प्रतिनिधिसभा पुनःस्थापना, देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश


प्रकाशित मिति : असार २८, २०७८ सोमबार

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्स्थापना हुने फैसला सुनाएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणासहित ५ जना न्यायाधीशको संवैधानिक इजलासले सोमबार प्रतिनिधि सभा पुन:स्थापना हुने फैसला सुनाएको हो।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल पक्ष), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका १४६ सांसदले दायर गरेको रिटमा मागदाबी अनुसार नै सर्वोच्चले फैसला सुनाएको हो। फैसलामा पाँचै जना न्यायाधीश एकमत रहेको जनाइएको छ।

यस्तै, कांग्रेस सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न पनि सर्वोच्चले राष्ट्रपति कार्यालयलाई परमादेश जारी गरेको छ।

यस्तै, अदालतले सात दिनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन परमादेश जारी गरेको छ। सर्वोच्चले साउन ३ गते ५ बजेभित्र बैठक बोलाउन परमादेश जारी गरेको हो।

प्रतिनिधि सभाको विशेष अधिवेशन गत वैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको थियो। तर, उनले विश्वासको मत पाएका थिएनन्। सोही दिन संसद् अधिवेशन अन्त्य गरिएको थियो।

सर्वोच्चले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश पनि जारी गरेको छ। देउवाले राष्ट्रपतिले तोकेको समयभित्रै जेठ ७ गते १४९ जना सांसद्को हस्ताक्षर सहित प्रधानमन्त्रीमा दाबी गरेका थिए। तर, देउवाको दाबी समेतलाई राष्ट्रपति भण्डारीले अस्वीकार गरेकी थिइन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com