असोजसम्म थप एक करोड ५ लाख खोप आउने, बालबालिकाका लागि ६० लाख फाइजर खोप ल्याउने तयारी


प्रकाशित मिति : श्रावण ११, २०७८ सोमबार

सरकारले आउँदो असोज मसान्तभित्र थप एक करोड पाँच लाख खोप ल्याउने भएको छ। प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिको सोमबार बसेको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले आउँदो असोज मसान्तसम्म थप एक करोड पाँच लाख ४८ हजार खोप ल्याउने सरकारको तयारी रहेको जानकारी दिए।

उनका अनुसार सरकारले आफैं खरिद गरी ल्याउने प्रक्रियामा रहेको, विभिन्न मुलुकहरुले अनुदानमा दिएको र कोभ्याक्स कार्यक्रममार्फत् गरी उक्त परिमाणको खोप ल्याउन लागिएको हो। सरकारले चीनसँग खरिद गरेर ६० लाख भेरोसेल खोप आउँदो भदौ मसान्तसम्म र भारतबाट खरिद गरिएको कोभिशिल्ड खोपको १० लाख मात्रा भदौको पहिलो साता नेपाल आइपुग्ने तालिका छ। यसैगरी वैदेशिक अनुदानबाट चीन सरकारबाटै साउन मसान्तभित्रमा भेरोसेल खोपको १६ लाख मात्रा, कोभ्याक्स कार्यक्रममार्फत जापानबाट एष्ट्राजेनिका खोपको १६ लाख मात्रा आउँदो भदौ पहिलो साता र कोभ्याक्समार्फत् नै तीन लाख ३८ हजार मात्रा थप खोप नेपाल आउने तालिका छ।

मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा गुणराज लोहनीले सोमबार समितिमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेका प्रयासहरूको संक्षिप्त विवरण तथा आगामी कार्यदिशा प्रस्तुत गर्दै आउँदो असोजदेखि चैतसम्म नेपालमा थप तीन करोड २३ लाख मात्रा खोप आउने जानकारी दिए।

उनका अनुसार कोभ्याक्स कार्यक्रममार्फत निःशुल्क २० प्रतिशत अर्थात् एक करोड १३ लाख मात्रा र कोभ्याक्समार्फत् लागत सहभागितामा कोभिशिल्ड, मोर्डना, फाइजर, जोन्सन एण्ड जोन्सन र सिनोभ्याक गरी करिब एक करोड ५० लाख मात्रा र बालबालिकाका लागि ६० लाख मात्रा फाइजर खोप ल्याइने छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सरकारले कूल जनसंख्याको ७२ प्रतिशत अर्थात पहिलो प्राथमिकतामा रहेका दुई करोड १५ लाख र पछिल्लो समय १२ वर्षदेखि १८ वर्ष उमेर समूहका ४९ लाख गरी दुई करोड ६५ लाखमा खोप लगाउने लक्ष्य लिएको छ। यसका लागि दुई मात्रा खोपका हिसाबले कूल पाँच करोड ३५ लाख मात्रा खोप आवश्यक हुने सचिव अर्यालले जानकारी दिए। उनका अनुसार आउँदो असोज मसान्तभित्रमा खोप लगाउने लक्ष्यमध्ये ३३ प्रतिशतलाई खोप लगाइने र चैत मसान्तभित्र सबै लक्षित समूहलाई खोप लगाउने लक्ष्य सरकारको छ ।

अब बालबालिकाका लागि पनि खोप आउने

महाशाखा प्रमुख डा लोहनीले १२ वर्षमाथि उमेर समूहका बालबालिकालाई समेत लगाउन मिल्ने खोप प्राप्त गर्ने प्रक्रिया अगाडि बढेको जानकारी दिए। उनका अनुसार बालबालिकाका लागि सरकारले करिब ६० लाख फाइजर खोप ल्याउने तयारी गरेको छ।

अहिलेसम्म खोपको पहिलो मात्रा १५.८ प्रतिशत अर्थात ३४ लाख पाँच हजार १५४ र दोस्रो मात्रा ६.६ प्रतिशत अर्थात १४ लाख ३० हजार ४१६ जनाले खोप लगाइसकेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ९७ लाख ८२ हजार ८५० मात्रा खोप आइसकेको छ। तीमध्ये कोभ्याक्स सुविधामार्फत १८ लाख ८२ हजार ८५० (भारतबाट कोभिशिल्ड तीन लाख ४८ हजार र अमेरिकाबाट जोन्सन एण्ड जोन्सन १५ लाख ३४ हजार ८५० मात्रा), वैदेशिक अनुदानबाट २९ लाख, चीनबाट १८ लाख र भारतबाट ११ लाख मात्रा रहेका छन् । यसैगरी सरकारले खरिद गरेर ५० लाख मात्रा ल्याएको छ। भारतबाट कोभिशिल्ड १० लाख मात्रा र चीनबाट भेरोसेल ३२ लाख मात्रा रहेको छ ।

सरकारले कोभिड–१९ को उपचारका लागि १५७ सरकारी र निजी अस्पताल सूचीकृत गरी सञ्चालनमा ल्याएको छ। यसैगरी कोभिड–१९ को उपचारका लागि मन्त्रालयले तीन हजार सघन उपचार कक्ष (आइसियु) पु¥याएको छ भने ६३० थप गर्ने प्रक्रियामा रहेको मन्त्रालयका सचिव अर्यालले जानकारी दिए। यस्तै भेन्टिलेटरको संख्या ९०० रहेको र १८० थप गर्ने प्रक्रियामा छ। सरकारी अस्पतालमा हाई डिपेन्डेन्सी युनिट (एचडियु) दुई हजार ७५ र निजीमा ७७८ सञ्चालनमा रहेका छन् भने एक हजार ४०० थप गर्ने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार कोभिड–१९ को तेस्रो लहरलाई मध्यनजर गरी बच्चाका लागि १८० भेन्टिलेटरसहित २७५ आइसियु शय्या थप्ने प्रक्रियामा छ।

अक्सिजनको अवस्था
मन्त्रालयले अहिले अक्सिजनको आपूर्तिसमेत बढाएको छ। स्वास्थ्य सचिव अर्यालका अनुसार अहिले दैनिक १२० मेट्रिक टन अक्सिजन आपूर्ति भइरहेको छ। यसअघि १५ मेट्रिक टन मात्र अक्सिजन आपूर्ति हुने गरेको थियो । मन्त्रालयले सङ्क्रमणको दोस्रो लहर चलिरहेकै बेला पाँच हजार अक्सिजन सिलिण्डर थप र पाँच हजार ५०० अक्सिजन कन्सट्रेटरको व्यवस्था गरेको छ। थप तीन हजार ५०० अक्सिजन कन्सट्रेटर आउने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ।

यसैगरी २७ वटा तरल अक्सिजन टङ्याक थप गर्ने योजनाअन्तर्गत दुई सम्पन्न, चार निर्माण प्रक्रियामा र १० वटा निर्माणका लागि सूचना प्रकाशित गरिएको छ। नेपालमा कोरोना भाइरस सङ्क्रमितको मृत्यु दर १.३ प्रतिशत र निको हुने दर ९४.५ प्रतिशत छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com