जसपा विवाद : उपेन्द्र यादव पक्षमा बहुमत


प्रकाशित मिति : श्रावण ११, २०७८ सोमबार

अपडेटः निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिने निर्णय गरेको छ।

जनता समाजवादी पार्टी (जसपा) मा उपेन्द्र यादव पक्षको बहुमत देखिएको छ। सोमबार निर्वाचन आयोगले जसपाका कार्यकारिणी सदस्यको सनाखत लिएकोमा यादव पक्षमा बहुमत देखिएको हो।

जसपाको ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये ३४ सदस्यले अध्यक्ष यादवको पक्षमा हस्ताक्षर गरेका छन्। अर्का अध्यक्ष महन्थ ठाकुरका पक्षमा १६ सदस्यले हस्ताक्षर गरेका छन्। हाल जेल सजाय भोगिरहेका जसपाका निलम्बित सांसद रेशम चौधरी निर्वाचन आयोग परिसर पुगे पनि तटस्थ बसे।

निर्वाचन आयोगमा रेशम चौधरी

जसपाको आधिकारिकता विवाद निरुपणका लागि आयोगले आवश्यक कागजातसहित आयोगमा सोमबार बिहान ११ बजे उपस्थित हुन आग्रह गरेको थियो। निर्वाचन आयोगका अनुसार जसपाको कार्यकारिणी सदस्यको सनाखत सकिएको छ।

जसपाका कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राईले आफूहरुका पक्षमा बहुमत सदस्य रहेकाले पार्टी विभाजनमा नजाने बताए। उनका अनुसार अहिलेको अवस्थामा अर्को पक्षले ४० प्रतिशत पुर्‍याउनसक्ने अवस्था नरहेकाले जसपा दल विभाजनबाट बचेको छ।

अब बहुमत नपुर्‍याउने पक्षलाई नयाँ दल दर्ता गराउने बाटोसमेत खुलेको छ। यद्यपि आयोगले पार्टी आधिकारिकताको निर्णय सुनाइसकेको छैन।

आयोगले जसपाको आधिकारिकता विवाद निरुपणका लागि इजलास गठन गरी यही साउन ३ देखि ७ गतेसम्म कानुनी बहस सकेर पार्टी एकीकरण हुँदाका समयमा पेश भएका कागजातसहित उपस्थित हुन आदेश दिएको थियो।

जसपा सरकारका जान्छः यादव
निर्वाचन आयोगमा सनाखतपछि सञ्चारकर्मीसँग कुरा गर्दै जसपा अध्यक्ष उपेन्द्र यादवले जसपा छिट्टै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने बताए।

उनले आफ्नो पक्षमा बहुमत कार्यकारिणी सदस्य रहेको भन्दै पार्टी सरकारमा सहभागी हुने बताएका हुन्। पार्टीका बाँकी सदस्यले आत्माआलोचनासहित सच्चिएर आएमा विचार गरिने अध्यक्ष यादवको भनाइ थियो।

जसपाको ठाकुर पक्षको संसदीय दलका नेता राजेन्द्र महतोले शोषण र उत्पीडनमा परेका जनताका लागि एक वर्षअघि पार्टी एकीकरण गरिएकामा आज विभाजनको अवस्था आउनु दुर्भाग्यपूर्ण रहेको भन्दै मधेशका मुद्दा र अधिकारका लागि जनताको साथ लिएर अघि बढ्ने बताए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com