मालीकी २५ बर्षकी महिलाले जन्माइन् एकैपटकमा ९ बच्चा


प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार

मालीकी एकजना २५ बर्षकी महिलाले एकैपटक ९ वटा बच्चा जन्माएकी छिन् । डाक्टरहरुले स्क्यानका क्रममा उनको पेटमा ७ वटामात्र बच्चाहरु भएको पत्ता लगाएपनि त्योभन्दा दुईवटा बढी अर्थात् ९ वटा बच्चा जन्मिएका छन् ।

हालिमा सिसे नामकी ती महिलाले मोरक्कोमा बच्चाहरु जन्माएकी हुन् । मालीको सरकारले विशेष हेरचाहका लागि उनलाई मोरक्कोको अस्पतालमा लगेको थियो ।

उनका पतिले आफू निकै खुशी भएको बीबीसीलाई बताएका छन् । सबै बच्चाहरु सकुशल रहेको पनि उनले जानकारी दिएका छन् । ९ बच्चाहरुमा ५ जना छोरी र ४ जना छोरा रहेका छन् ।

मालीका स्वास्थ्यमन्त्री फान्टा सिबीले माली र मोरक्कोको स्वास्थ्य टिमलाई समेत बधाई दिएकी छिन् । सकुशल बच्चाहरु जन्माउन सहयोग गरेकोमा स्वास्थ्यमन्त्रीले बधाई तथा धन्यवाद दिएकी हुन् ।

दुई साता मोरक्कोको राजधानीमा रहेको अस्पतालमा राखेपछि आमालाई मार्च ३० मा मोरक्को लगिएको थियो । मोरक्कोको क्लीनिकमा ५ साता राखेपछि मंगलबार बच्चा जन्मिएका थिए । आमा र उनका ९ बच्चा केहीदिनमा नै मोरक्को फर्कने भएका छन् ।

विगतमा सन् २००९ मा अमेरिकामा एकजना महिलाले ८ वटा बच्चा जन्माएर गिनिज बुकमा नाम दर्ता गराएकी थिइन् । एकैपटक सबैभन्दा धेरै बच्चा जन्माएको र सबैजना बाँचेकोमा उक्त रेकर्ड दर्ता गरिएको थियो ।

विगतमा ९ वटा बच्चा जन्माएका दुईवटा रेकर्डहरु भएपनि कुनै पनि बच्चाहरु केहीदिन भन्दा धेरै बाँचेनन् । सन् १९७१ मा अष्ट्रेलियामा र सन् १९९९ मा मलेसियामा एकैपटकमा ९ वटा बच्चा जन्मिएका थिए ।

सन् २००९ मा ८ वटा बच्चा जन्माउने नाद्या सुलेमानका सबै बच्चाहरु हुर्किसकेका छन् । उनीहरु अहिले १२ बर्षका भइसकेका छन् ।

नोट: समाचारमा प्रयोग भएको तस्वीर सांकेतिक हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com