स्वास्थ्यका अधिकारीसँग देउवाले सोधे–अमेरिकी फाइजर खोप नेपाल ल्याउन सकिन्छ?


प्रकाशित मिति : असार ३०, २०७८ बुधबार

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको उपचार, रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन निर्दैशन दिएका छन्।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) र स्वास्थ्य मन्त्रालयका अधिकारीसँग बुढानीलकण्ठ निवासमा गरेको छलफलमा देउवाले यस्तो निर्देशन दिएका हुन्।

प्रधानमन्त्री देउवाले अमेरिकाले उत्पादन गरेको फाइजर खोप ल्याउन सकिन्छ कि सकिँदैन भन्ने जिज्ञासासमेत राखेका थिए।

‘उहाँले फाइजर ल्याउन कति सहज हुन्छ, त्यसका लागि भण्डारणको अवस्था के छ भनेर जिज्ञासा राख्नुभएको थियो,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले भने।

कोरोना भाइरसविरुद्ध फाइजर खोप सबैभन्दा प्रभावकारी मानिएको छ। तर, यो खोप माइनस ७० डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ। नेपालमा उक्त क्षमताको भण्डारण क्षमता नभएको जवाफ स्वास्थ्यका अधिकारीले दिएका थिए।

स्वास्थ्य मन्त्रालयले फाइजर खोप १२ देखि १८ वर्षसम्मका बालबालिकाका लागि आवश्यक पर्ने भएकाले ल्याउन पहल भइरहेकोबारे प्रधानमन्त्रीलाई जानकारी गराएको डा पौडेलले बताए। उनका अनुसार देउवाले नेपालमा खोपको अवस्था, कोरोना नियन्त्रणका लागि  भएका प्रयास, चुनौती र अहिलेसम्म भएका कामबारे ब्रिफिङ लिएका थिए। देउवाले खोप कति जनालाई लगाइयो, खोप आउने योजना के छ भन्नेलगायतका विषयमा जानकारी लिएका थिए।

हालसम्म नेपालमा २६ लाखभन्दा बढीले पहिलो खोपको पहिलो मात्रा पाएका छन् भने दोस्रो मात्रा ११ लाखले लगाएका छन्।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com