अब ग्रिनकार्ड आवेदन पेन्डिङ हुनेलाई २ बर्षको वर्क परमिट


प्रकाशित मिति : जेष्ठ २६, २०७८ बुधबार

अब अमेरिकी सरकारको युएससीआईएसले ग्रिनकार्ड आवेदन पेन्डिङ हुनेलाई २ बर्षको म्यादसहितको वर्क परमिट जारी गर्ने भएको छ । अहिलेसम्म ग्रिनकार्ड आवेदन पेन्डिङ हुनेलाई १ बर्षको म्याद भएको वर्क परमिट जारी गरिदै आएको थियो भने त्यसपछि म्याद थप्न परेमा आवेदकले आवेदन दिनुपर्ने प्रावधान रहेको थियो ।

यसबारेमा आज युएससीआईएसले नयाँ नीति जारी गरेको छ । अध्यागमन तथा राष्ट्रियता ऐनको सेक्सन २४५ अनुशार स्टाटस एडजस्ट अर्थात् ग्रिनकार्ड आवेदन दिनेहरुका सन्दर्भमा वर्क परमिटको म्याद बढाइने भएको हो । अमेरिकामा ग्रिनकार्ड आवेदन दिइसकेपछि वा दिने बेलामा उक्त आवेदनको निर्णय प्रतिक्षा गर्दाको अवधिसम्मका लागि वर्क परमिटको आवेदन दिनसकिने प्रावधान रहेको छ ।

नयाँ नीतिबारे विस्तारमा यहाँ पढ्नसक्नुुहुनेछ ।

युएससीआईएस र आवेदक दुबैको भार कम गर्न र सहजताका लागि नयाँ नीति ल्याइएको युएससीआईएसले जनाएको छ । अहिले अमेरिकामा ग्रिनकार्ड आवेदनबारे निर्णय गर्नका लागि औषतमा एकबर्ष वा त्योभन्दा बढी समय लाग्ने गरेपछि वर्क परमिटको म्याद बढाइएको हो ।

अबदेखि युएससीआईएसले सुरुमा वर्क परमिट जारी गर्दा २ बर्षको गर्नेछ भने त्यसपछि नविकरण गर्दा पनि २ बर्षको वर्क परमिट जारी गर्नेछ । वर्क परमिट हराएमा वा नष्ट भएमा त्यसको सट्टामा वर्क परमिट अनुरोध गर्दा भने यो नीतिले प्रभाव पार्नेछैन । पुरानो मितिको वर्क परमिटको म्याद जति थियो, त्यही म्यादको वर्क परमिट जारी हुनेछ ।

वर्क परमिटको नविकरण सामान्यतया अधिकांश श्रेणीको लागि निशुल्क हुनेगर्छ । आर्थिक बर्ष २०२० मा ग्रिनकार्ड आवेदन पेन्डिङ रहेको अवस्थामा वर्क परमिटका लागि झण्डै ३ लाख ७० हजार आवेदन परेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com