । बढ्दो सहरीकरण, प्लटिङ आदिका कारण धानखेत घडेरीमा परिणत हुनु पनि यतिखेर समस्याका रुपमा देखिएको छ ।

पोखरेली शिक्षासेवी एवं साहित्यकार तारा पाखे कृषि प्रधान देश नेपालमा बढिरहेको कृषिप्रतिको अनिच्छा र बढ्दो खेत प्लटिङको यथार्ततालाई व्यङ्ग गर्दै गीती शैलीमा भन्नुहुन्छ,“बँेसीका फाँट प्लटिङ भन्दै धेरै नै मासिए । लेक र पहाड फाँटका खेत झाडीमा बदलिए ।”

के खाएर बाँच्ने होला ?
यसैगरी भजनी–८ का लालवीरे कामीले दसँैको पछिल्लो दिन आठ कामदार लगाएर दुई बिघामा लगाएको धान कटाउनुभयो । प्रतिव्यक्ति रु ५०० का दरले उहाँले ज्याला व्यापत रु चार हजार तिर्नुप¥यो । उहाँले धान कटाए पनि भित्र्याउन भने पाउनुभएन ।

“गत वर्षको भन्दा धान राम्रो थियो । यस वर्ष उत्पादन राम्रो हुन्छ भन्ने अपेक्षा थियो”, उहाँले भन्नुभयो, “खेतमा लगाएको एक दाना धान पनि भित्र्याउन पाइएन । सबै बाढीले बगायो । अब के खुवाएर परिवार पाल्ने रु आफूले के खाने रु” टीकापुर नगरपालिका–३ शङ्करपुरका लक्ष्मण बस्यालले आकाशको पानी पर्दा थोरै भए पनि आशा जीवित रहेको जनाउँदै जमरा कुलोको बाढी खेतमा पसेपछि धानको एक मुठ्ठा पनि खेतमा नबचेको बताउनुभएको छ ।

उहाँले जमरा कुलोमा लगाइएको बाँधका कारण पनि शङ्करपुर क्षेत्र बढी डुबानमा परेको जनाउँदै सम्झँदा आँखा रसाउने गरेको गुनासो गर्नुहुन्छ । “वर्षभरि खाने धान पूरै बगाएर लगिसक्यो अब हामीले के खाने रु किनेर खानसक्ने क्षमता छैन । हामी दिनभरि मजदुरी गरेर खाने मान्छे त्यसमाथिको अहिलेको महङ्गाइमा”, उहाँले भन्नुभयो, “खेत रोप्दा लागेको ऋृण पनि तिर्न सकेको छैन । कसरी ऋृण तिर्ने कसरी परिवार पाल्ने रु अहिलेको समयले निकै चुनौती दिएर गएको छ ।”

टीकापुरकै आशिष जनालाले पनि दसँैको पछिल्लो दिन तीन बिघा क्षेत्रफलको धान कामदार लगाएरै काट्नुभयो । परिवारसँग दसँैको बेला रमाइलो गरेको उहाँका लागि अर्को दिनसम्म टिकेन । कोरोनाका कारण भारतमा मजदुरी गरेर परिवार पाल्ने उहाँ आफ्नै गाउँमा केही गर्नुपर्छ भनेर गाउँ फर्किएको बताउनुहुन्छ । उहाँले आफ्नो र आफ्ना अन्य परिवारको सबै जग्गामा खेती सुरु गरेको पहिलो वर्षमै समयले निकै ठूलो चुनौती दिएर गएको छ । “कोरोनाले परदेशबाट लखेट्यो । स्वदेशमा बदलिँदो मौसमले लखेट्दै छ”, उहाँले भन्नुभयो, “अब कता जाने रु कतै ठाउँ नै छैन । लागेको ऋण र परिवारलाई कसरी पाल्ने रु निकै अप्ठ्यारो मोडमा पुगिएको छ ।”

कर्णाली नदीले कटान गरेर बाढी गाउँमा पस्दा नगरपालिकाको सूर्यपुर, वसन्ता, बटनपुर, फाँटा, सत्ती, कर्मीडाँडा, सिमरेनी, अरुणाफाँटालगायतका गाउँमा बढी असर पारेको छ । सो क्षेत्रमा बढी मात्रामा खेती हुने गर्छ । केही वर्ष पहिले बाढीले निकै प्रभावित हुने सो क्षेत्रमा सात वर्षयता बाढी देख्नुपरेको थिएन । आकाशको पानी पर्दासम्म पराल नभए पनि धान बचाउन सकिन्छ कि भन्ने आशा किसानमा थियो । तर त्यो आशा पूर्णरूपमा निराशामा परिणत भयो । कर्णालीको उर्लँदो भेल खेतमा पसेपछि आफूहरु मुकदर्शक बन्नुबाहेक केही नभएको किसान सीताराम चौधरी बताउनुहुन्छ ।

“हामीले चाहेर रोक्न पनि नसकिने । पानीमा तैरिरहेको धानलाई सङ्कलन गर्न पनि नसकिने”, उहाँले भन्नुभयो, “एकाएक बाढी खेतमा पसेपछि पानीमा तैरेको धान कर्णालीमै मिसियो । अब चिन्ता बढ्न थालेको छ । के खाने रु परिवारलाई के खुवाउने र पशु चौपायालाई के खुवाएर पाल्ने ?”

जग्गा भाडामा लिएर कुखुरा फार्म सञ्चालन गर्दै आउनुभएका लक्ष्मीप्रसाद अधिकारीको फार्ममा रहेका करिब ५०० कुखुरा बाढीले बगायो । आफ्नै देशमा केही गर्नुपर्छ भनेर लाग्नुभएका उहाँको सपना बाढीले पूरा हुन दिएन । “सँगैका साथीहरु विदेश जानुपर्छ भनेर सधैँ कर गर्थे । मैले आफ्नै देशमा केही गर्नुपर्छ भनेर सम्झाए पनि सबै साथीहरु विदेशमा राम्रो कमाउँदैछन् । आफूले ऋण जोहो गरेर जग्गा भाडामा लिएर फार्म सञ्चालन गरेँ त्यो पनि बाढीले बगायो”, उहाँले भन्नुभयो, “अब आफ्नो लगानी त टाढाको कुरा भयो जग्गा भाडा पनि कताबाट तिर्ने भन्ने चिन्ता छ ।”

टीकापुर र जानकी मात्रै हजारौँ बिघा क्षेत्रफलमा लगाइएको धानबाली पूर्णरूपमा नष्ट भएको छ । बाढी कटानले हुलाकी राजमार्गअन्तर्गत सत्ती नजिक झण्डै २०० मिटर बढी हुलाकी सडक कटान गरेको छ भने मोहना नदीमा निर्माण गरिएको तटबन्धसमेत भत्काएको छ । कर्णालीले पनि ठाउँठाउँमा तटबन्ध भत्काएर बाढी बस्तीमा पसेको हो ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com