न्यायाधिसलाई बालिकाको पत्रः बचाउनुहोस वा त्रासदीपूर्ण जीवनबाट मुक्त हुने औषधी दिनुहोस्


प्रकाशित मिति : भाद्र २९, २०७८ मंगलबार

(यो पत्र सत्य घटनामा आधारित रहेर बनाइएको काल्पनिक पत्र हो । पत्रमा उल्लेख भएका सबै विवरणहरु वास्तविक घटनासँग मेल खान्छन् । बाल दिवसको सन्दर्भमा पाठकका लागि प्रस्तुत गरेका छौं ।)

आदरणीय न्यायदाता
जिल्ला अदालत

श्रीमान, म र मेरो दिदीलाई हाम्रो पिताजीको जिम्मा लगाएर हाम्री आमाले डिभोर्स गर्नुभो, आजभन्दा ४ बर्ष पहिला । त्यतिबेला म मात्र ९ वर्षकी र दिदी १४ बर्षका थियौ ।

पिताजीले सधैंजसो रक्सी खाएर आउने र आमालाई गालीगलौज, कुटिपट गरेकोले आमाले हामी बसिरहेको २ पैसा १ दाममा बनेको घरमा हामीलाई पिताजीसँग छोडि आफुले अंशबापत कुनै सम्पत्ति नलिएर डिभोर्स गर्नुभएको थियो । आफूले सम्पत्ति लिएमा हामी छोरीहरु बेघर हुने डरले केही पनि नलिई छोड्नु भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आमा बाबाको डिभोर्स पछि केही समय ठीकठाक चल्दै थियो । एकाएक समय बदलियो । बाबाले स्कूल भर्ना गरिदिनु भएन । घरमा चाहिने दाल चामल पनि ल्याउनुभएन । हामी पिताजीको कारण ईन्तु न चिन्तुमा पर्ने अवस्था आयो ।

भोक लाग्दा खानेकुरा छैन, स्कूलमा शुल्क नतिरेपछि स्कूलले निकालिदियो । हामी हाम्रो आमालाई फोन गरेर दुखेसो पोख्यौं । आमाले भेट्न बोलाउनुभो । हामीले आमालाई भेट्यौं ।

आमालाई भेटेर आएको कुरा थाह पाएपछि बाबाले हामीलाई खान दिनुभएन । भोक लागेर सधैं उधारो ल्याउने पसले अंकलकोमा बिस्कुट चाउचाउ किन्न गएको पसलमा हामीलाई खानेकुरा तथा कुनै पनि सामान नदिनु भनिएको रहेछ ।

हामी भोकै रहयौं ।

भोक लाग्यो, हामीलाई खानेकुरा दिनुहोस् भनी पिताजी लाई भन्दा सम्बन्ध विच्छेद गरिसकेकी आमा भेट्न जाने फोन गर्ने भएपछि म तिमीहरूलाई केहीगर्न सक्दिन जहाँ सुकै जानू, म कहाँ नआउनु भन्दै हामीलाई घरबाट निकाला गरिदिनुभो ।

मैले बुझेको, सम्बन्ध विच्छेद हाम्री आमाले बाबासँग पो गर्नुभएको हो, हामीसँग त होईन नि ।

बाबाले जहाँसुकै जाओ भनेपछि हामी बाध्य भएर आमाको डेरामा गयौं । आमाले अन्य नातेदार समेतलाई राखेर पिताजीसँग छोरीहरूको हेरचाह राम्रोसँग गर्नका लागि अनुरोध गर्नुभयो । जम्मा हुनुभएकाहरुले पनि गर्नुभयो । सबैले अनुरोध गर्दा मैले केही गर्दिन जहाँसुकै जाओ भनेपछि हामी कानुनी उपचारमा जाने निर्णय गर्यौ ।

दिदीलाई र मलाई त अब कसरी जीवन अगाडि बढाउने, कसरी पढ्ने, के खाने भन्ने कुराले पिरोले पछि अन्ततः पिताजीलाई अंश मुद्दा र मानाचामल मुद्दा दायर गर्ने सोच्यौं ।

मैले खान पाईन, स्कुल भर्ना हुन पाईन भनेर न्याय खोज्दा पनि अदालतमा शुल्क तिर्नु पर्ने रहेछ । एकछाक खान नपाएका हामीले अदालतमा लाग्ने दस्तुर तिर्न सक्ने कुरै भएन । त्यो पनि १२ वर्ष र १७ वर्षका नाबालक ।

आमाले एक जना वकिलसँग सल्लाह गर्नुभयो । हामीले वडा कार्यलयबाट विपन्ताको सिफारिस ल्याएपछि मुद्दा दर्ता गर्न मिल्ने सल्लाह दिएपछि त्यतै तिर लाग्यौं । हाम्रो पढाइ पनि अब वडा कार्यलयमा धाउँदा खराब भयो । वडा कार्यलयमा पिताजीको अनुरोध र प्रभावले गर्दा हामीले विपन्नताको सिफारिस पटक–पटकधाउँदा समेत दिन नमिल्ने भनेर फर्काईयो ।

फेरि वकिल कहाँ गएर सल्लाह माग्दा खोइ के–के हो निवेदन लेखेर अदालतकै आदेशले हाललाई कोर्ट फि तिर्न नाबालक रहेकोले तत्काल असक्षम रहेको र सम्पत्ति पाप्त भएपछि असुल गर्नु र मुद्दा दर्ता गर्नु भन्ने आदेश भयो । मुद्दा पनि दर्ता भयो २०७६ जेठमा ।

मुद्दा दर्ता गरि म्याद तामेल गर्दा पनि कर्मचारीलाई हामीले पैसा दिन नसकेको कारण तामेल गर्न पनि निकै कठिन भयो, फेरि वकिल वाटै फोन गएपछि तामेलदारले म्याद तामेल गरिदिनु भयो ।

मुद्दाको प्रतिउत्तर २०७७ असारमा पर्दा पिताजीले विवाह गरेको कुरा लेख्नु भयो । मुद्धा चल्दै रहयो । मानाचामल मुद्दामा हामीलाई आवश्यक खाने पढ्ने लगायतको अति आवश्यक कुरा पिताजीबाट भराई दिन अन्तरकालिन आदेशका लागि निवेदन दिएर बहस भयो ।

तर पिताजीले श्रीमानसँग आम्दानी नभएको र मानाचामल बापत केही पनि दिन नसक्ने कुरा भनेर जिम्मेवारीबाट उम्किनु भयो र अदालतले पनि केही गरेन । गर्न सकेन वा गर्नै चाहेन त्यो मैले बुझिन । मात्र मैले मलाई भोक लगेको, बिरामी परेर औषधी किन्न पैसा नभएको, आमाको कुनै आम्दानी नभएकोले हामीसँग आँशु मात्र बगाएको कुरा मैले बुझें ।

मुद्धामा बिभिन्न पकृया पूरा भए । हामीलाई मानाचामल भराउन पिताजीले कामगर्ने पसलको साहुजीलाई श्रीमानले बोलाउनुभयो, कति तलब दिन्छौ भनेर सोध्न । पसलको साहुजी आउनुभएन तर मुद्दा लम्बिरहयो ।

यसरी मुद्दा लम्बिरहदा मेरोे पेट भने भोकै रहयो । स्कुलले भर्ना नगरेको र शुल्क नतिरेको कारणले निकालिदियो । यसैबीचमा कोभिड १९ महामारी फैलियो । जताततै लकडाउन भयो तर हाम्रो पेटले भने मागिरहयो, पेटलाई कहिल्यै लकडाउन भएन ।

भोकलागेको पेटलाई सरकारको निषेधाज्ञाले के टेरोस्, टेर्दै टेरेन, सधैं मागिरहयो । तर दिनेले दिएन्, दिलाउनु पर्नेले पनि मुकदर्शक बनिरहे । त्यो अन्तरकालिन आदेश भन्ने कानूनी व्यवस्था समेत म र मेरी दिदी रोईरहेको टुलुटुलु हेरिरह्यो ।

पिताजीले अर्को छोरी जन्माउनु भएछ नयाँ आमाबाट । त्यसैले पिताजीको नयाँ छोरी र नयाँ आमालाई अदालतले बुझ्यो, यस्मा पनि समय लाग्यो ।

तर समय संगै बढेको मेरो र दिदीको पेटको आन्द्राले खान मागेको कुरा मलाई र दिदीलाई थाहा भयो । आमाले आफूले नखाएर पनि,मागेर, खोजेर, काम गरेर जसोतसो हाम्रो पेटको चित्कार पुरा गर्नुभो । तर पिताजीलाई हामीलाई भोक लागेको थाह भएन, आदालतले पनि बुझेन ।

ए साँची, मानाचामाल मुद्धा त संक्षिप्त कार्यबिधी ऐन, २०२८ अन्तर्गत ३ महिनामा निरन्तर सुनुवाई मार्फत फैसला गराउनु पर्ने कानुनी बाध्यता छ अरे, वकिलले भन्नुभएको सुनेको थिएँ । त्यो बाध्यता किताब र ऐनका पानालाई मात्र भयो, न त पिताजिलाई त्यो बाध्यताले छोयो न त अदालतलाई नै ।

अब मुद्धामा बुझ्न बाँकी केही छैन, सबै सकियो । यो बर्षको लकडाउन २०७८ को साउन १५ पछाडी ३० दिन भित्र अदालतमा मुद्दाको म्याद थाम्ने म्याद राखी अदालतको कर्मचारीले मुद्धाको पेसी दिनु पर्नेमा सकेसमा ढिलो गराइदिएर हामीलाई दुखदिने काम गर्नुभयो, आमाले रुँदै सुनाउनुभएको ।

भन्दै हुनुहुन्थ्यो, कर्मचारीले तारिख, पेशी तोक्दा समेत एक डेढ महिनाको दिने गरेकोले सधैं झगडा हुन्छ रे कर्मचारीसँग मेरो आमाको ।

वकिलले भने बमोजिमको पेशी, तारिख कहिल्यै दिएनन् कर्मचारीले ।

के मलाई र मेरो दिदिलाई भोक लागेर भोकै मर्दा मानाचामल भराउन सहयोग गर्नु पर्ने जिमेवारी ति कर्मचारीको छैन ? के तिनीहरुका छोराछोरी जस्तै मलाई र मेरो दिदीलाई पनि भोक, तिर्खा लाग्दैन ?

खान नपाएर स्कुल भर्ना हुन नपाएर बिरामी हुँदा, औषधीउपचार गर्न खर्चपर्च चाहिएर मानाचामल मुद्ध दायर गरेको २०७६ जेष्ठमा होे । अहिले ०७८ भाद्र सकियो । साँची यो मुद्दामा बालबलिकाले खान पाउने कती बर्ष पछी हो ? म कति बर्ष सम्म भोकै नाङ्गै र स्कूल नगई बस्नु पर्ने हो श्रीमान ?

श्रीमान, मैले मेरो पेट भर्न मेरो बाबाबाट मानाचामल कहिले पाउने ? कि हजुरले निर्णय दिने र पिताजिले चामल दिने मिति सम्म म भोकै रहन सक्ने अलौकिक शक्ति दिनुहोस्, कि त मलाई एकमाना चामल भराईदिनुहोस्, त्यसो पनि होइन भने मलाई विष दिनुहोस् , किनकी मलाई भोक लागेको छ, म ढल्न लागेको छु । कि त मलाई बँचाउनुहोस होईन भने यो त्रासदी जिवनबाट छुटकारा पाउने औषधी दिनुहोस् श्रीमान ।

उही नाबालिका झगडिया

निरन्तर हजूरको ढोका ढकढक पार्ने हजूरकी छोरी जस्तै कसैकी एक अभागी छोरी

 

(यो सामाग्री सबैभन्दा पहिले कानून व्यवसायी शितल पाण्डेले नमस्ते ल नेपालमा प्रकाशित गर्नुभएको थियो ।)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com