१५ दिनभित्र चीनबाट ४० लाख डोज खोप आउँदै


प्रकाशित मिति : असार २१, २०७८ सोमबार

सरकारले १५ दिनभित्र चीनबाट ४० लाख डोज कोभिड-१९ विरुद्धको भेरोसेल खोप ल्याउने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले ४० लाख डोज भ्याक्सिन चीनबाट ल्याउने तालिका नेपाल वायुसेवा निगमले सार्वजनिक गरेको भन्दै ट्वीट गरेका हुन्।

उनले लेखेका छन्, ‘४० लाख भ्याक्सिन चीनबाट ल्याइने फ्लाइट सेडयुल नेपाल वायुसेवा निगमले सार्वजनिक गरिसकेको छ। अब स्वास्थ्य मन्त्रालयले खोप लगाउने उमेर समूहको निर्धारण र कार्यतालिका प्रकाशन गर्नेछ। थप खोप ल्याउने प्रयास पनि जारी छ।’

नेपाल वायु सेवा निगमले खोपको पहिलो खेप ८ जुलाईमा ल्याउने तयारी गरेको छ।

यस्तै, दोस्रो खेप त्यसको भोलिपल्ट ९ जुलाईमा आउनेछ। १५ जुलाईमा तेस्रो खेप, १६ जुलाईमा चौथो खेप र २२ जुलाईमा पाँचौ र २३ जुलाईमा छैटौं खेप ल्याइनेछ।

नेपालले चीनको सिनोभ्याकबाट भेरोसेल खोपको ४० लाख डोज खरिद गरेको हो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com