एमालेले असार १६ मा बोलायो दशौं महाधिवेशन आयोजक कमिटी बैठक


प्रकाशित मिति : असार १३, २०७८ आईतबार

सत्तारुढ एमालेको माधव नेपाल पक्षले पार्टी विवाद समाधान गर्न २०७५ जेठ २ अगाडिकै स्थितिमा फर्कनुपर्ने माग गरिरहेकै बेला अध्यक्ष केपी ओली पक्षले भने दशौं महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको छ। बालुवाटारमा आइतबार बसेको ओलीपक्षीय स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो।

पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले दशौं महाधिवेशन आयोजक कमिटीको बैठक आगामी असार १६ गते बिहान ११ बजे बोलाउने निर्णय भएको बताए। यस्तै पार्टी सदस्यता वितरण तथा नवीकरणलाई तिव्रता दिने विषयमा पनि छलफल भएको छ। बाँकी निर्णय महाधिवेशन आयोजक कमिटीले गर्ने उनले बताए।

यस्तै बैठकमा पछिल्लो राजनीतिक अवस्था, कोरोना संक्रमण रोकथाम, देशका विभिन्न भेगमा देखिएका प्राकृतिक विपत्तीबारे पनि छलफल भएको जनाइएको छ।

एकताबद्ध बनाउने प्रयास जारी
स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ज्ञवालीले एकताका लागि औपचारिक तथा अनौपचारिक प्रयास जारी रहेको बताए।

‘एमालेको एकतालाई अक्षुण राखेरमात्रै लोकतन्त्र, कम्युनिस्ट आन्दोलनको रक्षा गर्न सकिन्छ भनेर प्रयत्नशील छौं। एमाले कमजोर हुँदा अप्ठ्यारोमा परिन्छ भनेर हरसम्भव प्रयत्न गरिरहेका छौं।’, उनले भने।

उनले माधव नेपालका व्यवहार एकतासँग मेल खाने नभएका भन्दै केही नेता पार्टीलाई कमजोर बनाउँदै प्रतिपक्षीलाई श्रेष्ठ बनाउन लागिपरेका बताए।

उनले सीमित नेताहरुको चाहना पार्टी कमजोर बनाउने भए पनि स्थायित्व पक्षधर, कार्यकर्ता तथा जनताको चाहना यो नभएको बताए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com