रोविनहुड एप्लीकेशन प्रयोग गर्ने कलेजका विद्यार्थीहरुलाई १ लाख डलर दिइने


प्रकाशित मिति : भाद्र ३१, २०७८ बिहीबार

आर्थिक सेवा प्रदान गर्ने अमेरिकन कम्पनी रोविनहुडको एप्लीकेशन प्रयोग गर्ने ५ जना कलेजका विद्यार्थीहरुलाई २० हजार डलरका दरले कुल एकलाख डलर दिइने भएको छ । कमिशन नलिने लगानी एप्लीकेशन रोविनहुडले डट ईडीयु भएको इमेल प्रयोग गरेर साइनअप गर्ने विद्यार्थीहरुबाट छानेर ५ जनालाई २० हजार डलरका दरले रकम दिने भएको छ ।

डट ईडीयु भएको इमेल प्रयोग गरेर साइनअप गर्ने सबै विद्यार्थीहरुलाई सुरुमा लगानीको सुरुवात गर्नका लागि १५ डलर उपलब्ध गराइने भएको छ । अश्वेत र सामुदायिक कलेजहरुमा रोविनहुडका कर्मचारीहरु लगानी र अरु आर्थिक साक्षरताका विषयमा सिकाउन समेत जाने भएका छन् ।

कलेज जाने विद्यार्थीहरुले अध्ययनका अलावा आर्थिक बजारका बारेमा जानुन् भन्ने उद्देश्यले तथा लगानीका दिशामा पहिलो कदम चाल्नका लागि आफूहरुले यो योजना ल्याएको रोविनहुडले जनाएको छ । परम्परागत लगानी सेवाहरुका तुलनामा रोविनहुडका प्रयोगकर्ताहरु कम उमेरका र विविधतायुक्त रहेका छन् ।

न्युयोर्क टाइम्सका अनुशार रोविन हुडका प्रयोगकर्ताहरुको औषत उमेर ३१ बर्ष रहेको छ भने आधा प्रयोगकर्ताहरुले आफूलाई पहिलोपटकको लगानीकर्ताका रुपमा परिचित गराएका छन् । झण्डै ४० लाख रोविनहुड प्रयोगकर्ताले आफूहरु विद्यार्थी भएको बताएका छन् । उनीहरुले २५ डलरबाट लगानी सुरु गरेका छन् ।

कतिपय विज्ञहरुले भने रोविनहुडले जोखिमपूर्ण लगानीका लागि प्रोत्साहित गरेको आरोप समेत लगाएका छन् । गतबर्ष नेब्रास्काका एकजना २० बर्षका विद्यार्थीले रोविनहुडमा ७ लाख ३० हजार गुमाएको ठानेर आफ्नो ज्यान लिएका थिए । तर वास्तवमा उनले त्यो रकम गुमाएका थिएनन्, रोविनहुडको प्राविधिक कमजोरीले त्यस्तो देखिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com