प्रदेश २ सरकारमा माओवादी केन्द्र पनि सहभागी, २ मन्त्रीले लिए सपथ


प्रकाशित मिति : श्रावण २, २०७८ शनिबार

प्रदेश २ सरकारमा माओवादी केन्द्र पनि सहभागी भएको छ। उपेन्द्र यादव पक्षको जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको सरकारमा माओवादीका एक मन्त्री र एक राज्यमन्त्री सहभागी भएका हुन्।

माओवादीबाट सरकारमा सहभागी भएका संसदीय दलका नेता भरतप्रसाद साह र रुवी कर्णले शनिबार नै सपथ लिएका छन्। साहलाई आन्तरिक मामिला तथा सञ्चारमन्त्री र कर्णलाई साेही मन्त्रालयमा राज्यमन्त्रीकाे जिम्मेवारी दिइएको छ।

माओवादी केन्द्रलाई प्रदेश सरकारमा सहभागी गराउन आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोजसिंह कुशवाहाले राजीनामा दिएका थिए।

 

केन्द्रमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव, एमालेको माधव नेपाल समूह र जनमोर्चाबीच गठबन्धन बनेअनुसार प्रदेश २ मा पनि सत्तासमीकरणमा परिवर्तन भएकाे हो।

नेपाली कांग्रेस भने यसअघि नै प्रदेश २ सरकारमा सहभागी भइसकेको छ। मुख्यमन्त्री राउतले गत जेठ २३ गते महन्थ ठाकुर पक्षका मन्त्रीहरु जितेन्द्र सोनल, डिम्पल झा, अभिराम शर्मा र सुरेश मण्डललाई बर्खास्त गरेका थिए।

त्यसपछि कांग्रेसको तर्फबाट संसदीय दलका नेता रामसरोज यादव भौतिक पूर्वाधार यातायात, ओमप्रकाश शर्मा ऊर्जा तथा खानेपानी र वीरेन्द्र सिंह महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री बनेका छन्। कांग्रेसलाई सरकारमा सहभागी गराउन राउतले मन्त्रालय टुक्र्याएर दश वटा बनाएका थिए।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com