नेपालीको टीपीएसको कागजातको अवधि जम्मा ४ महिनामात्र, बाइडेन प्रशासन मौन


प्रकाशित मिति : जेष्ठ २१, २०७८ शुक्रबार

अमेरिकामा टीपीएसमा रहेका नेपालीहरुको कागजातको अवधि अब ४ महिनामात्र बाँकी रहेको छ । नेपाली टीपीएसवाहकका कागजातहरुको अवधि आगामी अक्टोबर ४ मा समाप्त हुँदैछ । जम्मा ४ महिनामात्र बाँकी रहँदा नेपाल लगायतको टीपीएसको अवधि थपका विषयमा बाइडेन प्रशासनबाट कुनै कदम नचालिंदा टीपीएसवाहकहरु अन्यौलमा परेका छन् ।

यसअगाडि एकमहिनाभन्दा पनि कम अवधि बाँकी रहँदा गत डिसेम्बरमा नेपाली लगायतको टीपीएसको अवधि ९ महिना थप गरिएको थियो । जनवरी ४ मा टीपीएसको कागजातको अवधि समाप्त हुन लागेकोमा डिसेम्बर ९ मा फेडरल रजिष्टरमा सुचना प्रकाशित गरेर कागजातको अपधि थप गरिएको थियो ।

अमेरिकी अदालतमा रहेका विभिन्न मुद्दाका आदेशहरुको कार्यान्वयनका क्रममा टीपीएसका कागजातको अवधि थपिएको थियो । वर्क परमिट, टीपीएस नोटिस अफ एक्सन आई ७९७ र आई ९४ को अवधि स्वत थपिएको थियो । बाइडेन प्रशासनले नेपाली लगायतको टीपीएसका सन्दर्भमा कहिले कदम चाल्ने भन्ने अझै स्पष्ट छैन ।

फोटो: अधिकार

नेपाल लगायतको टीपीसीको अवधि थप्न र केही देशलाई टीपीएसको दर्जा प्रदान गर्न आग्रह गर्दै गत सातामात्र ५६ जना अमेरिकी सांसदले राष्ट्रपति जो बाइडेन र डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी अलेहान्द्रो मेयरकासलाई पत्र लेखेका थिए । सिनेटर बेन कार्डिन, सिनेटेर क्रिस भ्यान होल्यान र प्रतिनिधिसभा सदस्य निदिया भेलास्काजको नेतृत्वमा पत्र पठाइएको थियो ।

पत्रमा कोरी बुकर, बर्नी स्याण्डर्स, एमी क्लोबुचार, एलिजाबेथ वारेन लगायत अरु १५ जना सिनेटरहरुले हस्ताक्षर गरेका थिए । प्रकोप वा हिंशाका कारण मातृभूमिमा असुरक्षित भएकाहरुलाई टीपीएस सुविधा दिन बाइडेन प्रशासन प्रतिबद्ध रहेकोमा धन्यवाद दिंदै नेपाल लगायत १७ देशलाई टीपीएसमा दर्ज गर्न वा पुन दर्ज गर्न आग्रह गरिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com