न्युयोर्कमा नेपाली चालक कुटिएको घटनाबारे न्युयोर्क प्रहरीको यस्तो प्रतिकृया


प्रकाशित मिति : चैत्र ६, २०७७ शुक्रबार

न्युयोर्कमा मंगलबार राती नेपाली लिफ्ट चालक आशिष सापकोटामाथि आक्रमणको घटनाबारे न्युयोर्क प्रहरीले प्रतिकृया दिएको छ । प्रवक्ता सर्जेन्ट जेसिका म्याकरोरीले घटनाबारे अनुसन्धान भइरहेको र अहिलेसम्म कसैलाई पनि पक्राउ नगरिएको खसोखासलाई जानकारी दिएकी छिन् ।

मंगलबार बेलुका ६ बजेर ४० मिनेटजाँदा न्युयोर्क प्रहरीको १०२ औं प्रिसिंक्टभित्र पर्ने क्वीन्सको भ्यानवीक एक्सप्रेसवे र हिलसाइड एभिन्युको दक्षिणपश्चिम कुनामा डकैती भएको रिपोर्ट फाइलमा रहेको उनले जानकारी दिइन् । ३० बर्षका चालकले आफूले गाडी चलाइरहेको बेला एकजना यात्रुले आफूलाई टाउकोको दाया भागमा दुईपटकसम्म मुक्काले हिर्काएको बयान दिएको प्रहरीले जानकारी दिएको छ ।

यात्रुले बलजफ्ती मोबाइल खोसेको बयान चालकले दिएको प्रहरी प्रवक्ताको भनाई छ । त्यसपछि संदिग्धले चालकलाई हाइवेको छेउसम्म गाडी चलाएर लगेमामात्र मोबाइल फिर्ता दिने बताएको तथा पीडित चालकले उसले भने अनुशार गरेपछि मोबाइल फिर्ता दिएको प्रहरीले जानकारी दिएको छ ।

यसैबीच सापकोटामाथि भएको आक्रमणको सिनेटरदेखि ब्रुकलिन बोरो प्रेसिडेण्टसम्मले निन्दा गरेका छन् । सापकोटामाथि न्युयोर्कको क्वीनमा एकजना पुरुष यात्रुबाट आक्रमण भएको थियो ।

न्युयोर्क राज्यको १२ औं सिनेट डिस्ट्रिक्टबाट राज्यको सिनेटमा प्रतिनिधित्व गर्ने माइक जानारिसले सापकोटामाथि आक्रमणको भिडियो ट्वीट गर्दै आप्रवासी र कामगर्ने बर्गहरुमाथि भइरहेको आक्रमणको श्रृंखला रोकिनुपर्ने बताएका छन् । उनले दोषीमाथि कारवाही हुनुपर्ने समेत माग गरेका छन् । सिनेटर माइक न्युयोर्क राज्यको सिनेटमा डेपुटी मेजोरिटी लिडर समेत हुन् ।

त्यस्तै न्युयोर्क ब्रुकलिन बोरो प्रेसिडेण्ट तथा मेयरका उम्मेदबार एरिक आडम्सले पनि सापकोटामाथि भएको आक्रमणको निन्दा गरेका छन् । उनले नेपाली लिफ्ट चालक आशिष सापकोटामाथि आक्रमणको भिडियोबाट आफूलाई गहिरो चिन्ता लागेको बताएका छन् । उनले घटनाको निन्दा गर्दै पूर्णरुपमा अनुसन्धानका लागि न्युयोर्क प्रहरीको ध्यानाकर्षण गराएका छन् ।

न्युयोर्कको एल्महस्र्ट निवासी सापकोटामाथि मास्क नलगाएका यात्रुबाट आक्रमण भएको थियो ।

दुईजना यात्रुलाई पिकअप गरेर क्वीन्सको जमैकातर्फ जाँदै गर्दा बेलुका ७ बजेर ३९ मिनेट जाँदा आफूमाथि आक्रमण भएको सापकोटाले जानकारी दिएका छन् । एकजना पुरुष र एकजना महिला गाडीमा बसेपछि एकआपसमा झगडा गर्न लागेको र पुरुषले महिलालाई कुटपिट गर्न थालेपछि आफूले असुरक्षित महसुस गरेर गाडी रोकेको सापकोटाले बताए ।

आफूले उनीहरुलाई झगडा नगर्न अनुरोध गर्दै गन्तब्यमा पुर्याइदिने बताएपनि उनीहरु कुटपिट नै गर्न थालेपछि आफूले गाडी रोकेको सापकोटाको भनाई छ । त्यसपछि पुरुष यात्रुले फोन खोसेको तथा मुख र कानमा समेत हानेको सापकोटाले बताए ।

त्यसपछि नजिकैको लिक्वेर स्टोरनेर गाडी रोकेपछि उनीहरु गाडीबाट झरेका थिए भने सापकोटाले ९११ मा प्रहरीलाई फोन गरेका थिए । त्यसपछि एम्बुलेन्समार्फत सापकोटालाई जमैका अस्पताल लगिएको थियो । राती अस्पतालमै राखेर उपचार गरिएपछि उनलाई बुधबार विहान डिस्चार्ज गरिएको छ ।

आफ्नो कानमा असर गरेको र सुन्नमा समेत समस्या भइरहेको सापकोटाले जानकारी दिएका छन् । नेपालको बाग्लुङ स्थायी घर भएका सापकोटाले एकमहिनादेखि लिफ्ट चलाउँदै आएका थिए ।

क्यालिफोर्नियामा नेपाली उबर चालकमाथि आक्रमण भएको घटना सेलाउन नपाउँदै यो घटना भएको हो । एसियनमाथि घृणा र हिंशाका घटना बढिरहँदा न्युयोर्कको क्वीन्समा नेपाली उबर चालक कुटिएका हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com