न्युयोर्क सिटीको खोप अभियानमा नेपलिज अमेरिकन फाउण्डेशन उदाहरणीय, झण्डै १५ हजार डलर पुरस्कार


प्रकाशित मिति : आश्विन ३, २०७८ आईतबार

न्युयोर्क सिटीमा कोरोनाबिरुद्धको खोप अभियानमा नेपलिज अमेरिकन फाउण्डेशनले उदाहरणीय कार्य गरेको न्युयोर्क सिटी टेस्ट एण्ड ट्रेस कर्पले जनाएको छ । न्युयोर्क सिटी हेल्थ एण्ड हस्पिटल एवं टेस्ट एण्ड ट्रेस कर्प अन्तरगत कार्यक्रम संयोजक फेलिसिटी बेल दुरानले न्युयोर्क सिटी भ्याक्सिन अभियानमा नेपलिज अमेरिकन फाउण्डेशन उदाहरणीय रहेको खसोखासलाई जानकारी दिइन् ।

सिटी संचालित भ्याक्सिन केन्द्रहरुमा समुदायका व्यक्तिलाई भ्याक्सिन लगाउन पठाउने कार्यमा नेपलिज अमेरिकन फाउण्डेशनले उल्लेखनीय भूमिका खेलेको हो । भ्याक्सिन कार्यक्रममा गरेको योगदानका कारण फाउण्डेशनले झण्डै १५ हजार डलर पुरस्कार प्राप्त गर्ने भएको छ ।

न्युयोर्क सिटीभित्रको भ्याक्सिन अभियानमा स्थानीय सरकारले विभिन्न सामाजिक संघसंस्थाहरुसँग सहकार्य गरिरहेको छ । समुदायका व्यक्तिलाई कोरोनाबिरुद्धको भ्याक्सिन प्रदान गर्नका लागि यस्तो सहकार्य गरिएको हो । सामुदायिक संस्थाहरुसँगको सहकार्यमा २० हजारभन्दा धेरैलाई भ्याक्सिन लगाइएको छ ।

आफूहरुले समुदायका सदस्यहरुलाई भ्याक्सिन लगाउन प्रोत्साहन गर्नेदेखि अप्वाइन्टमेन्ट लगायतका काममा सहयोग उपलब्ध गराएको फाउण्डेशनका संस्थापक अध्यक्ष अमित शाहले जानकारी दिए । भ्याक्सिन अभियानमा एकहजारभन्दा धेरैलाई विभिन्न खाले सहयोग उपलब्ध गराएको उनले बताए ।

नेपलिज अमेरिकन फाउण्डेशन सन् २०१३ मा स्थागित गैर नाफामुलक संस्था हो । यो संस्थाले न्युयोर्कमा कैयन पटक नेपाली मेलाको समेत आयोजना गरेको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com