कार्यकर्ताहरुको स्कर्टिङमा बालकोट फर्किए ओली


प्रकाशित मिति : असार ३०, २०७८ बुधबार

ठूलो संख्यामा रहेका एमाले कार्यकर्ताहरुको स्कर्टिङमा निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीनिवास बालुवाटारबाट निजीनिवास बालकोट पुगेका छन्। दर्जनौं मोटरसाइकल तथा गाडीसहित बालुवाटारबाट निस्किएका कार्यकर्ताहरुले ओलीसमर्थित नारा लगाएका थिए। एमाले नेता महेश बस्नेतले ओलीको बिदाइका लागि भेला हुन आव्हान गरेअनुसार नेता कार्यकर्ता बालुवाटार पुगेका थिए।

बालकोट पुगेपछि स्थानीयले बाजागाजासहित ओलीको स्वागत गरेका थिए। बालकोट जाने क्रममा कार्यकर्ताहरुले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणा तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति आक्रोश व्यक्त गर्दै नाराबाजी गरेका थिए। ओलीसमर्थित कार्यकर्ताको भीडले ‘माकुने मुर्दावाद,’ ‘माकुनेलाई फाँसी दे’ जस्ता नारा लगाएका थिए।

सर्वोच्च अदालतको परमादेशअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको भोलिपल्ट ओलीले बालुवाटार छाडेका हुन्।

बालकोट पुगेपछि के भने अ‍ोलीले?
बालकोटनिवासको बरण्डाबाट कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले माधव नेपालले गल्ती स्वीकारे पनि पार्टीमा ठाउँ नरहेको बताए। नेपालका पछाडि लाग्ने केही व्यक्तिहरूले कमीकमीजोरी महसुस गरेर काम गर्न चाहेमा मात्रै ठाउँ दिने उनको भनाइ छ।

‘कमीकमजोरी स्वीकार्ने अन्यका हकमा पार्टीमा काम गर्न चाहनेलाई मौका दिन्छौं। तर, माधव नेपालको हकमा गल्ती महसुस गरे पनि स्वीकार्ने ठाउँ छैन,’ उनले भने।

उनले नेपाल विश्वासघाती भएको टिप्पणीसमेत गरे। ‘माधव नेपालजस्ता लाजसरम हराएका विश्वासघाती तत्वहरुलाई स्वीकार्न सकिँदैन,’ उनले भने।

ओलीले जनतामा जान नदिनका लागि अदालतले असंवैधानिक फैसला गरेको आरोप लगाए। ‘अदालतले हामीलाई जनतामा जान नदिन असंवैधानिक फैसला गर्‍यो। नेताको, सरकारको मूल्याङ्कन गर्न पाउने जनताको अधिकार खोसेर, अदालतबाट प्रधानमन्त्री चुन्ने विश्वमा कहीँ नभएको जात्रा भयो,’ उनले भने।

उनले आफू जनताको जनादेशबाट हटेको नभई अदालतबाट अकारण हटाइएको पनि दोहोर्‍याए। ‘जनताको बाटो छेकेर अदालतबाट प्रधानमन्त्री तोक्ने गलत नजिर कायम गरेर हटाइएको छ। नेपाली लोकतन्त्र र संविधानमाथि अतिक्रमण भएको छ। जनताको अधिकार खोसिएको छ,’ उनले भने।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com