रामगीता वाङ्मय मन्दिर अमेरिका-नेपालबाट तीन श्रष्टा एकसाथ पुरस्कृत


प्रकाशित मिति : बैशाख २०, २०८१ बिहीबार

रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालले तीन श्रष्टालाई एकसाथ पुरस्कृत गरेको छ । उक्त मन्दिरले  काठमाडौँको सर्वनाम नाटकघरमा समारोहको आयोजना गरेर वरिष्ठ नाट्यकर्मी हरिहर शर्मा, वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल र रेडियोकर्मी अच्युत घिमिरे बुलबुललाई सम्मान गरेको हो ।
मन्दिरले शर्मालाई अशेष मल्ल–सावित्री नाट्यकर्म पुरस्कार, डा. विमललाई प्रतीक ढकाल–लक्ष्मी सर्वोत्तम कृति पुरस्कार र घिमिरेलाई रामगीता प्रोत्साहन पुरस्कार प्रदान गरेको हो । डा. विमललाई उनको भरखरै प्रकाशित कृति ‘सरबरिया टोल’ का लागि सो पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशी क्रमशः ५०–५० र २५ हजार नगदसहित सम्मानपत्र रहेको थियो ।
कार्यक्रमको सभाध्यक्ष गीता खत्री, संरक्षक कमलबहादुर खड्का र मखमली खड्का तथा प्रमुख अतिथि वरिष्ठ चलचित्रकर्मी तथा साहित्यकार यादव खरेल रहेका थिए । उनीहरुसहित पुरस्कार स्थापित व्यक्तित्वहरु अशेष मल्ल, सावित्री मल्ल कक्षपति र प्रतीक ढकाल तथा पुरस्कार संस्थापक राम खत्री र गीता खत्रीले संयुक्त रुपमा ती पुरस्कारहरु स्रष्टालाई प्रदान गरे ।
अनेसासकी उपाध्यक्ष डा. रेणुका सोलुले उपस्थितलाई स्वागतसहित संस्था र संस्थापक राम—गीताको बारेमा चर्चा गरिन् भने महेश पौड्यालले सम्मानीत स्रष्टाको बारेमा गहन परिचय व्यक्त गरेका थिए ।
पुरस्कार हस्तान्तरणपछि बोल्दै कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ चलचित्रकर्मी यादव खरेलले परम्परागत रुपमा पुरस्कार राख्ने परम्परा भन्दा यो फरक रहेको भन्दै प्रशंसा गरे । गीता खत्रीले धेरै वर्ष अघिनै यो पुरस्कार स्थापना गर्ने सोच बनाएको तर दुई वर्ष अघि मात्र संस्था स्थापना गरेको तथा अहिले पुरस्कार वितरण गर्न सफल भएको बताइन् ।
अशेष मल्लले अरु अशेष मल्ल जन्माएको र प्रतीक ढकालले नेपालको हिमालको बारेमा लेखेर विश्वलाई परिचित गराएकोले उहाँहरुको नाममा पुरस्कार स्थापना गरिएको उनले बताइन् । आफूले गरेको कामबाट कहिल्यै पनि घमण्ड नआओस् भन्दै सधैभरि कर्म गरिरहन पाए आफू खुसी हुने पनि उनले बताइन् ।
गीता खत्रीका ८९ वर्षीय बुबाले गणेश स्तुति गाउनुभएर कार्यक्रमको समुद्घाटन र समापन भयो ।  प्रा.डा. सावित्री मल्ल कक्षपतिले  मान्छे ज्यूँदो रहँदा नै उसका कर्मका बारेमा सम्मान गर्ने यो प्रचलनको शुरुवाति गर्ने यस सत्कर्मको  खुलेर प्रशंसा गरिन् ।  कार्यक्रम सञ्चालन भवानी खतिवडाले गरेकी थिइन् ।
© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com