लिमाको क्याटाकम्बस


प्रकाशित मिति : चैत्र ३, २०८० शनिबार

सन् २०१७ को सेप्टेम्बर ३ तारिखको दिन बिहानै हामी पेरुको राजधानी लिमा पुगेका थियौं । हाम्रो बस्ने व्यबस्था लिमा सहरको नयाँ बस्ती मिरा ल्फोरेसमा थियो । लिमालाई प्रशान्त महासागरसङ्ग जोडनेकाम यही सहरले गरिरहेको रहेछ । सबै नयाँ, आधुनिक र अति सुन्दर । यो सहरमा डुल्दा र ती बिशाल भवनहरु देख्दा संसारका विकसित देशहरुमध्ये पेरु पनि एउटा हो जस्तो लाग्थ्यो । हाम्रो भ्रमणको दोस्रो टेकाइ लिमा सहरको सान फ्रान्सिस्को गुम्बा (मोनेस्ट्री) थियो । हिन्दु धर्मको अनुयायी भएर हो कि चर्च हेर्ने, घुम्ने र बुझ्नेतिर हामी चारै जनाको रहर निकै कम थियो । तर, के गर्ने पेरुभियनहरु इसाइ धर्मको अनुयायी भएकाले सबैतिर चर्चकै विस्तार, चर्चकै उन्नति र चर्चकै प्रशंसामात्र । प्लाजा दे आर्मसको नजिकै सान फ्रान्सिस्को गुम्बा छ । हाम्रो गाइड माइकले हामीलाई त्यतै पुर्‍याए । सान फ्रान्सिस्को मोनास्ट्री भनिएकोले मैले त्यसको शाब्दिक अर्थ लगाएर सान फ्रान्सिस्को गुम्बा लेखेकी हुँ । मोनास्ट्री शब्दले नै हामीलाई त्यहाँ घुम्न र हेर्न जान प्रेरित गराएको थियो । यहाँपनि बुद्धको शान्तिको सन्देश आइपुगेकै रहेछ भनेर खुसीपनि लागेको थियो । हेर्न जाने चाहना सशक्त भइ हाल्यो । लिमा सहरभित्रै भएकोले दश/पन्ध्र मिनेटमै हामी त्यहाँ पुग्यौं ।

एउटा ठूलो स्क्वायरको बीचमा जोडी टावर खडा थिए । पंहेलो रङ्गको टावरमा हरेक तल्लाको सिमानामा सेतो रङ्गले पोतिएको र बांकि भवन र टावरमा पातलो पंहेलो रङ्ग लगाइएको यो गुम्बा निकै राम्रो देखिएको छ । तर, गुम्बा हामीले सोचेको र अनुमान गरेकोजस्तो बौद्ध गुम्बा (मोनेस्टरी) नभएर चर्च नै रहेछ । ममात्र होइन हामी सबै अलमलमा पर्‍यौं । चर्चलाई किन गुम्बा भनियो होला ? गाइडले यस सम्बन्धमा केही भन्न सकेनन् । तर, अंग्रेजी भाषामा मोनाष्टरी शव्दले एउटा वा धेरै भवनहरुको समुह जहाँ भगवानको पुजा-आराधना गर्नेहरु बस्ने तथा भक्तजन आएर प्रार्थना गर्ने ठाउँ जनाउने रहेछ । त्यसैले यहाँ चर्चलाई चर्च नभनेर मोनाष्टरी भनिएको हुनुपर्छ । यो चर्च सन् १६७३ तिर बनेको हो रे । धेरै पटकका भूकम्पलाई यसले थामेको थियो रे तर सन् १९७० को महाभूकम्पलाई झेल्न नसकेर लड्यो रे । त्यसपछि यो चर्चले पुर्नजीवन पाएको रहेछ आफ्नै पुरानो ढाँचामा ।

गुम्बज आकारको कलात्मक ढोका छ । ढोकाबाट माथि पहिलो कौशीको भागसम्म काठका कलात्मक बुट्टाहरुले सजाइएका छन् जसरी हाम्रा देवालयहरु र निजी घरका टुँडालहरुमा काठका कलात्मक बुट्टाहरु राखिन्छन् । टावरको अगाडि र देब्रेपट्टि सडक भएकोले खुल्लैछ । बाँकि भागमा दुई तल्ला उच्चाइका उस्तै कलात्मक ढाँचाका निकै लामो घर चर्चसगै जोडेर बनाइएको छ । यो घरले पर्खालकै कामपनि गरेकोछ । यो घरमा गुम्बाकै अफिस र गुम्बामै कामगर्ने कर्मचारीको कार्यालय रहेछ । स्क्वायर वरिपरि तीनचार फिट जतिको ढुँगाको पर्खाल, त्यसको माथि फलामको बारले घेरिएको । स्क्वायरको बीच भागमा दुइटा करिब सत्तरीअस्सी फिट जति अग्ला जोडी टावर । करिब पचास फिट जतिमा चारै दिशाबाट आवत-जावत गर्न मिल्ने ठूलो बारदली छ । त्यसको माथि एउटा झ्याल छ । त्यो भन्दा माथि फेरि अर्को सानो कौसी छ । त्यो भन्दा माथि फेरि अर्को अलि सानो झ्याल छ । फेरि अर्को कौसी । त्यसपछिको भाग गुम्बज जस्तो गोलो छ र सबैभन्दा माथि बीच भागमा आठदश फिटको टावर जस्तो छ । साधारणतय चर्चको त्यो भागमा घण्टा राखिन्छ । त्यहाँ पनि घण्टानै हुनुपर्छ भन्ने मेरो अनुमान छ । दुबै टावरको बीचमा चर्चभित्र मास (पुजा) गर्ने ठाउँ असाध्ये सुन्दर थियो । हामी सनातनी हिन्दु हौ । हामीमा कट्टर स्वभाव छैन । सबैले आआफ्नो धर्म, संस्कृति, परम्परा, संंस्कार तथा रितिरिवाजको पालना गर्न पाउनु पर्छ । ईश्वर प्राप्त गर्ने बाटो अलग होला तर लक्ष्य सबैको एउटै हो भन्ने आस्थामा म विश्वास गर्दछु । त्यसैले मन्दिर, चर्च, मस्जिदमा जान मलाई कुनै अप्ठेरो लाग्दैन । भित्र पसेर आँखा चिम्मिएर ईश्वरको ध्यान गर्न मलाई कसैले रोक्दैन र म त्यो मौका कहिलेपनि चुकाउन चाहन्न ।

हामी सबै भित्र प्रवेश गर्‍यौं । अल्टर (पुजाचौकी)देखि आधाजति भागमा सुनौला बत्ती र सुनौला झारले सजाइएको छ । मानौ त्यो पुजाचौकी सुनैसुनले बनेको रहेछ । बत्तीको मधुरो प्रकाशमा त्यो ठाउँ सुनौला रङ्ग बनेर कति शान्तमय र रोमन्चकारी बनेको छ शब्दमा बर्णन गर्न सकिन्न । मन स्वर्गमा पुगेजस्तो लाग्ने । मेरो कल्पनाभन्दा निकै पर । त्यसभन्दा पछिका भागहरु सेतो रङ्गमा शान्तिको आव्हान गर्दै बसिरहेजस्तो ।

सान फ्रान्सिस्को गुम्बाको अमूल्य नीधिको रुपमा एउटा पुस्तकालय रहेछ । हाम्रो गाइड माइकले हामीलाई पुस्तकालयभित्र लगे । हामी यन्त्रवत उतै पस्यौं । पुराना पुस्तकहरुले भरिएको पुस्तकालय शान्त भएर हामीलाई पर्खिरहेको थियो । पुस्तकालयमा आन्दाजी पच्चिस—छब्बिस हजारभन्दा बढी पुराना पुस्तकहरुलाई जतनकासाथ खण्ड—खण्ड मिलाएर राखिएका थिए । यी पुस्तकहरु स्पेनिश आक्रमणभन्दा पहिलेका हुन् रे । पुस्तकहरु विशेष गरेर बाइबल सम्बन्धि नै थिए । त्यसैगरी पुस्तकालयमा त्यसबेलाका प्रसिद्ध प्याट्रीआर्क ज्याकोब र उनका बाह्र छोराहरुको तेह्र वटा प्रसिद्ध पेण्टिङ्सहरुलाई भित्तामा जतनसाथ सजाइएको छ । त्यसैगरी पेरुभियन प्रसिद्ध चित्रकार डिगो पुन्तेले तयार पारेको द लाष्ट सपरलाई निकै कलात्मक रुपमा सजाएर राखिएको छ । लियोनार्डो डा भिन्चिको द लाष्ट सपर भन्दा फरक ढाँचाको खानेकुरा तथा गोलाकार टेबुल यस पेण्टिङमा चित्रकार डिगो पुन्तेले देखाएका रहेछन् । चित्रकलाको ठूलो महत्व नजान्ने मलाई त डाभिन्चिको लाष्ट सपर भन्दा यो डिगो पुन्तेको लाष्ट सपर नै राम्रो लाग्यो । कलाको पारख त हेर्नेहरुको दृष्टिमा फरकफरक हुन्छ । लाष्ट सपर कस्तो थियो भनेर ठ्याक्कै आँखाले देख्ने को छ र ? सबैले पुराना लेखकहरुले जसरी बर्णन गरे त्यसैलाई फलो गर्दै आएको छ हो नी । त्यसैले होला डिगो पुन्ते र लियोनार्डो डा भिन्सीको लाष्ट सपर फरकफरक ढङ्गमा आएको ।

यस सान फ्रान्सिस्को गुम्बाको अर्को विशेषता भनेको यहाँको क्याटाकम्बस रहेछ । क्याटाकम्बस भनेको धर्म अभ्यासका लागि जमीनमुनी बनाइएको कोठाहरु जहाँ मान्छेहरुको मृत्युपछि उनिहरुको लाशलाई गाडेर राखिन्थ्यो । धेरै काल पहिले क्याटाकम्ब शव्दलाई रोमन साम्राज्यमा प्रयोग गरिन्थ्यो पछि सबैतिर यसको प्रयोग गर्न थालिएको रहेछ । हामीलाई यी कुराहरु हेर्ने मन नहुँदानहुँदै हाम्रो गाइडले त्यहाँ पुर्‍याइहाल्यो । क्याटाकम्बस सान फ्रान्सिस्को गुम्बाकै मुनी छ (आजभोलिको बेसमेन्टजस्तै) । ठूलाठूला पर्खालहरु, सबैतिर निहुरिएर हिडनु पर्छ । जमीनमुनीको त्यो भित्रि भाग कुनैपनि भुँइचालोमा भत्किएन रे । यहाँ साना—साना च्याम्बरहरु धेरै छन् । त्यसमध्ये एउटा च्याम्बर भने निकै ठूलो छ । त्यो च्याम्बर अहिले पर्यटकहरु हिडिरहेको ठाउँभन्दा सातआठ फिटजति अझै तल छ । त्यहाँ मृत मान्छेहरुको खप्परैखप्पर तथा खुट्टा र हातका हाडहरुको अस्थिपन्जरलाई गोलाकार मिलाएर राखिएको छ । पच्चिस-तीस हजारभन्दा बढी मानिसहरुलाई त्यहाँ गाडिएको अनुमान रहेछ । जमीनमुनी सधैं चिसो भइरहने कारणले लास गल्नपनि समय लाग्ने र बिग्रिएर बाहिरी बातावरण् दुषित नहुने भएकोले त्यस बखतका मानिसले त्यो प्रविधि अपनाएको अनुमान गरिएको रहेछ ।  बेसमेन्टमा मलाई जहिलेपनि सास फेर्न कठिनाई हुन्छ । झन्डै आधा घन्टाजतिको जमिन मुनीको घुमाईमा मलाई उकुसमुकुस भइसकेको थियो । गाइडलाई छिटे मलाई मात्रै भएपनि बाहिर निकालिदेउ भन्नै लागेको थिएँ । तर हामी बाहिर निस्कने लागेको जानकारी गाइडले नै दिए । ती साना तथा अँध्यारा सुरुङ र ठूलाठूला भित्ताहरुलाई पार गर्दै हामी मुख्य चर्चको ढोका मुनीबाट बाहिर निस्कियौं ।

जन्मपछि मृत्यु निश्चित छ भनेर जान्दाजान्दैपनि हामी मृत्युदेखि संधै भयभित हुन्छौ । मृत्यु, लाश, चिहान सबै शब्दहरुले मानिसभित्र भय पैदा गराउछ । सकेसम्म मानिस यी शब्दहरुबाट टाढा हुन खोज्छ तर जति टाढा हुन खोज्छ उति नजिक पुग्छ । यही नै प्रकृति हो । जतिबेलासम्म म क्याटाकम्बसभित्र डुलेँ मनलाई डल्लो पारेर डुलेँ । उकुस-मुकुस भएर कहिले बाहिर निस्किउ जस्तो भइरह्यो । फुत्त बाहिर निस्कदा मैले मृत्युमाथि बिजय पाएं जस्तो लाग्यो । के यसरी क्याटाकम्बस राखिराख्नु जरुरी छ त? त्यो पनि मन्दिरकै मुनी ? मेरो मनले जिज्ञासा गरिराख्यो । पेरिस र रोममा पनि यस्तै क्याटाकम्बसहरु थिए । पेरिस, रोम पुगेका बखत मलाई यी ठाउँहरु हेर्ने रहर आएनन् । पेरुको लिमामा थाहै नपाई जीवनमा नदेखेका, नहेरेका र नचाहेका बस्तुहरुलाई हेर्नु पर्‍यो । यो पनि जीवनको एउटा अविस्मरणीय समय रह्यो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com