अमेरिकाको अध्यागमन जेलमा २६ हजार २ सय २२ आप्रवासी, नेपालीहरु ७९


प्रकाशित मिति : असार १७, २०७८ बिहीबार

अमेरिकाको अध्यागमन जेलमा २६ हजार २ सय २२ आप्रवासीहरु रहेको पछिल्लो तथ्यांकले आइसले सार्वजनिक गरेको छ । जुन २४, २०२१ सम्मको तथ्यांक अनुशार यो संख्या अमेरिकामा विभिन्न अध्यागमन जेलमा रहेका आप्रवासीहरुको संख्या हो ।

उनीहरुमध्ये इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले पक्राउ गरेकाहरु ४ हजार ६ सय ६८ र कस्टम एण्ड बोर्डर प्रोटेक्सन सीबीपीले पक्राउ गरेकाहरु २१ हजार ५ सय ५४ जना रहेका छन् । अध्यागमन हिराशतमा रहेकाहरुमध्ये ४ हजार ३ सय ९९ जना विभिन्न अपराधमा दोषी ठहरिएकाहरु छन् भने २० हजार ७ सय २३ जना अध्यागमन कानूनको उल्लंघन गर्नेहरु छन् । ११ सयको अपराधको अभियोग पेन्डिङ रहेको छ ।

Source: TRAC Reports

अर्थात् आइसको हिराशतमा रहेका ७९ प्रतिशत आप्रवासीहरु कुनै अपराधको रेकर्ड नभएकाहरु हुन् । अपराधको पृष्ठभूमि भएका १७ प्रतिशतमा पनि अधिकांश ट्राफिक नियमको उल्लंघन गरेकाहरु जस्ता तेश्रो स्तरको सामान्य अपराधमा दोषी ठहरिएकाहरु रहेका छन् ।

Source: TRAC Reports

आइसको हिराशतमा रहनेहरु सबैभन्दा धेरै टेक्सासमा रहेका छन् । टेक्सासमा ४ हजार ५ सय ६० जना, लुजियानामा २ हजार १ सय ८७ जना, एरिजोनामा १ हजार ८ सय ७ जना, जर्जियामा १ हजार १ सय ७४ जना र क्यालिफोर्नियामा ११ सय ५० जना रहेका छन् । एउटै हिराशतका सन्दर्भमा सबैभन्दा धेरै टेक्सासको पियरसलमा रहेको साउथ टेक्सास आइस प्रोसेसिङ सेन्टरमा ७५१ जना रहेका छन् । त्यसपछि लम्प्किनमा ६२७, नाट्चेजमा ५५४, एलोय ला पाल्मामा ५२५ र एलोय एफसीएफमा ४९९ जना रहेका छन् ।

अध्यागमन जेलमा नेपाली कति ?

न्युयोर्क, टेक्सास, क्यालिफोर्निया लगायतका राज्यमा दर्जन बढी इमिग्रेशन जेलमा नेपालीहरु रहेका छन् । अमेरिकी अध्यागमन जेलमा रहेका नेपालीहरुमध्ये अधिकांश मेक्सिकोको सिमाक्षेत्रहुँदै गैरकानुनी रुपमा अमेरिका छिर्ने क्रममा पक्राउ परेका कागजपत्रविहिनहरु हुन् ।

उनीहरुमध्ये अधिकांशले अमेरिकामा एसाइलमको दावी गरेपनि कतिपयले भने त्यसको दावी अस्वीकार भएकाले देशनिकालाको आदेश पाइसकेका छन् । कतिपयको मुद्दा अध्यागमन अदालतबाट अस्वीकार भएर बोर्ड अफ इमिग्रेशन अपिलमा पनि चलिरहेको छ । कतिपयको भने पासपोर्ट लगायतका ट्राभल डकुमेन्टहरु नबनेका कारण देशनिकाला हुनबाट बचेका छन् ।

टेक्सासको पोर्ट इसाबेल डिटेन्सन सेन्टर । फोटो: किशोर पन्थी

आइसका प्रवक्ता डेनियल बेनेटले खसोखासलाई दिएको पछिल्लो जानकारी अनुशार अमेरिकाका अध्यागमन जेलमा ७९ जना नेपालीहरु रहेका छन् । उनीहरुमध्ये एकबर्ष वा त्योभन्दा लामो समयदेखि अध्यागमन जेलमा रहेकाहरुको संख्या पनि उल्लेख्य रहेको छ । कोरोनाको महामारी र ट्रम्प प्रशासनले अध्यागमनमा गरेको कडाईका कारण पछिल्लो चरणमा सिमाक्षेत्रबा आउने नेपालीहरुको संख्या निकै कम छ । जर्जिया, एरिजोना र अलाबामाको अध्यागमन जेलमा समेत उल्लेख्य नेपालीहरु छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com