देउवा सरकारको निर्णयः सबै नागरिकलाई कोरोना खोप सुनिश्चित गरिने


प्रकाशित मिति : असार २९, २०७८ मंगलबार

सरकारले एक साताभित्र कोभिड–१९ का फ्रन्टलाइनरहरुको जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको छ।

शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को मंगलबार राति बसेको बैठकले अबको एक साताभित्र स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत कोभिड–१९ का फ्रन्टलाइनरहरुको जोखिम भत्ता उपलब्ध गराउन शुरु गर्ने निर्णय गरेको हो।

बैठकपछि सरकारका प्रवक्ता एवम् कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोभिड–१९ को संक्रमण नियन्त्रण तथा न्यूनीकरणका लागि सरकारलाई आवश्यक सल्लाह दिन विशेष सल्लाहकार नियुक्त गर्ने निर्णय भएको पनि जानकारी दिए। यस्तै, २०७८ असोज मसान्तभित्र एक तिहाइ जनसंख्यालाई र चैत मसान्तभित्र खोप लगाउन योग्य सम्पूर्ण नेपाली नागरिकलाई कोभिड–१९ विरुद्ध पूर्ण मात्रामा खोप लगाउने सुनिश्चित गर्ने निर्णय गरिएको पनि कार्कीले जानकारी दिए।

यस्तै, सरकारले कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारका लागि हालसम्म भएको खर्चको हिसाब सार्वजनिक गर्ने निर्णय गरेको छ भने कोरोना महामारीबाट प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न एक महिनाभित्र विशेष प्याकेज ल्याउने निर्णय पनि गरेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com