मेलम्ची र हेलम्बुका बाढीपीडितलाई सरकारले प्रतिपरिवार ५० हजार दिने


प्रकाशित मिति : असार २६, २०७८ शनिबार

सरकारले मेलम्ची तथा हेलम्बु क्षेत्रका बाढीपीडित नागरिकलाई प्रतिपरिवार ५० हजारका रुपैयाँका दरले सहयोग गर्ने भएको छ । हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाको स्थलगत निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित पालिकाहरूलाई राहत कोष तथा सामग्री हस्तान्तरण गरेका हुन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट ३६६ घरपरिवारलाई रु ५० हजारका दरले जम्मा रु एक करोड ८३ लाख सहयोग हस्तान्तरण गरिएको हो । मेलम्ची खानेपानी आयोजनाबाट हेलम्बु गाउँपालिकालाई रु दुई करोड ५० लाख, मेलम्ची नगरपालिकालाई रु एक करोड ३६ लाख, पाँचपोखरी थानपाल गाउँपालिकालाई रु दुई करोड र इन्द्रावती गाउँपालिकालाई रु १५ लाख बराबरको तारजाली हस्तान्तरण गरिएको हो । त्यसैगरी साल्टट्रेडिङ कर्पोरेशन लिमिटेडबाट एक हजार ५०० बण्डल जस्तापाता उपलब्ध गराइएको छ ।

त्यसैगरी निर्माण व्यवसाय प्रवद्र्धन कोषबाट हेलम्बु गाउँपालिकालाई रु छ लाख र मेलम्ची नगरपालिकालाई रु चार लाख सहयोग घोषणा गरिएको छ । प्रधानमन्त्री ओली र धर्मपत्नी राधिका शक्य, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, पूर्वमन्त्री शेरबहादुर तामाङ, सम्बन्धित मन्त्रालयका सचिव तथा प्रतिनिधिसहितको टोलीले स्थलगत अध्ययन गरेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com