Follow @khasokhasmag

घरमा राख्नुहुँदैन सुत्केरीलाई !


प्रकाशित मिति : जेष्ठ २१, २०७४ आईतबार

यहाँ सुत्केरीका लागि परालको छानो र खरले बारेर खलेकटेरो बनाइन्छ । कहिलेकाहीँ त राति नै हुरी–बतासले छानो उडाएर लैजान्छ । सुत्केरीले रातभर रुझेर बस्नुपर्छ ।  

जनक केसी
जाजरकोट । जुनीचाँदे– ४ लुहादहकी भविसरा खड्कालाई सुत्केरी हुनुभन्दा १० दिनअघिदेखि कटेरोमा राखिएको थियो । दुई हप्तापछि उनले त्यही कटेरोमा बच्चा जन्माइन् । सुत्केरी भएको १० दिनसम्म उनलाई कटेरोमै राखियो । सुत्केरीलाई घरभित्र बस्न दिए देउता लाग्ने डरले उनलाई परिवारले नै खलेकटेरो अर्थात् सुत्केरीलाई राख्ने कटेरोमा पु¥याएका थिए ।

सुत्केरी अवस्थामा उनले न घरपरिवारको उचित स्याहारका साथै पोषिलो खानेकुरा पाइन् न साँझबिहानको चिसोबाट बच्न तातो कपडा नै । घरबाट निकै पर रहेको खलेकटेरोमा बस्दा चिसो लाग्ने, समयमा खान नपाउने र कोही पनि भेट्न नआउने सास्ती भए पनि देउता लाग्ने डरले सुत्केरी महिलालाई खलेकटेरोमा बस्नैपर्ने बाध्यता छ ।

लुहादहकै दुर्गा खड्का कटेरोको बसाइ सकेर भर्खरै मूल घरमा सरेकी छिन् । सुत्केरी अवस्थामा खलेकटेरोको बास निकै सास्तीपूर्ण भएको उनी बताउँछिन् । ‘गाउँको नियम छ, देउता लाग्ने डर छ जस्तो भए पनि कटेरोमा नबसेर कहाँ हुन्छ र ! गाउँमा कोही बिरामी प¥यो, वस्तुभाउ म¥यो भने त हामीलाई मारिहाल्छन् नि,’ देउतासँगको डर पोखिन् उनले ।

जिल्लाको अति विकट गाउँ लुहादहमा रहेको यो खलेकटेरोको प्रथा हटाउनका लागि स्थानीय युवाले विभिन्न समयमा गरेको प्रयास बूढापाकाहरूको जिद्दीका कारण हट्न सकेको छैन ।
गाउँमा पुर्खादेखि चलिआएको परम्परा र देउताको लाग्ने डरका कारण बूढापाकाले यो चलन छोड्न नमानेको स्थानीय रेसम खड्काले बताए । उनले आफूलगायत केही युवाहरूले विभिन्न समयमा खलेकटेरोको प्रथा हटाउन गरेको पहल असफल भएको बताए । गाउँमा प्रत्येक घरमा सुत्केरी भएर बस्नका लागि खलेकटेरो बनाउने चलन छ । महिनावारी हुँदा पनि महिला त्यही कटेरोमा बस्छन् । घरबाट धेरै टाढा बनाइने खलेकटेरोको महिलाका लागि असुरक्षित हुने गरेको छ ।

परालको छानो र खरले बारेर कटेरो बनाइन्छ । कहिलेकाहीँ त राति नै हुरी–बतासले छानो उडाएर लैजान्छ । महिलालाई सुत्केरी अवस्था र महिनावारीका बेला विशेष स्याहार चाहिने भए पनि गाउँमा चलेको कुप्रथाको कारण यस्तो कटेरोमा बस्न बाध्य पारिन्छ । सुत्केरी भएको १० दिन र रजस्वला भएको ५ दिनसम्म घरमा बसे देउताले अनर्थ गरिदिने अन्धविश्वास लुहादहवासीमा अझै छ । स्थानीय ६३ वर्षीय कैलो खड्का घरमै सुत्केरी गराए देउताले नसहने भएकाले खलेकटेरोमा सुत्केरीहरूलाई राख्न आफूहरू बाध्य भएको जिकिर गर्छन् । ‘खलेकटेरोमा सुत्केरी र बच्चा बिरामी परे उपचार गरिन्छ, तर परम्परादेखिको चलन छोड्न सकिँदैन,’ खड्काले भने -यो चलन पहिलेदेखिकै भएकोले कुनै पनि हालतमा छोड्न नसकिने उनले बताए । ‘हाम्रा बा र हामी र सबै भाइबहिनी त्यही खलेकटेरोमा जन्मियौँ, अब किन यो चलन छोड्ने त ?’ कैले खड्का उल्टै प्रश्न गर्छन् ।

गत कात्तिकमा सुत्केरी हुँदा खलेकटेरोमै बसेकी स्थानीय ज्योति रावत १० दिनको कटेरोको बसाइ सकेर मूल घरमा आउँदा उनी रुघा र ज्वरोले थला परिन् । उनको नवजात शिशुलाई निमोनियाले सतायो ।
कटेरोमा बसेर निस्किँदाको अवस्था सुनाउँदै उनले थपिन्, ‘खलेकटेरोबाट बाहिर आउँदा अनुहार पूरै सुन्निएको थियो । कटेरामा बस्दा आफन्त पनि छुन नहुने भनेर आउँदैनथे । बच्चा बिरामी हुँदा पनि कसैले वास्तै गरेन । ढोका पनि थिएन । डरले रातभरि निदाउनै सक्दिनँथेँ ।’

जुनीचाँदे गाउँपालिकाको वडा नं. ४ को उपलुहा र वडीवाटी गाउँमा चरम रूपमा कायम रहेको यो प्रथाको अन्त्यका लागि विभिन्न निकायले गम्भीरतापूर्वक सोच्नुपर्ने स्थानीय महिला अधिकारकर्मी मैना रावल बताउँछिन् । ‘२१औँ शताब्दीको यो जमानामा पनि देउताको नाउँमा सुत्केरी महिलालाई अमानवीय ढङ्गले खलेकटेरोमा राख्नु दुःखको कुरा हो । धेरै पहल गर्दा पनि बूढापाकाका ढिपीले गर्दा यो चलन तोड्न सकिएको छैन,’ उनले भनिन् ।

खलेकटेरोको प्रथा लुहादहमा दुई सयभन्दा बढी परिवार बस्छन् । पछिल्लो समयमा त यो परम्परा हट्नुको सट्टा झन्झन् बलियो हुँदै गएको आदर्श मावि लुहादहका प्रधानाध्यापक गणेशबहादुर खड्काले बताए । उनले सरकारी निकाय र सरोकारवाला संस्थाहरूले गम्भीरतापूर्वक सोचेर राम्रो जनचेतनामूलक कार्यक्रम गरे प्रथा हट्न सक्ने बताए ।  (संचारिका फिचर सेवा) (जनक, जाजरकोटमा कार्यरत पत्रकार हुन् ।)
 

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com