जोन्सन एण्ड जोन्सनको खोप बचेपछि काठमाडौंमा १८ बर्षभन्दा माथिका सबैलाई


प्रकाशित मिति : श्रावण ६, २०७८ बुधबार

काठमाडौंमा बुधबारदेखि १८ वर्षमाथि उमेरसमूहका लागि पनि जोन्सन एन्ड जोन्सनको खोप दिइएको छ । उमेर समुह तोकेर लगाउँदा अत्यन्तै कममात्र खोप वितरण भएपछि अब १८ वर्ष माथिकालाई खोप दिन सुरु गरिएको हो ।

एकडोजमात्र लगाइने यो खोप यसअगाडि ५० देखि ५४ वर्ष उमेर समूहकालाई मात्र दिइएको थियो । त्यस्तै पूर्ण र अति अशक्त अपाङ नागरिक, नेपालमा बसोबास गरिरहेका शरणार्थी र यसअघिका छुटेका फ्रन्टलाइनरहरुलाई पनि यो खोप लगाइएको थियो ।

स्वास्थ्य सेवा विभागले काठमाडौंलाई १ लाख ४० हजार डोज जोन्सन एण्ड जोन्सन खोप उपलब्ध गराएको थियो । दुई दिनसम्म खोप कार्यक्रम सञ्चालन गर्दा पनि झण्डै एक लाख डोज खोप बाँकी रहेपछि ती खोप १८ वर्षभन्दा माथिका नागरिकलाई दिइएको हो ।

जस अनुशार बुधबार काठमाडौंका कैयन खोपकेन्द्रहरुमा १८ बर्षमाथिकाले जोन्सन एण्ड जोन्सनको खोप लगाए भने बिहिबार पनि कैयन खोप केन्द्रहरुमा लगाइरहेका छन् ।

१८ बर्षमाथिकाहरुलाई दिएपछि बुधबार काठमाडौं महानगरपालिकामा ३० हजार ६ सय ८७ जनाले जोन्सन एण्ड जोन्सनको खोप लगाए । मंगलबार भने १५ हजार १ सय ७८ जनाले जोन्सन एण्ड जोन्सनको खोप लगाएका थिए । पहिलो दिन ११ हजार ७ सय ३६ जनाले जोन्सन एण्ड जोन्सनको खोप लगाएका थिए ।

टोखा नगरपालिकामा आज बिहान १० बजे देखि ग्रान्डी अस्पताल, धापासी स्वास्थ चौकी र मनोहर माविमा मा १८ वर्ष उमेर माथिका नागरिकहरूलाई कोभिड खोप लगाइएको छ । बुढानिलकण्ठमा पनि चपली घुम्तीको बुढानिलकण्ठ स्वास्थ्य चौकी र करुणा अस्पतालमा आज पनि खोप वितरण भइरहेको छ ।

साउन ४, ५ र ६ गते जोन्सन एण्ड जोन्सनको खोप वितरण तय भएतापनि खोप बचेपछि आज पनि वितरण गरिएको हो ।

अमेरिकी सहयोगमा कोभ्याक्समार्फत प्राप्त र नेपालमा साउन ४ गतेदेखि लगाउन सुरु गरिएको कोरोनाबिरुद्धको भ्याक्सिन जोन्सन एण्ड जोन्सनका केही विशेषताहरु रहेका छन् भने भ्याक्सिनबारे केही भ्रमहरु पनि फैलिएका छन् । यो भ्याक्सिन अमेरिकामा लगाउन रोक लगाइएको, भ्याक्सिन लगाएका व्यक्तिमा गम्भीर साइड इफेक्ट हुने र परीक्षणकै क्रममा रहेको लगायतका कैयन विषयमा भ्रमसमेत रहेका छन् ।

कस्ता छन् विशेषता ?

जोन्सन एण्ड जोन्सनको भ्याक्सिन ठीक्कदेखि सिकिस्तसम्मको संक्रमण रोक्न ६६ प्रतिशत प्रभावकारी रहेको छ भने सिकिस्त हुनबाट रोक्न ८५ प्रतिशत प्रभावकारी रहेको छ । जोन्सन एण्ड जोन्सनको एउटा डोज लगाएको २८ दिनपछि कोरोनाको कारण अस्पताल भर्ना हुने र मृत्यु हुनेदर शुन्य रहेको छ । मोडेर्ना र फाइजरको तुलनामा जोन्सन एण्ड जोन्सनका साइड इफेक्ट पनि कम छन् ।

जोन्सन एण्ड जोन्सनको भ्याक्सिन २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा आइपुग्छ र यही तापक्रममा भ्याक्सिनको म्यादसम्मै भण्डारण गर्न सकिन्छ । त्यस्तै प्रयोगका लागि प्वाल पारिएको भ्याक्सिनको शीशी पनि यो तापक्रमममा ६ घण्टासम्म राख्न सकिन्छ । नेपालको स्वास्थ्य संरचनामा यो तापक्रममा भ्याक्सिन राख्न र वितरण गर्नमा समस्या छैन  नेपालमा भण्डारणका लागि समेत उचित व्यवस्था रहको छ ।

प्राय सबै कोरोनाबिरुद्धका भ्याक्सिन दुई डोज लगाउनुपर्ने भएतापनि जोन्सन एण्ड जोन्सनको भ्याक्सिन एकडोजमात्र लगाए पुग्छ । भ्याक्सिन लगाएको १४ दिनपछि कोरोनाबिरुद्ध संरक्षण प्रदान गर्न सुरु गर्छ भने २८ दिनपछि पूर्ण संरक्षण प्राप्त हुन्छ । यो अमेरिकामा प्रयोगको स्वीकृति पाएको तेश्रो भ्याक्सिन हो भने यो भ्याक्सिन अमेरिकामा झण्डै १२ मिलियनले लगाएका छन् ।

जोन्सन एण्ड जोन्सनको भ्याक्सिनले डेल्टा भेरियन्टबिरुद्ध बलियो संरक्षण प्रदान गर्ने अध्ययनले देखाएको छ । नेपालमा डेल्टा भेरियन्टको प्रभाव रहेको अवस्थामा यो भ्याक्सिन नेपालका लागि बढी उपयोगी सावित हुनेछ । यो भ्याक्सिन १८ बर्षभन्दा माथिका व्यक्तिलाई लगाउन अनुमति छ ।

के अमेरिकामा लगाउन रोक छ ?

छैन । अहिले अमेरिकामा अहिले कोरोनाबिरुद्धको जोन्सन एण्ड जोन्सन भ्याक्सिन वितरणमा अहिले कुनै रोक लगाइएको छैन । यो अमेरिकामा प्रयोगको स्वीकृति पाएको तेश्रो भ्याक्सिन हो भने यो भ्याक्सिन अमेरिकामा झण्डै १२ मिलियनले लगाइसकेका छन् ।

यद्यपी अमेरिकामा गत अप्रिलमा यो भ्याक्सिन वितरणमा अप्रिल १३ देखि १० दिनसम्म रोक लगाइएको थियो । तर अप्रिल २३ मा उक्त रोक हटाइएको थियो । त्यसपछि पनि अमेरिकामा झण्डै ५ मिलियनले यो भ्याक्सिन लगाइसकेका छन् ।

सम्भावित दुर्लभ प्रकारको रगतका थोपा जम्ने समस्या देखिएको हुनसक्ने भन्दै यो भ्याक्सिन १० दिन वितरणमा स्थगन गरिएको थियो । यस्तो समस्या कोभिशिल्ड (आष्ट्राजेनेका) भ्याक्सिनका सन्दर्भमा पनि देखिएको थियो । तर झण्डै ८ मिलियनले भ्याक्सिन लगाउँदा जम्मा १५ जनामा मात्रै यस्तो समस्या देखिएको थियो । ५० बर्षभन्दा कम उमेरका महिलामा यस्तो समस्या देखिएको थियो । जसमध्ये ३ जनाको मृत्यु भएको थियो भने सातजना अस्पतालमा भर्ना भएका थिए ।

तर भ्याक्सिन कोरोना संक्रमणबिरुद्ध सुरक्षित र प्रभावकारी रहेको निष्कर्ष निकाल्दै अमेरिकाको एफडीए र सीडीसीले भ्याक्सिन वितरण सुचारु गर्ने निष्कर्ष निकालेको थियो । सम्भावित जोखिमको तुलनामा फाइदा नै धेरै रहेको र फाइदाले जितेको भन्दै भ्याक्सिन वितरण सुचारु गरिएको हो ।

यद्यपी ५० बर्षभन्दा कम उमेरका महिलालाई यो भ्याक्सिन लगाउँदा भने सावधान हुन चेतावनी दिइएको छ । भ्याक्सिन लगाएपछि कम प्लेटलेस र रगत जम्नसक्ने दुर्लभ जोखिमका कारण ५० बर्षभन्दा कम उमेरका महिलाले यो भ्याक्सिन लगाउँदा विचार गर्न भनिएको छ ।

के हो न्युरोलोजिकल डिस्अर्डर ?

जोन्सन एण्ड जोन्सन भ्याक्सिन सम्बन्धित दुर्लभ न्यूरोलोजिकल डिस्अर्डर गियान बार सिन्ड्रोमबारे पनि चर्चा भइरहेको छ । अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडीएले यसबारे नयाँ चेतावनी जारी गरेपछि मान्छेहरु सशंकित भएका छन् । तर यो समस्या पनि अत्यन्तै कममा मात्र देखिएको छ भने भ्याक्सिनसँग सिधै जोडिएको पुष्टी भएको छैन ।

१२ मिलियन भन्दा धेरैले भ्याक्सिन लगाउँदा ९५ जनामा गम्भीर प्रकारको यस्तो केस देखिएको थियो । उनीहरु अस्पतालमा नै भर्ना हुनुपरेको थियो । यद्यपी भ्याक्सिन र गियान बार सिन्ड्रोमबारे प्रत्यक्ष सम्बन्ध स्थापीत गर्न तथ्यांक अप्रयाप्त रहेको भन्दै एफडीएले कोरोनाबिरुद्ध जोन्सन एण्ड जोन्सन भ्याक्सिन लगाउन सिफारिस गरेको छ ।

जोन्सन एण्ड जोन्सनले पनि यस्तो सिन्ड्रोमको सम्भावना अत्यन्तै कम रहेको र रिपोर्ट गरिएका मामलाहरु पनि अत्यन्तै थोरै भएको जनाएको छ ।

गियान बार सिन्ड्रोम यस्तो दुर्लभ प्रकारको डिस्अर्डर हो, जसले व्यक्तिको इम्युन प्रणालीले नर्भ सेलहरुमा क्षति गराउँछ । जसका कारण माशंपेशी कमजोर हुनुका साथै प्यारालाइसिस समेत हुनसक्छ । यस्तो सिन्ड्रोम भएका अधिकांश व्यक्ति पूर्णरुपमा निको हुनसक्छन् । तर केही व्यक्तिलाई भने निको हुन लामो समय लाग्नसक्ने जनाइएको छ ।

जोन्सन एण्ड जोन्सन भ्याक्सिनसँग सम्बन्धित पछिल्ला केसहरुमा भने धेरै उमेरका पुरुषहरु सबैभन्दा धेरै प्रभावित भएको देखिएको छ ।
रिपोर्ट गरिएका अधिकांश गियान बार सिन्ड्रोमका केसहरु भ्याक्सिन लगाएको दुई सातासम्मका रहेका छन् भने अधिकांश ५० बर्ष नाघेका पुरुषहरु रहेका छन् । यदि भ्याक्सिन लगाएपछि व्यक्तिमा झमझमाउने र कमजोरी अनुभव भएमा तत्काल स्वास्थ्य सहायता खोज्न एफडीएले सुझाव दिएको छ ।

खासगरी खुट्टा र पाखुरामा झमझमाउने भएमा त्यो शरीरका अन्य भागमा समेत फैलिनसक्ने जनाइएको छ । यो सिन्ड्रोमका अन्य लक्षणहरुमा हिडडुल गर्न कठिन हुने, अनुहारको चालमा समस्या हुने, दुईवटा दृश्य देखिने, आँखा चलाउन गाह्रो हुने, दिशापिसाव नियन्त्रण गर्न गाह्रो हुने लगायतका हुनसक्छन् ।

अमेरिकाले किन पठाएन अरु भ्याक्सिन ?

अमेरिकामा आष्ट्राजेनेका भ्याक्सिन भण्डारणमा रहेको छ । तर यो भ्याक्सिन अमेरिकामा प्रयोगका लागि स्वीकृति नपाएकाले यो भ्याक्सिन अमेरिकाले अन्य देशमा सहयोगका लागि पनि पठाएको छैन । प्रयोगका लागि स्वीकृत भइसकेपछि र त्यसका तत्थ्यांकहरु एफडीएले विश्लेषण गरेपछिमात्र आष्ट्राजेनेका भ्याक्सिन विदेशमा सहयोगका लागि पठाउने अमेरिकाले जनाएको छ ।

अमेरिकाले केही देशलाई सहयोगका लागि मोडेर्ना र फाइजर भ्याक्सिन पनि पठाएको छ । तर नेपालमा ती भ्याक्सिनहरु उचित भण्डारणको अभाव भएकाले परिचालनमा समस्या हुने भएकाले अमेरिकाले कोभ्याक्समार्फत जोन्सन एण्ड जोन्सन पठाएको हो । जोन्सन एण्ड जोन्सन भ्याक्सिन नेपालमा भण्डारणका लागि सहज रहेको छ भने परिचालनमा समेत समस्या छैन ।

फाइजर भ्याक्सिनमा उल्लेख गरिएको म्यादसम्म भण्डारण गर्नका लागि यो भ्याक्सिनलाई माइनस ६० डिग्रीदेखि माइनस ८० डिग्री सेल्सियस तापक्रमभित्रको अत्यन्तै चिसो फ्रिजरमा राख्नुपर्छ । नेपालमा यति चिसो तापक्रममा भण्डारण गर्न मिल्ने कुनै व्यवस्था छैन । यो भ्याक्सिन माइनस ७० डिग्री सेल्सियसमा राख्न सिफारिस गरिएको छ ।

नेपालमा जोन्सन एण्ड जोन्सन भ्याक्सिन वितरण अवलोकनका क्रममा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी । फोटो : अमेरिकी दूतावास काठमाडौं

नेपालमा माइनस २० डिग्री सेल्सियसभन्दा कम तापक्रममा भण्डारण गर्न सकिने कुनै व्यवस्था नभएको नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेलले खसोखासलाई जानकारी दिएका छन् ।

फाइजर भ्याक्सिन दुइसातासम्मका लागि माइनस १५ डिग्रीदेखि माइनस २५ डिग्री सेल्सियससम्म भण्डारण गर्न सकिन्छ । तर सीडीसीको पछिल्लो गाइडलाइन अनुशार त्योभन्दा लामो समय उक्त तापक्रममा फाइजर भ्याक्सिन भण्डारण गर्न मिल्दैन । फाइजरको भ्याक्सिन दुईडोज २१ दिनको अन्तरमा दिनुपर्ने भएकाले अहिलेसम्म २१ दिनसम्म यो भ्याक्सिन नेपालमा भण्डारण गर्न मिल्ने कुनै व्यवस्था छैन ।

त्यस्तै मोडेर्ना भ्याक्सिन पनि नेपालमा लामोसमय भण्डारणका लागि उचित व्यवस्था देखिन्न । यो भ्याक्सिन माइनस १५ देखि माइनस ५० डिग्री सेल्सियसभित्र भण्डारण गर्नुपर्छ । नेपालमा माइनस २० डिग्री सेल्सियससम्मको तापक्रममा भण्डारण गर्नसकिने व्यवस्था रहेपनि यो भ्याकिसन सकभर माइनस २० डिग्री वा त्यो भन्दा माथि राख्न सिफारिस गरिएको छ ।

मोडर्ना भ्याक्सिन २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा ३० दिनसम्म राख्न सकिन्छ । यो तापक्रममा भ्याक्सिन राख्नसक्ने व्यवस्था नेपालले गर्नसक्छ । तर यो भ्याक्सिन दुईडोज २८ दिनको अन्तरमा दिनुपर्ने भएकाले काठमाडौंबाहिर वा दुर्गम स्थानमा भ्याक्सिन परिचालनमा भने समस्या हुनसक्छ । प्रयोगका लागि प्वाल पारिएको भ्याक्सिनको शीशी २ डिग्रीदेखि २५ डिग्री सेल्सियसको तापक्रममा १२ घण्टासम्म राख्न सकिन्छ ।

के जोन्सन एण्ड जोन्सन परीक्षणकै क्रममा छ ?

अमेरिकामा जोन्सन एण्ड जोन्सनको भ्याक्सिनले एफडीएबाट आपतकालिन प्रयोगको स्वीकृति पाएको हो । मोडेर्ना र फाइजर भ्याक्सिनले पनि अमेरिकामा आपतकालिन प्रयोगको स्वीकृति पाएका छन् । अमेरिकामा अहिलेसम्म कोरोनाबिरुद्धका कुनै पनि भ्याक्सिनले प्रयोगको पूर्ण स्वीकृति पाएका छैनन् । छिटोमा सन् २०२२ को सुरुतिर फाइजरले पूर्ण स्वीकृति पाउने अपेक्षा गरिएको छ ।

आपतकालिन प्रयोगको स्वीकृति पाएका भ्याक्सिनहरु पनि परीक्षणका क्रममा रहेका भ्याक्सिन होइनन् । उनीहरुले विभिन्न चरणका क्लीनिकल परीक्षणहरुमा सफलता प्राप्त गरेपछि आपतकालिन प्रयोगको स्वीकृति दिइएको हो ।

प्रयोगको पूर्ण स्वीकृतिका लागि मोडेर्ना र फाइजरले अमेरिकाको खाद्य तथा औषधी प्रशासन समक्ष आवेदन दिइसकेका छन् । दुईमहिनाको तथ्यांकको आधारमा यी भ्याक्सिनलाई आपतकालिन प्रयोगको स्वीकृति दिइएपनि ६ महिनाको तथ्यांकको आधारमा पूर्ण स्वीकृतिका लागि आवेदन दिएको हो ।

तर पूर्ण स्वीकृति अगाडि एफडीएले एकबर्षसम्मको तथ्यांक हेर्नसक्ने भएकाले यो प्रकृयाका लागि केही महिना लाग्नसक्नेछ । आगामी दिनहरुमा यी भ्याक्सिनले थप तथ्यांकहरु एफडीएलाई उपलब्ध गराउँदै जानेछन् । एफडीएका वैज्ञानिकहरुले तथ्यांकहरु हेर्नुका साथै सुरक्षा सम्बन्धि अन्य सरोकारहरुको पनि मूल्यांकन गर्नेछन् । कम्पनीले सही तरिकाले तथ्यांकहरु उपलब्ध गराएको नगराएको बारे पनि एफडीएले जाँच गर्नेछ ।

पूर्ण प्रयोगको स्वीकृति पाइसकेपछि महामारी अन्त्य भए लगत्तै र स्वास्थ्य संकट सकिए लगत्तै भ्याक्सिन बजारमा बिक्रिका लागि आउनेछ । त्यसपछि कम्पनीले आफ्नो भ्याक्सिनको विज्ञापन टेलिभिजन र अन्य संचारमाध्यममा कहिलेदेखि गर्न पाउने भन्नेपनि निर्धारण हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com