व्यवसायमा घाटा भएपछि डेलिभरी सुरु गरेका युवक : दैनिक १३ घण्टा काम, ५ वर्षमा १२ मिलियन बचत 


प्रकाशित मिति : पुस ३, २०८२ शुक्रबार

प्रतिकात्मक तस्वीर । ग्रोक एआईबाट निर्मित

चीनका एक फुड डेलिभरी कामदारले कडा कार्यतालिका र सामान्य जीवनशैली अपनाएर ५ वर्षमा १२ मिलियन युआन (करिब १ लाख ६० हजार अमेरिकी डलर) बचत गरेको खुलासा गरेपछि सामाजिक सञ्जालमा व्यापक बटुलेका छन् ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार २५ वर्षीय झाङ सुएछ्याङले सन् २०२० मा आफ्नो जन्मथलोमा व्यवसाय असफल भएपछि सांघाइ सरेर एक खाना डेलिभरी प्लेटफर्ममा काम गर्न थालेका थिए।

यसअघि झाङले फुजियान प्रान्तको झाङझोउ सहरमा एक साथीको साथमा नास्ता पसल सञ्चालन गरेका थिए। तर, त्यो व्यवसाय बन्द भयो । उनीमाथि करिब ५० हजार युआन (करिब ७ हजार अमेरिकी डलर) ऋण बाँकी रह्यो। नयाँ सुरुआतको खोजीमा उनले सांघाइ पुगेर खाना डेलिभरीको काम सुरु गरे।

नोभेम्बरको अन्त्यतिर झाङले सामाजिक सञ्जालमा एक भिडियो साझा गर्दै पाँच वर्षमा आफूले कुल १४ लाख युआन कमाएको बताए। ऋण तिरेर र आधारभूत जीवन खर्च धानेपछि उनले ११ लाख २० हजार युआन बचत गर्न सफल भएको सिनमिन इभनिङ न्यूजलाई बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“दैनिक अत्यावश्यक सामान बाहेक मेरा अरू कुनै खर्च छैनन्,” झाङले भने।

झाङको कार्यतालिका निकै कठोर छ। उनी दिनको करिब १३ घण्टा, सातै दिन काम गर्छन् । उनी चिनियाँ वसन्त पर्व (स्प्रिङ फेस्टिभल) का बेला मात्रै केही दिन बिदा लिन्छन्।

“म दिनको करिब १३ घण्टा, सातै दिन काम गर्छु। खान र सुत्न बाहेक मेरो सबै समय ग्राहकलाई खाना पुर्‍याउनमै बित्छ,” उनले भने।

उनको दिन प्रायः बिहान १०ः४० बजे सुरु हुन्छ र भोलिपल्ट बिहान १ बजेसम्म चल्छ। शारीरिक क्षमता जोगाइराख्न उनले हरेक दिन साढे ८ घण्टा सुत्ने बताउँछन्

पछिल्ला वर्षहरूमा उनले महिनामा औसत ३०० भन्दा बढी अर्डर पूरा गरेका छन्। प्रत्येक डेलिभरीमा करिब २५ मिनेट लाग्छ । उनको कुल यात्रा दूरी अचम्मलाग्दो ३ लाख २४ हजार किलोमिटर पुगेको छ।

झाङको मेहनतका कारण सहकर्मीहरूबीच उनलाई “ग्रेट गड” र “अर्डर किङ” भन्ने उपनाम दिइएको छ।

“उनी धेरै बोल्दैनन्, केवल डेलिभरीमै समर्पित छन्। मैले उनलाई हिँडेको कहिल्यै देखिनँ, सधैं दौडिरहन्छन्,” झाङले काम गर्ने सांघाइको मिनहाङ जिल्लास्थित डेलिभरी स्टेशनका निर्देशक यानले भने ।

“हाम्रो क्षेत्रमा धेरै मेहनत गरेमा बढी कमाइ गर्न सकिन्छ। तर, झाङ अत्यन्तै मेहनती र किफायती कामदारको दुर्लभ उदाहरण हुन्,” यानले थपे।

साउथ चाइना मर्निङ पोस्ट अनुसार झाङले निरन्तर मेहनतबाट हासिल गरेको उपलब्धिमा गर्व लागेकाले आफ्नो कथा अनलाइनमा साझा गरेको हुन् । “अन्ततः मैले ऋण तिरेँ र कडा मेहनतबाट ठूलो रकम बचत गर्न सफल भएँ,” उनले भने।

अब उनले आगामी वर्षको पहिलो आधामा सांघाइमा दुईवटा नास्ता पसल खोल्न ८ लाख युआन लगानी गर्ने योजना बनाएका छन्। यससँगै उनले वर्षौंको अथक प्रयासपछि पुनः उद्यमशीलताको यात्रामा फर्किने तयारी गरेका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com