देउवाले विश्वासको मत लिँदै, को को छन् पक्षमा?


प्रकाशित मिति : श्रावण ३, २०७८ आईतबार

सर्वोच्च अदालतको परमादेशअनुसार प्रधानमन्त्री नियुक्त भएको पाँचौ दिन आइतबार शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिँदैछन्। आइतबार अपरान्ह ४ बजे बस्ने प्रतिनिधिसभा अधिवेशनमा उनले विश्वासको मत लिन लागेका हुन्।

विश्वासको मतको प्रस्ताव कानुन तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभामुख अग्निप्रसाद सापकोटामार्फत् संसद सचिवालयमा दर्ता गराएका छन्।

संसदमा हाल कायम रहेको २७१ सांसदमा विश्वासको मत लिन प्रधानमन्त्री देउवालाई कम्तीमा १३६ मत आवश्यक पर्छ। जसमा काँग्रेसका ६१ र माओवादीका ४९ गरी ११० सांसद छन्। उपेन्द्र यादव पक्षको जनता समाजवादी पार्टीसँग अहिले १२ सांसद छन्। थप पाँच सांसद महन्थ ठाकुर पक्षबाट आएको सो पक्षले दाबी गरेको छ। यस हिसावले उपेन्द्र पक्षसँग १७ सांसद पुगेका छन्। यसैले देउवासँग अहिले १२७ सांसद सहज उपलब्ध छन्।

विश्वासको मत लिन देउवालाई थप ९ सांसद आवश्यकता पर्छ। एमालेको माधव नेपाल पक्षले सहयोग गर्ने देउवाको अपेक्षा छ। एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालसहितका नेपालपक्षका नेताहरुले देउवालाई विश्वासको मत दिन आग्रह गरेका छन्। तर एमालेको संस्थापनपक्षले स्थायी कमिटी बैठकबाट देउवालाई विश्वासको मत दिनेहरु पार्टीमा नरहने निर्णय गरेको गरेको छ।

यस्तै, माओवादी केन्द्र संसदीय दलको बैठकले पनि देउवालाई एक मतले विश्वासको मत दिने निर्णय गरेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com