आजदेखि नेपालमा अवैध मोबाइल बन्द गर्ने सफ्टवेयर लागू, कसले कसरी दर्ता गर्ने ?


प्रकाशित मिति : श्रावण १, २०७८ शुक्रबार

आजदेखि नेपाल दुरसंचार प्राविधिकरणले मोबाइल डिभाइस मेनेजमेन्ट सिस्टम लागू गरेको छ । पहिलो चरणमा व्यावसायिक आयातकर्ताले मोबाइलको आयात गर्दा मोबाइल डिभाइज मेनेजमेन्ट सिस्टममार्फत गर्ने व्यवस्था मिलाइएको नेपाल दुरसंचार प्राधिकरणले जनाएको छ । यो प्रणाली अवैध मोबाइल बन्द गर्ने उद्देश्यले ल्याइएको प्राधिकरणको भनाई छ ।

मोबाइल डिभाइज मेनेजमेन्ट सिस्टम नेपाल टेलिकम, एनसेल, स्मार्ट टेलिकम लगायत हरेक सेवा प्रदायकको सर्भरमा जोडिएको हुने र आईएमईआई दर्ता भएको नभएको खण्डमा सिममा नै मोबाइल प्रयोगकर्तालाई सूचना आउने नेपाल दुरसंचार प्राविधिकरणका सहप्रवक्ता अच्युत नन्द मिश्रले खसोखासलाई जानकारी दिए ।

प्राधिकरणले नेपालबाहिर किनिएका वा उपहारमा आएका मोबाइलका सन्दर्भमा आईएमईआई दर्ता नभएको खण्डमा दर्ता गर्नका लागि सिममार्फत नै सन्देश पठाउने भएको छ । नेपाल घुम्न आउने पर्यटकका सन्दर्भमा विदेशकै मोबाइलको रोमिङ सेवा लिएर आउनेहरुका सन्दर्भमा कुनै समस्या नहुने र नेपाल आएर नेपालको सिम प्रयोग गर्नेहरुलाई आईएमईआई दर्ता गर्न केही समय दिइने जनाइएको छ ।

 

नेपालमा बिक्रेताहरुबाट कानुनी रूपमा भित्रिएका र भ्याट बिलसहित किनेको मोबाइलको आईएमईआई दर्ता गर्नु नपर्ने तर विदेशबाट किनेर वा उपहारका रुपमा आएको मोबाइलको भने .आईएमईआई दर्ता गर्नुपर्नेछ । विदेशबाट किनेर वा उपहारका रुपमा आएको र अहिले प्रयोगमा नै रहेका मोबाइलका सन्दर्भमा तत्काल कुनै समस्या नहुने सहप्रवक्ता मिश्रको भनाई छ ।

तर विदेशबाट किनेर वा उपहारका रुपमा आगामी दिनमा ल्याउनेहरुले भने तत्काल आईएमईआई दर्ता गर्नुपर्ने भएको छ । त्यस्तै कानूनी रुपमा नयाँ मोबाइल आयात गर्ने बिक्रेताहरुले समेत अनिवार्यरुपमा दर्ता गर्नुपर्नेछ । मिश्रले भने पहिलेदेखि प्रयोग गरिरहेकाहरुलाई तुरुन्तै दर्ता गर्नु अनिवार्य छैन । दर्ता गर्नुपर्ने भएमा उनीहरुलाई मोबाइलमा सन्देश आउँछ ।

 

आफ्नो मोबाइलको आईएमई नम्बर वा अन्य विवरण थाहा पाउन मोबाइलको किप्याडमा *#06#  डायल गर्नुहोला । आज साउन १ गतेदेखि मोबाइल खरिद गर्दा खरिद गर्न लागेको मोबाइलको आईएमईआई नम्बर चेक गर्नुहुन सुझाव दिइएको छ ।

आईएमईआई नम्बर चेक गर्दा दर्ता भएको मोबाइलमा दर्ता भएको देखिने र दर्ता नभएको मोबाइल दर्ता नभएको देखिने हुँदा खरिदकर्तालाई मोबाइल खरिदमा सजक हुन सुझाव दिइएको छ ।

यदि व्यक्तिगत रुपमा नयाँ मोबाइल आयात गर्दै हुनुन्छ वा उपहारमा पाउनुभएको छ भने त्यस्तो मोबाइल दर्ता गर्न यहाँ क्लीक गर्नुहोला ।

व्यक्तिगत रुपमा विदेशबाट झिकाएका वा उपहारमा पाएका मोबाइल दर्ता गर्दा आवेदनको प्रकार उल्लेख गर्नुपर्छ । विदेशी पर्यटक भएमा उनीहरुले विदेशीका रुपमा दर्ता गराउन सक्नेछन् भने नेपालीहरुले नेपालीका रुपमा दर्ता गराउन सक्नेछन् । त्यसपछि मोबाइलको आईएमईआई, ईएसएन वा एमईआईडी कुन प्रकारको नम्बर छ, त्यो छनौट गर्नुपर्छ । र उक्त नम्बर उल्लेख गर्नुपर्छ । ब्राण्डको नाम र मोडल नम्बर समेत दर्ता गराउनुपर्छ ।

आवेदकको नाम, ठेगाना, सम्पर्क नम्बर, नागरिकता, पासपोर्ट वा अन्य परिचयपत्र नम्बर समेत उल्लेख गर्नुपर्छ । परिचयपत्रको प्रतिलिपी समेत अट्याच गर्न आवश्यक हुन्छ । नागरिकता, पासपोर्ट, भिसा लगायतका कागजपत्रहरु परिचयपत्रका रुपमा स्वीकार गरिनेछ । त्यसपछि इमेल ठेगाना हालेर अनलाइनबाट पेश गर्नुपर्छ ।

व्यवसायिक आयातकर्ताले भने मोबाइल सेटको आयातपूर्व नै अनिवार्यरुपमा प्राधिरणबाट स्तर स्वीकृति लिनुपर्ने र आयात लगत्तै आईएमईआई नम्बर दर्ता गर्नुपर्ने प्राधिकरणले जनाएको छ । व्यवसायिक आयातकर्ताले मोबाइलको आयात गर्दा मोबाइल डिभाइज मेनेजमेन्ट सिस्टममार्फत गर्ने भएकाले र आईएमईआई नम्बर विक्रेताबाटै लिएर प्राधिकरणले यो प्रणालीमा सूचीकृत गर्ने भएकाले भ्याटबिल सहित बैधरुपमा किनेका प्रयोगकर्तालाई कुनै समस्या हुनेछैन ।

दर्ता गरेका मोबाइल हराएको खण्डमा भेट्टाउन पनि सहज हुने जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com