Follow @khasokhasmag

४६ वर्षकै इतिहासमा छोटो समयमा धेरै सापु रोगबाट बिरामी, बच्न र संक्रमण भएमा अपनाउनुपर्ने उपाय


प्रकाशित मिति : आश्विन १४, २०७८ बिहीबार

विगत तीन हप्तामा सापु रोगबाट एकसय बिरामी परेका छन् । सेतो पुतलीको सङ्क्रमबाट आँखामा लाग्ने रोगलाई सापु भन्ने गरिन्छ । ४६ वर्षयता यति छोटो अवधि पहिलो पटक यति धेरै बिरामी देखिएको जनाइएको छ ।

त्रिवि शिक्षण अस्पतालका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा रञ्जु खरेलले अझै तीन महिना सापु रोगको जोखिम बढ्नसक्ने भएकोले सचेतना अपनाउन आग्रह गर्नुभयो । भदौदेखि मङ्सिरसम्म सो रोग देखिने गर्दछ ।

उहाँका अनुसार सापुबाट आँखाको भित्री भागलाई असर गर्नुको साथै आँखाको सबै पत्र दु्रतगतिमा सुनिन्छ र भित्रि भागमा पिप जम्दै जान्छ ।

नेपालमा सापु रोग विसं २०३२ मा पहिला पटक पोखराको एउटा विद्यालयमा देखिएको हो । रोग सबैभन्दा बढी बालबालिकामा देखिने गर्दछ । ३८ दिनको शिशुदेखि ८० वर्षका ज्येष्ठ नागरिकलाई पनि असर गर्ने गर्दछ । सहप्राध्यापक डा खरेल अनुसार प्रदेश १ , वाग्मती र लुम्बिनी प्रदेशका मध्यपहाडी जिल्लामा सापुका बिरामी बढी देखिएका छन् ।

उहाँले सबै सेतो पुतली हानिकारक नभएको र कालो धर्सा तथा पुच्छरमा पहेँलो भएका सेतो पुतलीको काउसो वा झुस हुस हानिकारक हुने गरेको बताउनुभयो । अहिले पोखरामा प्रशस्त्र मात्रामा भित्ता, बत्तीमा सेता पुतली रहेका छन् । कतिपय अवस्थामा सेतो पुतलीको संसर्गमा नआएका मानिसमा पनि यो रोग देखा पर्न सक्ने जनाइएको छ ।

“पुतली बसेर उठिसकेको हुन्छ र त्यसले आफू बसेको ठाउँमा झुस, अण्डा र काउसो छाडेर गएको हुन्छ । हो त्यहीँबाट सापु रोग देखिने गर्दछ ।” उहाँले भन्नुभयो ।

रोगका लक्षण र प्रकार

एक्कासी एउटा आँखा रातो हुने, चिप्रा नलाग्ने, उज्यालोमा हेर्न नसक्ने, आँखाको दृष्टिमा कमी आउने, आँखा दुख्ने, समयमा उपचार नपाए कालोमा सेतो देखिने यस रोगका लक्षण हुन् । शापुले दृष्टिविहीन बनाउन सक्ने एक अध्ययनले देखाएको छ ।

एउटा आँखा रातो भएका अवस्थामा तुरुन्तै नजिकैको आँखा उपचार केन्द्रमा परीक्षण गराउनु पर्ने उहाँको भनाइ छ ।

यस्तै सापुबाट आँखा सुकेर र कुरुप समेत हुने जनाइएको छ । सापु सम्भावित ठाउँमा चिप्रा नलाग्ने गरी एउटा मात्रा आँखा रातो भएका अवस्थामा सापु रोग लागेको शङ्का गर्नुपर्दछ । अहिले गण्डकी प्रदेशको हिमालय आँखा अस्पताल र लुम्बिनी प्रदेशको लुम्बिनी आँखा केन्द्रमा सापुका बिरामीले श्यया भरिएका बताइएको छ ।

नेत्र रोग विशेषज्ञ डा खरेलका अनुसार सापु रोगका तीन अवस्था हुन्छन । पहिलो अवस्थामा आँखा रातो हुनु यसलाई सामान्य सापु भन्ने गरिन्छ र यस्तो अवस्थामा आँखालाई पहिल्यैकै अवस्थामा फर्काउन सकिन्छ । सामान्य अवस्थामा उपचार गर्न सकेनौं भने आँखामा पिप जम्न थाल्दछ । यसलाई मध्यम अवस्थाको सापु भनिन्छ । यस अवस्थाबाट पनि उपचार गरेनौं भने अति जटिल अवस्थामा सापुको बिरामी पुग्ने गर्दछन् ।

उपचार विधि यस्तो छ

पहिलो अवस्थामा आँखाका थोपा दिएर उपचार सम्भव हुन्छ । मध्यम अवस्थामा आँखाभित्र सुई लगाउनुपर्ने अवस्था आउन सक्दछ । मध्यम अवस्थामा आँखाको दृष्टि फर्कने आश लागेको उहाँले जानकारीदिनुभयो । उहाँका अनुसार अति जटिल अवस्थामा आँखाको सबै पत्रमा पिप हुन्छ र जटिल शल्यक्रिया गरेर उपचार गर्नुपर्ने हुन्छ । उपचार पनि खर्चिलो र दृष्टि कति फर्कन्छ भन्नेमा निश्चित भने हुदैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले सापु रोग बढी बालबालिकालाई लाग्ने गरेको बताउनुभयो ।

रणअम्बिका शाह आँखा अस्पताल भैरहवाका प्रमुख प्रकाश रायमाझीले शापु रोगको उपचार अस्पतालमा मात्र सम्भव भएकाले यसका लक्षण आउना साथ बिरामीलाई जतिसक्दो छिटो आँखा अस्पताल पुग्नुपर्ने बताउनुहुन्छ । उहाँले मानिसमा अन्य कुनै भाइरसका कारणले आँखामा शापु रोगको जस्ता लक्षण देखिए पनि अस्पताल छिटो अस्पताल पुग्दा दृष्टि गुम्नबाट बचाउन सकिने बताउनुभयो ।

शापुबाट जोगिने उपाय

यो रोगबाट जोगिनका लागि मानिस सेतो पुतलीको संसर्गबाट टाढै बस्नुपर्ने विशेषज्ञ बताउँछन् । उनीहरुले रातिको समयमा बत्तीमा आउने सेतो पुतलीले मानिसको आँखामा संसर्ग हुनपुगे मात्र यो रोग लाग्ने भएकाले पुतलीबाट टाढा रहनु नै उत्तम रहेको बताएका छन् । नेत्ररोग विशेषज्ञ प्रा डा मदनप्रसाद उपाध्यायले रातिमा घरको झ्यालढोका बन्द गर्ने, आफूखुसी औषधि या अन्य कुनै पनि उपचार नगर्ने, रातिमा बत्ती निभाएर सुत्ने, रोगको लक्षण देखिए तुरुन्तै आँखा उपचार केन्द्रमा पुग्नुपर्ने बताउनुहुन्छ ।

सेतो पुतलीको संसर्गबाट टाढा रहन, बालबालिकालाई झाडीको वरपर खेल्न नदिन, पुतली समाप्ने निधारमा दल्ने कामबाट परै राख्न, राती सुत्दा बत्ती निभाएर सुत्न तथा बाल्नै परे मधुरो बाल्न, सकेसम्म झ्याल ढोका बन्द गर्न र झुल लगाएर सुत्न सुझाव दिइएको छ ।

“मानिसको आँखा संवेदशील भएकाले घरेलु उपचारभन्दा रोग देखिए आँखा उपचार केन्द्रमा पुग्नुपर्दछ”, नेत्ररोग विशेषज्ञ प्रा डा उपाध्यायले भन्नुभयो, “यो रोगलाई आँखा पाक्ने रोगसँग दाँजेर घरमै बस्नु हुँदैन ।’

   दर्ता नम्बर: २८२९

नमस्ते मिडिया

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com