माधव नेपाल भन्छन्-मलाई प्रधानमन्त्रीकाे प्रस्ताव आयो, तर गठबन्धनलाई धाेका दिन्नँ


प्रकाशित मिति : असार १२, २०७८ शनिबार

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आएको बताएका छन्। विपक्षी गठबन्धनले शनिबार काठमाडौंमा राजनीतिक मामिला पत्रकारसँग गरेको अन्तक्र्रियामा बाेल्दै नेपालले प्रधानमन्त्रीको प्रस्ताव आए पनि आफूले गठबन्धनलाई धाेका नदिने स्पष्ट पारे।

उनले प्रतिनिधिसभा विघटनविरुद्ध अदालतमा विचाराधीन मुद्दाको फैसला नहुन्जेलसम्म हस्ताक्षर कुनै पनि हालतमा फिर्ता नहुने बताए।

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा नेता नेपाल पक्षका निवर्तमान सांसदहरुको पनि हस्ताक्षर छ। एमाले विवाद समाधानका लागि नेपाल पक्षसँग ओली पक्षले गरेको वार्तामा पनि उक्त हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त राखिएकाे सार्वजनिक भएकाे थियाे।

आफूहरु एमालेको विद्रोही पक्ष भएको र आफूहरुको लडाइँ केपी ओली व्यक्तिविरुद्ध नभई ओलीप्रवृत्तिविरुद्ध रहेको उनले बताए। ओलीको पटक–पटकको धोका र चालबाजीले दिक्क भएर आफूहरु विद्रोहमा उत्रिएको उनको भनाइ छ।

उनले ओली कुनै पनि हालतमा नसुध्रने बताए। ‘बालुवा पेलेर तेल निक्लनेवाला छैनन्, ओली सुध्रदैनन्,’ उनले भने।

नेपालले आफूहरुको लडाइँ लोकतन्त्रको रक्षा, जनताको अधिकार रक्षा, संविधान बचाउन, संघीयता जोगाउनका लागि भएको बताए। उनले ओलीलाई सत्ता, शक्ति र पैसाको मात लागेको उल्लेख गर्दै ओलीले सत्ताबाहेक अरु नदेखेको बताए।

गठबन्धनको लडाइँ प्रधानमन्त्री बन्नका लागि होइन : प्रचण्ड
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनको लडाइँ प्रधानमन्त्री बन्नका लागि नभएको बताए। संविधानमाथि निर्मम र निरंकुश तरिकाले प्रहार भएको र संविधानहिनतामा चलखेलको दुस्प्रयास भइरहेको देखेर त्यसबाट रक्षाका लागि आफूहरुको लडाइँमा होमिएको उनको भनाइ छ।

‘शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्री चाहियो भनेर कहिल्यै भन्नुभएन, हामीले नै प्रस्ताव गरेका हौं,’ उनले भने। प्रचण्डले एमालेसँग गठबन्धन बनाउँदा पनि आफूले प्रधानमन्त्री अस्वीकार गरेको सन्दर्भ उल्लेख गर्दै गठबन्धनका नेता माधव नेपाल र आफू प्रधानमन्त्रीका लागि नलडेको बताए।

‘संविधानको रक्षा गरिएन भने र मूलभूत मान्यताको प्रतिरक्षा गर्न सकिएन भने देश नै अप्ठेरोमा पर्छ भन्ने चिन्ता हो,’ उनले भने, ‘ओलीले लोकतान्त्रिक मूल्यमान्यताप्रति गरेको नग्नप्रहारबाट रक्षाका लागि गठबन्धन आवश्यक भएको हो।’

राष्ट्रपति ओलीका कार्यकर्ता जस्तौ : दैउवा
अन्तरक्र्रियामा कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी ओलीका कार्यकर्ताजस्ताे बनेकाे आरोप लगाए।

राष्ट्रपतिको आह्वानअनुसार नै आफूहरुले संविधानको व्यवस्थाबमोजिम १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरेको तर राष्ट्रपतिले हस्ताक्षरबारे नसोधी, नबुझी मन्त्रिपरिषद्को सिफारिसमा अपर्झट राति नै संसद् भङ्ग गरेको उनले बताए। त्यस्तो गम्भीर विषयमा सबै दललाई बोलाएर आवश्यक छलफल गर्नुपर्ने राष्ट्रपतिको कर्तव्य रहेको उनको भनाइ छ।

उनले अदालतले प्रधानमन्त्री बनाउने नभइ संविधानको अन्तिम व्याख्या गर्ने अधिकार भने अदालतलाई नै रहेको बताए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com