एमाले विवाद टुंगोमा पुर्‍याउने प्रयास, शीर्ष नेताबीचको वार्ता सकारात्मक बनेको दाबी


प्रकाशित मिति : असार २३, २०७८ बुधबार

एमाले विवाद टुंगोमा पुर्‍याउने नेताहरुको प्रयास जारी छ। यसैक्रममा अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार राति साढे २ घण्टा भेटवार्ता भएकाे छ।

होटल मेरियटमा भएको छलफलमा सुरुमा महासचिव इश्वर पोखरेल र नेता भीम रावल सहभागी भए पनि पछि शीर्ष नेताबीच ‘वान टु वान’ वार्ता भएकाे थियो। सोही होटलमा यसअघि पनि ओली र नेपालबीच दुई चरणमा वार्ता भइसकैका छन्।

वार्तापछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेपालपक्षीय नेता सुरेन्द्र पाण्डेले शीर्ष नेताबीचको वार्ता सकारात्मक भएको र बाँकी रहेका विषय बिहीबार कार्यदलकाे बैठक बसेर टुंग्याइने बताए।

उनका अनुसार बिहीबार फेरि कार्यदलको बैठक बसेर नमिलेका कुरामा दुवै पक्षबीच छलफल हुनेछ।

यसअघि बुधबार बिहान बसेको कार्यदलकाे बैठकले बिहीबारसम्म विवाद टुंग्याउने निर्णय गरेको थियो। उनले भने, ‘विवादका धेरै विषय निष्कर्षनजिक रहेका छन्। भोलिसम्म विवाद टुंग्याउने गरि लाग्छौं।’ उनले बुधबारको बैठक सकारात्मक बनेको बताए।

कार्यदलमा केन्द्रीय कमिटीको संख्या, पूर्वमाओवादी नेताहरूको व्यवस्थापन, सर्वोच्च अदालतमा दायर रिटको हकमा भाषा मिलाउनेलगायत विषयमा छलफल भएको थियो।

गत सोमबारदेखि कार्यदलको बैठक लगातार बसिरहेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com