रुपा सुनारले दिइन् शिक्षामन्त्रीविरुद्ध रिट, पदबाट बर्खास्त गर्न माग


प्रकाशित मिति : असार २०, २०७८ आईतबार

सञ्चारकर्मी रूपा सुनारले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी छिन्। मन्त्री श्रेष्ठले जातीय विभेदलाई प्रश्रय दिने काम गरेको भन्दै पदबाट बर्खास्त गर्न माग राख्दै उनले रिट दायर गरेकी हुन्।

रिटमा मन्त्री श्रेष्ठ, जिल्ला सरकारी वकिलको कार्यालय, महानगरीय प्रहरी वृत्त र घरबेटी सरस्वती प्रधानलाई विपक्षी बनाइएको छ। उनले जातीय भेदभाव तथा छुवाछुत कसुरमा संलग्नलाई कारबाही गर्न माग गरेकी छिन्।

रिटमा मन्त्री श्रेष्ठले कानुनले बर्जित गरेको जातीय भेदभाव तथा छुवाछुतजस्तो मुद्दाको अपराध अनुसन्धानलाई प्रभावित पारेको आरोप लगाइएको छ।

‘जातीय भेदभाव तथा छुवाछुतजन्य कार्यलाई नियन्त्रण तथा निर्मुल पार्ने दायित्व भएको नेपाल सरकारको वहालबाला शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मन्त्रालयको झण्डाबाला गाडी लिएर प्रहरी परिसरमा गई अनुसन्धानमा हस्तक्षेप गरी अनुसन्धानको क्रममा रहेकी सरस्वती प्रधानलाई सरकारी गाडीमा बसाली उनको घरमै लगेको कार्यले जातीय भेदभाव तथा छुवाछुतलाई मद्धत गरेको र अनुसन्धानलाई बाधा पुर्‍याइएको छ,’ रिटमा उल्लेख छ।

मन्त्री श्रेष्ठले अनुसन्धान प्रभावित पारेको भन्दै तत्काल पदबाट बर्खास्त गर्न रिटमा माग गरिएको छ। जातकै आधारमा कोठाभाडा दिन नमानेपछि सुनारको जाहेरीको आधारमा प्रहरीले प्रधानलाई पक्राउ गरेको थियो।मन्त्री श्रेष्ठ आफैं प्रहरी कार्यालय पुगेर प्रधानलाई रिहा गराई घरसम्म पुर्‍याएका थिए। त्यसको श्रेष्ठको चौतर्फी आलोचना भएको थियो।

रिटको विवरणका लागि तलको लिंक क्लिक गर्नुहोला

रुपा सुनार रिट

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com