घरेलु र नेल शैलुन कामदार, भाषिक न्याय र कागजपत्रविहिनबारे डिस्ट्रिक्ट २५ का ५ उम्मेदबार


प्रकाशित मिति : जेष्ठ २९, २०७८ शनिबार

– किशोर पन्थी

न्युयोर्क सिटी काउन्सिलको डिस्ट्रिक्ट २५ नेपाली आप्रवासीहरुको बाक्लो बसोबास रहेको क्षेत्र हो । यसक्षेत्रबाट चुनिने न्युयोर्क सिटी काउन्सिल सदस्यहरुले नेपाली समुदायसमक्ष पनि आफ्नो पहुच तीब्र पारेका छन् भने एजेण्डाहरु पनि अगाडि सारेका छन् । यसै सन्दर्भमा उम्मेदबारहरु यन्डी चेन, क्यारोलिन ट्रान, अल्फान्सो क्वीरोज, फतिमा बर्याब र शेखर कृष्ननले घरेलु कामदार, नेल शैलुन कामदार, भाषिक न्याय र कागजपत्रविहिनका संरक्षण र अधिकारबारेका एजेण्डाहरु बताएका छन् । उनीहरुलाई यसबारेमा सोधिएका ४ प्रश्नहरु र जवाफको सारसंक्षेप । अधिकारले संचालन गरेको यो अन्तरकृयाको मिडिया पार्टनर खसोखास रहेको थियो ।

१, न्युयोर्क सिटीमा झण्डै १८ सय नेपालीभाषी घरेलु कामदारहरु रहेका छन् । घरेलु कामदारको पक्षमा तपाईका योजना के छन् ?

क्यारोलिनः अहिले हामीले महामारीमा पनि देख्यौं । घरेलु कामदारहरु धेरै सुविधा र विमाबाट वञ्चित हुनुभएको थियो । उहाँहरुले पाउने धेरै सुविधा रकम समेत पाउनुभएन । त्यसैले घरेलु कामदारको सुरक्षा र हकहितका लागि अझ बढी कानूनहरु बनाउनुपर्ने आवश्यकता छ । घरेलु कामदारहरु अत्यावश्यक कामदारहरु हुन् । सिटी स्तरमा अहिले पारित गर्न खोजिएको कानून ३३९ भित्र घरेलु कामदारलाई कसरी अगाडि बढाउने र हकहितका लागि अझ धेरै कानून कसरी बनाउदै जाने, जुनसुकै अध्यागमन स्टाटस भएपनि उनीहरु सबैलाई समेटेर अगाडि बढ्ने सन्दर्भमा काम भइरहेकोमा मलाई गौरव लागेको छ ।

यन्डी चेन : हाम्रो अघिल्लो पुस्ताले धेरै संघर्ष गर्नुपरेको छ । जसमा घरेलु कामदारहरु पनि छन् । मेरो योजना कामदारको विकाशका लागि तालिमहरु संचालन गर्ने रहेको छ । त्यो तालिमबाट आप्रवासी समुदायलाई उपयुक्त काममा लैजानुपर्छ । यो तालिमपछि दुईदेखि तीनबर्ष काम पाउने, कुनै सुविधाबाट वञ्चित नहुने, अन्य श्रोतसाधनहरु पाउनुपर्छ । हामीले यसमै काम गर्नुपर्छ ।

शेखर कृष्नन

शेखर : हाम्रा घरेलु कामदारहरु महामारी अगाडि र महामारीको बेलामा पनि हाम्रो सिटीका अत्यावश्यक कामदारहरु हुन् । तर उनीहरुले ज्याला पनि कम पाउने र नीतिगत रुपमा उनीहरुको प्रतिनिधित्व पनि कम हुने गरेको छ । मैले विगतमा पनि घरेलु कामदारलाई प्रतिनिधित्व गरेको छु । अहिले अधिकार लगायतका संस्थाले संचालन गरेको एनवाईसी केयरको अभियानलाई समर्थन गर्छु । तलबी विदा, हेल्थकेयर सुविधा लगायतका सुविधाहरु पाउने विषयमा काम गर्छु । कागजपत्रविहिनका लागि बेरोजगारी विमाको फण्ड बनाउने र भाषाको कारणले सेवाप्राप्त गर्न नसकेका घरेलु कामदारलाई महत्व दिएर काम गर्नेछु । अग्रमोर्चामा रहेका घरेलु कामदार लगायतलाई भ्याक्सिन र कोरोना परीक्षणका लागि सुविधा दिने विषयमा पनि म केन्द्रीत छु ।

अल्फान्सोः मेरो हजुरबा र मेरो हजुरआमा मेक्सिकोबाट आउनुभएको थियो । उहाँहरु घरेलु कामदारका रुपमा काम गर्नुभएको थियो । मेरो हजुरबालाई दुईवटा अँग्रेजी शब्दमात्र थाहा थियो, कफी र डोनट । भाषाको महत्व मलाई यो कुराबाट पनि थाहा छ । हामीले घरेलु कामदारलाई संरक्षण गर्नुपर्छ । घरेलु कामदारको संरक्षण र सुविधामा मेरो जोड रहेको छ । हेल्थकेयर, सुरक्षा र निवृत्तिभरणका सुविधा दिनेबारे मेरो प्राथमिकता हुनेछ । अहिले सरकारबाट उपलब्ध सुविधाहरु सिटीमा गएर लिनुपर्छ भन्ने मान्यता छ तर अहिले समुदाय भएकै स्थानमा सुविधा पुर्याउनेमा मेरो जोड हुनेछ ।

२, न्युयोर्कमा नेल शैलुनमा काम गर्ने नेपाली भाषीहरु उल्लेख्य छन् । १३ सय नेल शैलुन कामदार अधिकारमा आवद्ध छन् । नेल शैलुनमा काम गर्नेहरुको त्यहाँ प्रयोग हुने रसायन लगायतका कारण स्वास्थ्य जोखिममा रहेका छन् । उनीहरुको स्वास्थ्य संरक्षणका सन्दर्भमा के योजना छ ?

अल्फान्सोः नेल शैलुनमा पस्दा म लामो स्वास फेरेरमात्र जाने गर्थें । रसायनहरुको गन्ध आउने भएकाले पनि होसियारीपूर्वक जाने गर्थें । म त्यहाँ दिनभर काम गर्नेहरुले कसरी रसायनको गन्ध लिएर काम गरिरहेका छन् भन्ने कल्पना पनि गर्न सक्दैनथें । रसायनले फोक्सोमा असर गर्ने भएकाले नेल शैलुनमा उपयुक्त भेन्टिलेशन आवश्यक हुन्छ ।

क्यारोलिन ट्रान

क्यारोलिनः यो विषय मेरालागि व्यक्तिगतरुपमा पनि जरुरी छ । मेरो आमाले पनि नेल शैलुनमा काम गर्नुभएको हो । कामदारहरुको स्वास्थ्यको कसरी हेरविचार गर्ने भन्नेबारे मैले पहिले पनि काम गरेको थिएँ । त्यस्तैले नेल शैलुनमा काम गर्नेहरुको उचित स्वास्थ्यका मापदण्डबारेक कानून आवश्यक छ । कामदारलाई राम्रो अवस्थामा काम गराउने कानूनहरु पारित हुनुपर्छ । कतिपय नेल शैलुन परिवारले चलाएका कारण परिवारकै हितमा काम गर्नुपर्छ । कोअपको व्यवस्था मिलाउने, सामुहिक रुपमा समुदायलाई अगाडि बढाउने कानूनहरु बनाउन जरुरी छ ।

यन्डी : ५ बर्ष अगाडि मैले पनि नेल शैलुनमा भेन्टिलेशन प्रणालीका सन्दर्भमा कामदारहरुसँग काम गरेको थिएँ । हानिकारक रसायनहरुलाई बाहिर निकाल्नेभन्नेबारे काम गरेका थियौं । संचालकहरुलाई भेन्टिलेशन सिस्टम किन आवश्यक छ भन्नेबारे बुझाउनुपर्छ । कामदारलाई न्यूनतम ज्याला पाउने सन्दर्भमा पनि काम गर्नुपर्छ । भाषाको समस्याका कारण नयाँ नयाँ नीति नियम र त्यसको पालनाबारे संचालकहरुलाई थाहा नहुनसक्छ, यसबारे उनीहरुलाई जानकारी दिनुपर्छ ।

शेखर : नेल्समा काम गर्नेहरुलाई पनि अरु क्षेत्रमा काम गर्नेहरुलाई जस्तै संरक्षण चाहिन्छ । यो आधारभूत मानव अधिकारको कुरा हो । नेल शैलुनमा काम गर्नेहरु कम ज्यालामा काम गरिरहेका छन् । संरक्षणको पहुच छैन । आधारभूत सुविधाको पनि पहुच छैन । महामारीपछि स्वास्थ्य सुरक्षाको विषय अझ महत्वको विषय भएको छ । कामदारको भाषामा अधिकार र सुविधाबारे जानकारी हुन आवश्यक छ । साना व्यवसायहरुलाई पनि आफ्नो अधिकारका विषयमा थाहा हुनुपर्छ । उनीहरुलाई आफ्नै भाषामा अधिकारबारे जानकारी हुनुपर्छ । सिटीमा कामदारलाई अगाडि नबढाएसम्म हामी अगाडि बढ्न सक्दैनौं, नेल शैलुनमा काम गर्ने कामदारहरु पनि त्यसमा पर्नुहुन्छ ।

फतिमा बर्याब

फतिमा : म आफैमा पनि बायोलोजीको विद्यार्थी भएकाले नेल शैलुनमा प्रयोग हुने रसायनहरु स्वास्थ्यका लागि कति हानिकारक छन् भन्ने मलाई थाहा छ । कुनै कुनै रसायनहरुले क्यान्सर जस्तो रोग लाग्ने र शरीरमा लामो समयसम्म हानी गर्ने खतरा हुन्छ । हामीले ल्याबमा काम गर्दा पनि भेन्टिलेशनका सन्दर्भमा काम गरेका थियौं । तर यो साना व्यवसायका लागि निकै महँगो हुन्छ । त्यसैले हामीले सिटीमा नै प्रणाली राख्न आवश्यक छ । कसरी संचालक, ग्राहक र कामदारको स्वास्थ्य संरक्षणका लागि प्रणाली राख्न आवश्यक छ ।

३, सरकारबाट उपलब्ध हुने कानूनी सुविधाहरु अँग्रजी भाषामा छन् । सिटीका कैयन हटलाइन सुविधा नेपाली भाषामा छैन । भाषिक न्याय र नेपाली भाषाका लागि कस्तो सुविधाको पहल गर्नुहुनेछ ?

यन्डी : डिस्ट्रिक्ट २५ मा १९४ भाषा बोलिन्छ । हामीलाई आवश्यक पर्ने कुराहरु ती भाषाहरुमा अनुवाद गर्न आवश्यक छ । महामारीका बेलामा भाषाका कारणले कैयनले सुविधा पाउन सकेनन् । त्यसैले भाषालाई कसरी प्राथमिकता दिने भन्ने सन्दर्भका कानूनहरुमा काम गर्नुपर्छ । महामारीका बेलामा ज्यान गुमाएकाहरुको दाहसंस्कारमा खर्च भएको रकम सरकारले दिने सन्दर्भमा भाषाको समस्या हुनेहरुलाई सहयोग गरेका थियौं । सम्बन्धित भाषा बोल्ने समुदायका लागि काम गर्न सोही भाषा बोल्ने समुदायबाटै काममा राख्न आवश्यक हुन्छ ।

अल्फान्सो क्वीरोज

अल्फोन्सो : अहिले सिटीबाट उपलब्ध सुविधाका बारेमा ध्यान पुगेको छैन । सबै भाषामा सुविधा उपलब्ध गराउनका लागि मान्छेहरु राख्नुपर्छ । तर त्यसका अतिरिक्त मोबाइल भ्यानहरु मार्फत ठाउँठाउँमा गएर सुविधा दिनुपर्छ । फोन सुविधाका साथसाथै समुदाय भएकै स्थानमा गएर उनीहरुकै भाषामा सुविधा दिनु अझ उपयुक्त हुनेछ ।

क्यारोलिन : भाषिक न्याय मेरो प्राथमिकतामा पर्ने विषय हो । भाषिक न्याय अनुवादको कुरामात्र होइन, भाषिक न्याय भन्नाले समुदायका सदस्यहरुले सरकारका सेवा, प्राप्त अधिकार र कानूनका विषयमा कसरी बुझ्ने भन्ने विषय पर्छ । सरकारले प्रयोग गर्ने भाषा समुदायका सदस्यहरुले बुझ्न नसक्ने र जटिल खालको हुनेगर्छ । समुदायलाई सरकारी सुविधासँग जोड्नेबारे धेरै काम गर्नुपर्छ । नेपाली समुदायभित्र पनि कैयन भाषाहरु छन् । नेपाली समुदायभित्र नेपालीमात्र होइन, अरु भाषा पनि छ भन्ने कुरा स्थानीय सरकारले बुझ्न आवश्यक छ । समुदायलाई जोडेर भाषिक न्यायको सन्दर्भमा काम गर्ने मेरो रुची छ ।

शेखर : भाषिक न्याय भनेको सबथोक हो । कानून कागजमा जे जे लेखेको भएपनि समुदायले बुझ्न सकेन भने त्यसको अर्थ हुँदैन । कागजमा जति अधिकार दिइएपनि त्यसलाई समुदायले आफ्नो भाषामा उचित तरिकाले बुझ्न सकेन भने त्यसको कुनै अर्थ छैन । सरकारका प्रणालीमा नेपाली लगायतका भाषाहरु उपलब्ध छैनन् । सिटीका हटलाइनहरुमा अनुवाद वा दोभाषेको कुरामात्र नभई फिल्डमा भाषाका सन्दर्भमा काम गरिरहेका संस्थाहरुलाई जोड्नुपर्छ । मेरो बुबाआमा पनि भाषाको समस्याका कारण धेरै सुविधाबारे जानकारी पाउन सक्नुभएको थिएन, त्यसैले आप्रवासी समुदायका लागि कति महत्वपूर्ण छ भन्ने मलाई थाहा छ ।

फतिमाः भाषिक न्यायको विषय मेरा लागि र मेरो अभियानका लागि निकै महत्वपूर्ण रहेको छ । सिटीको ३११ हटलाइन सेवा अँग्रेजी बोल्न जान्नेलाई पनि कति गाह्रो छ भन्ने मलाई अनुभव छ । अँग्रेजी नजान्नेहरुलाई कति गाह्रो हुन्छ भन्ने सोंच्न सकिन्न । त्यसैले भाषाको जहिले पनि सही प्रतिनिधित्व हुनुपर्छ ।

४ , टीपीएसवाहक लगायत जुनसुकै अध्यागमन स्टाटस भएकाहरुलाई पनि सिटीका साधनश्रोतमा पहुच कायम गराउन कस्ता योजनाहरु छन् ?

फतिमा : टीपीएसको विषय निकै महत्वपूर्ण छ । नेपालमा भूकम्प गएपछि मैले यो सन्दर्भमा आवाज उठाउने काम गरें । सुखी न्युयोर्कसँग मिलेर हामीले झण्डै १ लाख डलर डोनेशन पनि संकलन गरेका थियौं । सांसद ग्रेस मिंगबाट पनि त्यसबारे मलाई प्रमाणपत्र दिइएको थियो । टीपीएसवाहकको सुरक्षा महत्वपूर्ण रहेको छ । उहाँहरुलाई टीपीएसबाट नागरिकताको बाटोमा लैजाने सन्दर्भमा काम गर्नुपर्छ । जुन सुकै अध्यागमन स्टाटसमा हुनेहरुले पनि विना विभेद सुविधा र संरक्षण पाउन आवश्यक छ ।

शेखर : न्युयोर्क सिटी जे हो, त्यो हाम्रो आप्रवासी समुदायले बनाएको हो । तर हाम्रो आप्रवासी समुदायले हरेक दिने विभेद, कठिनायी र संघर्षको सामना गर्नुपरेको छ । कामदार बर्गमा हुँदाको संघर्ष एकातिर छ भने अर्कोतिर आप्रवासनका सन्दर्भमा संघर्ष गर्नुपरेको छ । टीपीएसवाहक र अन्य कागजपत्रविहिनलाई न्युयोर्क सिटीमा सुरक्षित हुन र राम्रो जीवनयापनका लागि कानून बनाउन आवश्यक छ । कागजपत्रविहिनलाई बेरोजगारी बिमा, निशुल्क कानूनी सुविधा लगायतका विषय समेटेर काम गर्ने मेरो योजना छ । विभिन्न अधयागमन स्टाटसका बाबजुत नेपाली समुदायले सिटीमा फ्रन्टलाइनर र अत्यावश्यक कामदारका रुपमा काम गरेका छन् । त्यसैले टीपीएसमा हुने र कागजपत्रविहिनका लागि विशेष कार्यक्रम ल्याउनेमा मेरो जोड हुनेछ ।

अल्फान्सो : बर्षौसम्म पनि आप्रवासीले पाउने समानता र न्याय उपलब्ध छैन । मैले आप्रवासीले पाउने हरेक अधिकारका पक्षमा लड्न तयार छु । सबै आप्रवासीहरुलाई मताधिकार पनि हुनुपर्छ । सबै आप्रवासीलाई सम्मान गर्ने दायीत्व पूरा गर्नुपर्छ । आप्रवासी समुदायलाई सुरक्षित गर्नु हामी सबैको जिम्मेबारी हो ।

यन्डी चेन

यन्डी : अमेरिकामा नेपाली समुदाय सन् १९९० देखि नै बढिरहेको छ । डाइभर्सिटी भिसा कार्यक्रमबाट पनि ठूलो संख्यामा नेपालीहरु आउने गरेका छन् । ज्याक्सनहाइटमा बस्ने एकजना नेपाली अध्यागमन अवस्थाका कारण एयरपोर्टमा विमान चढ्नका लागि जान नपाएका कारण मैले फोनकल प्राप्त गरेको थिएँ । यस्ता समस्याहरु दैनिकरुपमा भोग्नुपरेको छ । नेपाली लगायतका आप्रवासी समुदायहरु आएर यो सिटीलाई राम्रो बनाउनुभएको हो । त्यसैले यो विषय मलाई निकै महत्वपूर्ण लाग्छ ।

क्यारोलिन : कसैले पनि आफ्नो अध्यागमन अवस्थाका आधारमा सिटी र राज्यका सेवाबाट वञ्चित भएको अनुभव गर्ने अवस्था हुनुहुँदैन । हामीले न्युयोर्क प्रहरीसँग इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसको कुनै पनि प्रकारको सहकार्य अन्त्य गर्नुपर्छ । हाम्रो समुदायका कुनै पनि सदस्यहरुलाई कुनै सुविधा लिने क्रममा देशनिकालाको जोखिम भएको अनुभव हुनुहुँदैन । सबै आप्रवासीलाई मतदानको अधिकार पनि हुनुपर्छ । हाम्रा घरेलु कामदारहरु र अग्रमोर्चामा काम गर्नेहरु संरक्षित रहेको निश्चित हुनुपर्छ । समुदायका सदस्यहरुले विना त्रास स्थानीय सरकारका सुविधा प्राप्त गर्न आइस र न्युयोर्क प्रहरीबीचको कुनै पनि प्रकारको सम्बन्ध बन्द गर्नुपर्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com