न्युयोर्क लगायतका अध्यागमन अदालतमा एसाइलम सुनुवाई जुलाई ६ बाट


प्रकाशित मिति : जेष्ठ ३, २०७८ सोमबार

न्युयोर्क लगायतका अध्यागमन अदालतमा जुलाई ६ बाट हिराशतमा नरहेकाहरुको पनि सुनुवाई सुचारु हुने भएको छ । एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले  एक सुचना जारी गरेर जुलाई ६ बाट हिराशतमा नरहेकाहरुको पनि सुनुवाई सुचारु गर्ने जनाएको हो ।

न्युयोर्कको ब्रोडवे, भेरिक स्ट्रीट र फेडरल प्लाजामा रहेका अध्यामगन अदालतहरुमा हिराशतमा नरहेकाहरुको सुनुवाईका जुलाई ६ बाट सुरु हुने जनाइएको छ । त्यस्तै डलास, एल पासो, ह्युस्टन, कन्सासमा पनि जुलाई ६ बाट सुनुवाई सुचारु हुने भएको छ ।

जुलाई ६ देखि जुलाई ३० सम्म पहिले नै सुनुवाई तय भएका तर जुन २२ सम्म सुनुवाईको नयाँ मिति तय भएको सुचना नपाएकाहरुले पहिले नै तोकिएको मितिमा अदालतमा उपस्थीत हुन एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले सुचित गरेको छ । जुलाई ३० पछिको सुनुवाई तय भएकाहरुले अध्यागमन अदालतको सुचनाहरु हेर्दै गर्न भनिएको छ ।

केसबारे कुनै प्रश्नभएको सम्बन्धित पक्षले सम्बन्धित अध्यागमन अदालतमा सम्पर्क गरेर समेत थप जानकारी प्राप्त गर्न सक्नेछन् । अदालतमा सम्पर्क गर्नुको अलावा कानूनी प्रतिनिधि वा सम्बन्धित पक्षले अध्यागमन अदालतको अनलाइन रिसोर्समा पनि हेर्न सक्नेछन् । जुलाई ६ बाट खुल्ने तय भएका अध्यागमन अदालतहरुमा इमेलबाट मुद्दा फाइल गर्ने सुविधा आगामी सेप्टेम्बर ४ बाट अन्त्य हुनेछ । उक्त मितिपछि पठाइएका इमेलहरु स्वीकार नगरिने एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले जनाएको छ ।

अध्यागमन अदालतले सुनुवाईको मिति परिवर्तन भएको खण्डमा सम्बन्धित पक्षलाई सुचित गर्ने भएकाले उक्त सुचनाको प्रतिक्षा गर्न सुझाव दिइएको छ । आफ्नो केसबारे अटोमेटेड हटलाइनमा फोन गरेर पनि जानकारी प्राप्त गर्न सकिन्छ ।

कुन कुन अदालतहरुमा हिराशतमा नरहेकाहरुको सुनुवाई सुचारु भएको छ ? कुन कुन अदालतमा हिराशतमा रहेकाहरुकोमात्र सुनुवाई संचालनमा छ ? थाहा पाउन यहाँ क्लीक गर्नुहोला ।

न्युयोर्कका अध्यागमन अदालतमा गतबर्षदेखि नै सुनुवाईहरु स्थगित हुँदा सयौं नेपालीहरु प्रभावित थिए । बर्षौदेखि एसाइलमका मुद्दाको सुनुवाई कुरेर बसेका र परिवारसँग पुनर्मिलनको प्रतिक्षामा बसेका नेपालीहरु अदालत बन्द भएका कारण सुनुवाई पछाडि सर्दा मारमा परेका हुन् । कोरोनाको महामारी सुरु भएदेखि नै गतबर्षको मार्चदेखि अध्यागमन अदालतहरु प्रभावित हुँदै आएका छन् ।

अमेरिकाका अध्यागमन अदालतहरुमा नेपालीहरुका ३ हजार ९ सय ७९ एसाइलम केसहरु पेन्डिङ रहेका छन् । पेन्डिङ केसहरुमध्ये २१ सय २६ नेपालीका केसहरु न्युयोर्कका अदालतमा रहेका छन् । न्युयोर्कको फेडरल प्लाजामा १७७२ जना नेपालीका केसहरु पेन्डिङ रहेका छन् । त्यस्तै न्युयोर्कको ब्रोडवेमा २२१ जना नेपालीका केसहरु पेन्डिङ रहेका छन् । भेरिक स्ट्रीटमा १२३ जना नेपालीका केस पेन्डिङ छन् ।

क्यालिफोर्नियामा १०७३ जना नेपालीका केसहरु पेन्डिङ रहेका छन् । टेक्सासमा ३४७ र मासाचुसेट्समा १०७ जना नेपालीका एसाइलम केसहरु पेन्डिङ रहेका छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com