Follow @khasokhasmag

रोस्टिङ राजनीति र बाझनीति


प्रकाशित मिति : असार १५, २०७८ मंगलबार

विस्तारिँदै गएको नेपाली राजनीतिमा एउटा तरंग पैदा गर्दै,बाबुराम भट्टराई, पुष्पकमल दाहाल, माधव नेपाल र केपी शर्मा ओलीले एकताका हात मिलाउँदा लाग्यो–नेपाली राजनीतिमा नयाँ कोर्सकाे आरम्भ भएको छ।

पार्टी एकतापछि हौसिएका नेता-कार्यकर्ताले अब देशमा नयाँ उभार ल्याउने छन् र देशमा जनताका लागि काम गर्ने छन भन्ने आशाको त्यान्द्रो समाजमा पलाउँदै थियो।

यता नेताहरुमा माया प्रगाढ बन्दैथियो। एकले अर्काको प्रशंसा गरेका खबरले दिनदिनै अखबारका पानाहरु रंगिबिरंगी बन्दै थिए। तर एकताको हनिमुन मनाउन नपाउँदै डाक्टर बाबुराम भट्टराई विछोड हुनपुग्नु भयो। किन बिछोड हुनपर्‍याे  त्यो त उहाँलाई नै थाहा होला !

एकताको हनिमुन नसकिँदै बिछोडको पीडा  कति थियो, हामीले अनुमान पनि गर्न सक्दैनौं। तर हनुमानहरुले शब्दकोषबाट ठूला-ठूला शब्द खोजेर गाली बेइज्जति र रोस्टिङ गरेको पढ्न  भने पाइयो। तर मलाई एउटा प्रश्नले निकै सताएको थियो, त्यो हो बाबुराम र प्रचण्ड कसरी एउटै पार्टीमा आईपुगे ?  रगतको आहालमा  आफैंले निर्माण गरेको पार्टीको टुक्राटुक्रा बोकेर पूर्व र पश्चिम हिँडेका दुई नेता एकैठाउँ ! अचम्म लाग्यो ।

पार्टी एकताको टुङ्गो लाग्दा म कपिलवस्तु थिएँ। एक जना वरिष्ठ नेताले निकै उत्साहित हुँदै फोन गरेर भन्नुभाे-समाचार पढ्नु भयो ?  एमाले, माओवादी र नयाँशक्ति पार्टीबीच एकताको टुंग्यो लाग्यो नि ?

एकता राम्रो कुरा हो, तर यो दुईदिनको घामछाँया मात्र हो, हेर्दै जाँउ।

निष्ठाको राजनीति गर्ने पात्रहरु पार्टीबाट विस्थापित भइसकेका थिए। मलाई विश्वास पटक्कै थिएन। मेरो कुराले  चित्त दुखेछ। उहाँले भन्नुभयो-तपाईं नकारात्मक कुरा मात्र गर्नुहुन्छ। फोनमा रिसाएको स्वर सुनिएकाे थियाे। धेरै कुरा नगरी फोन राख्नुभयो।

जब बाबुराम भट्टराई एकताको मायाजालबाट बाहिर निस्कनुभयो अनि ती नेतालाई मैले फोन गरेँ। बाबुराम भट्टराई नयाँ पार्टीबाट किन निस्कनु भयो ? त्योबेला उहाँले भन्नुभो-अपमानको पनि हद हुन्छ नि ! बाबुराम अपमानित भएर किन बस्ने ? धेरै कुरा छन् तपाईं काठमाडाैं आउनुस्  भनौँला । तर म काठमाडौँ आएपछि त्यो बिषयमा कुरा गर्नु अहिलेसम्म भेटेको छैन ।  यत्तिकैमा हाम्रो सम्बाद टुंगियो।

बाबुराम छुट्टिए पनि प्रचण्ड र केपी ओलीको हनिमुन जारी नै थियो। त्योबीचमा जिल्ला जिल्लामा छिटफुट रुपमा विरोधका आवाज सुनिन थालेका थिए। तर हनिमुनका नयाँ प्रेमी जोडीजस्तै उहाँहरुलाई पनि दुनियाँसँग कुनै प्रवाह  थिएन। हरेकदिन मिटिङ ! ठूला-ठूला निर्णयहरु ! यसरी एकपछि अर्को निर्णय बाहिर आउने र एकतापछिको नेताहरुमा देखिएको मायाप्रेम  अनि चकाचाैंध देखेर  विपक्षी दल  तिरमिराएको थियो।

दुर्भाग्य ! यो तामझाम धेरै दिन टिकेन।  विस्तारै पार्टीमा गुटहरुको उदय सुरु भयो।  दुई नेताका विस्तारा छुट्टाछुट्टै भए। यतिसम्म कि  पार्टी कार्यालयमा राखिएका कुर्सीसमेत हटाउने काम भए।   हामी दुईमा को एक नम्बरको अध्यक्ष भन्ने होडबाजी सुरु भएपछि उहाँहरुको हार्टब्रेक भएको खबर एकताका बेलाको जस्तै अखबारका पानाहरुमा छापछाप्ती हुन थाले।  उहाँहरुकाे घरायसी झगडा अदालतमा पुग्यो। अदालतले सम्बन्धविच्छेद गराईदियो। दुवै नेता आ-आफ्नो आफ्नो घर फर्के। त्यसपछि सुरुभयो एकले अर्कालाई रोस्टिङ  गर्ने र बाजनीतिको आरम्भ ।

अदालतको ढाेकामा पुगेर टुंगिएकाे उहाँहरुको राजनीति बाझनीतिमा परिणत हुँदै हिजोसम्म आउँदा हद पार गर्‍याे।  अब उहाँहरुले विचार, दृष्टिकोण, राज्य निर्माणको कुरा होइन, एकले अर्कालाई रोस्टिङ गर्ने बाटो समात्नुभएको छ।

आफ्नो घर पोलेर खरानी उडाएपछि अर्काको घरमा ओत लाग्दाको परिणाम हेर्न धेरै समय कुर्नु परेन। अहिले आएर, राजनीतिक संस्कार त के कुरा, सभ्य मानिसले बोल्ने भाषा समेत बोल्न छोडिसकेका छन् । राजनीतिक एजेण्डामाथि बहस गर्नु, एकले अर्कोको नीति कार्यक्रममाथि वैज्ञानिक ढंगले टिप्पणी गर्नु राम्रो कुरा हो। तर यहाँ त मुख्य नेतृत्वलेनै राजनीतिक संस्कारको धज्जी उडाउँदै एकले अर्कोलाई  तुच्छ भाषामा रोष्टिङ गर्दै हिँडेका छन् ।

कटाक्ष गर्ने कुरामा हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीज्यू नम्बर वान नै हुनुहुन्छ। अझ विपक्षी दल र पार्टीभित्र उहाँको विरोध गर्ने नेतालाई कसरी खुइल्याउनुपर्छ भन्ने घरेलु तरिका त उहाँमा अब्बल छ। राजनीतिक संस्कार होइन, अरुसँग कसरी बाझ्ने र राजनीतिक रोष्टिङ गर्ने भन्ने  कुराको उहाँमा खानी नै छ ।

उहाँले विपक्षी दल र पार्टीभित्रका नेताहरुलाई आफ्नो शब्दवाणले मुटुको कुनै कुना बाँकी नराख्ने गरी दाग्नुसम्म दाग्नु हुन्छ। विचराहरु उहाँले बोलेका शब्दको अर्थखोज्दैमा तिलमिलाउँछन्।

मंगलबार त उहाँले सरकारी निवास बालुवाटारमा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा रोष्टिङनीति र बाझनीतिकाे नयाँ उचाइ हासिल गर्नुभयो।

प्रधानमन्त्री तथा एमाले अध्यक्षसमेत रहनुभएका ओलीले, पार्टीनेता, विपक्षदलका नेता, बुद्धिजीवी र न्यायलयलाई एक एक गरेर शब्दको भुङ्ग्रोमा पल्टाई पल्टाई सेक्नुसम्म सेक्नुभयो।

उहाँले सबैभन्दा बढी आफ्नै पार्टीका वरिष्ट नेता माधव  नेपाललाई ‘प्रचण्डको पुच्छर, लाज पचेको, अनुशासनहीन र इमान भएको’ भन्दै तिखा शब्दले डाम्नु भयो।  भन्नुभयो, ‘माधव नेपालले धाक लगाउँदै हिँडेका छन् प्रधानमन्त्री केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राखेकाछन्, मलाई बहुला कुकुरले टोकेको छ र अरु कोही मान्छे नभेटाएर यस्ता मान्छेलाई प्रस्ताव राख्ने ? बेसरमको पनि हद हुन्छ नि ?’

राजनीतिमा यसरी सार्वजनिक रुपमा बेइज्जत गरेको सायद पहिलो पटक होला, योभन्दा पहिला सांकेतिक भाषामा एकले अर्कोलाई गाली गरेको मात्र सुनिन्थ्यो। अचम्मकाे कुरा प्रधानमन्त्रीले यसरी बोलिरहँदा हलमा रहेका नेताहरुले ताली ठोकिरहेका थिए। यो दृष्यले समाजलाई के सन्देश दियाे होला ?

माधव नेपालपछि प्रचण्डमा खनिदैँ प्रधानमन्त्रीले भन्नुभयो, ‘कहिले कम्फर्टेबल सरकार बनाई दिन्छु भन्ने कहिले गणतन्त्रभन्दा राजतन्त्र ठिक भन्ने, कहिले गणतन्त्र ल्याउने मै हुँ भन्ने छेपारोले रंग फेर्छ त।’

यता प्रचण्डले माधव नेपालको बचाउ गर्दै भन्नुभयो ‘केपी ओली स्वार्थको लागि जस्तोसुकै सम्झौता पनि गर्दछन्, माधवजीको खुट्टा ढोग्न सक्छन्।’

अब के हुन्छ सबै देखाईन्छ भन्दै, धेरै ठाउँ भाषण गर्ने प्रचण्डलाई ओलीले मंगलबार कडा  प्रहार मात्र गरेनन्, नराम्रोसँग रोस्टिङ पनि गरे। उहाँहरु बीचमा मायाप्रेम जति गहिरो थियो, त्योभन्दा गहिरो घृणा पैदा भएकाे पुष्टि मंगलबारका दुई छुट्टाछुट्टै कार्यक्रममा  छरपष्ट पारिदिए।

संघीय संसद भवनमा विपक्षी गठबन्धले गरेको अन्तरक्रियामा ओलीको जवाफमा माधव नेपालले भन्नुभयो- उहाँले ‘मलाई बहुला कुकुरले टोकेको छ र’ भन्नुभएछ कति राम्रो आफैँ बुझ्नुस्। प्रधानमन्त्रीको याे भनाइलाई लिएर सबैतिर चर्चा हुन थालेको छ, ‘बहुला कुकुरले नटोक्दा त यस्तो छ, टोक्यो भने के होला ?’ यो विषय सामाजिक सञ्जालमा हटकेक बनेको छ । मानिसहरु विभिन्न तरिकाले मज्जा लिइरहेका छन्।

नीतिहरुको माउ नीति भनेको राजनीति हो। त्यसमा पनि राज्यको प्रमुख यसरी बोल्दा पर्ने प्रभाव र संस्कार कस्तो होला ? राजनीति संस्कार छोडेर, बाझनीतिकाे बाटाे अंगालेकाे नेतृत्वलाई कोरोनाले पैदा गरेको संकटलाई कसरी न्यूनीकरण गर्ने भन्ने विषयमा कत्ति पनि चिन्ता र चासाे देखिँदैन। एकथरि सत्ता टिकाउने, अर्कोथरि सत्ता ढलाउने खेल मैदानमा छन्।

जब मायाप्रितीमा खटपट आउँछ, एकले अर्कालाई गर्नुसम्म बेइज्जत गर्दै भन्छन्-जिन्दगीमा थोरै पनि माया गरेको होस् भने मुख बन्द राख।

सायद राजनीतिमा पनि थोरै पनि विचार, पार्टीनीति विधि सिकेको छ भने यसरी बाझाबाझ गर्दा समाज र नयाँ पुस्तामा पर्ने असरका बारेमा सोचेर मुख बन्द राखेकै राम्रो।  हुनु त, राजनीतिमा लाज भन्ने शब्द हुँदैन, आज लड्ने, राती चियर्स गर्ने अर्कोदिन मुटु जोड्ने चलन नौलो होइन ।

 

 

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com