निर्वाचन आयोगले सार्वजनिक गर्‍यो निर्वाचन कार्यतालिका, दल दर्ताका लागि पनि आव्हान


प्रकाशित मिति : असार २१, २०७८ सोमबार

प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दाको फैसला हुनै लागेका बेला निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर कात्तिक १६ गते पहिलो चरण र मंसिर ३ गते दोस्रो चरणको निर्वाचनको घोषणा गरेका थिए।
कार्यतालिकाअनुसार असार ३१ गतेदेखि निर्वाचन अवधि प्रारम्भ हुनेछ। र, सोही दिन दल दर्ताका लागि सूचना प्रकाशन गरिने आयोगले जनाएको छ।

पहिलो चरणको निर्वाचनका लागि संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलका उम्मेदवारले असोज २० र अन्य दल तथा स्वतन्त्र उम्मेदवारलाई २१ गते मनोनयन दर्ताको समय दिइएको छ।

यसैगरी असोज २१ गते उम्मेदवारको अन्तिम सूची प्रकाशन र २२ गते उम्मेदवारको विरोधमा उजुरी दर्ता गर्न सकिने कार्यतालिकामा उल्लेख छ।

२३ र २४ गते मनोनयन पत्र र उजुरीमाथि छानबिन गरी उम्मेदवारको नामावली प्रकाशन तथा २५ गते उम्मेदवारी फिर्ता लिन समय तोकिएको छ। असोज २५ गते नै अन्तिम नामावली प्रकाशन गरे उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरी कात्तिक २६ गते मतदान हुने आयोगले जनाएको छ।

यसैगरी दोस्रो चरणको निर्वाचनमा संघ, प्रदेश तथा स्थानीय तहमा प्रतिनिधित्व गर्ने दललाई असोज ३१ गते मनोनयन दर्ताको कार्यतालिका निर्धारण गरिएको छ। अन्य दल तथा स्वतन्त्र उम्मेदवारले कात्तिक १ गते उम्मेदवारी मनोनयन दर्ता गराउन पाउने छन्।

उम्मेदवारको सूची प्रकाशन कात्तिक १ गते र कात्तिक २ गते उम्मेदवारविरुद्ध उजुरी गर्न समय तोकिएको छ।

कात्तिक ३ र ४ गते मनोनयन पत्र र उजुरीमाथि छानबिन गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका आयोगको छ।

कात्तिक ५ गते उम्मेदवारले नाम फिर्ता लिने र सोही दिन अन्तिम नामावली प्रकाशन गरेर चुनाव चिह्न प्रदान गरिने आयोगले जनाएको छ।

दल दर्ताका लागि आह्वान
निर्वाचन आयोगले प्रतिनिधिसभाको मध्यावधि निर्वाचनका लागि दल दर्ताको आह्वान गरेको छ। आयोगले असार ३१ गते साउन १५ गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको कार्यक्रम रहेको जनाएको हो।

कात्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा हुने प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका स्वीकृत गरिएको आयोगले जनाएको हो। पहिलो चरणमा हुने निर्वाचन कार्यक्रम असोज २१ देखि २६ गतेसम्म र दोस्रो चरणका निर्वाचनका कार्यक्रम असोज ३१ देखि कात्तिक ५ गतेसम्म सञ्चालन हुने आयोगले जनाएको छ। भदौ २३ गते मतदाताको अन्तिम सूची प्रकाशन गरिने आयोगले जनाएको छ। यसैगरी समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम भदौ २ देखि कात्तिक २ गतेसम्म सञ्चालन हुने जनाइएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com