कैलालीमा साइनबोर्ड राख्ने विषयमा ओली र माधव समूहका कार्यकर्ताबीच झडप


प्रकाशित मिति : फाल्गुन २६, २०७७ बुधबार

कैलालीमा नेकपा एमालेको माधव नेपाल समूह र केपी ओली समूहका कार्यकर्ताबीच झडप भएको छ ।

कैलालीको धनगढीस्थित पार्टीको सुदूरपश्चिम प्रदेश कार्यालयमा नेकपा एमालेको साइनबोर्ड राख्ने विषयमा ओली र माधव समूहका कार्यकर्ताबीच झडपको अवस्था आएको हो ।

बुधबार बिहान प्रदेश कार्यालयमा नेपाल समूहले नेकपा एमाले लेखिएको बोर्ड राख्यो । तर, केही समयपछि प्रधानमन्त्री ओली समूहका कार्यकर्ताले उक्त बोर्ड हटाए ।

उक्त बोर्ड हटाउँदै ओली समूहका कार्यकर्ताले आफ्नो बोर्ड राख्न थालेपछि झडप भएको हो ।

माधव समूहको बोर्ड हटाएर ओली समूहले राखेको बोर्डमा पनि नेकपा एमाले नै लेखिएको छ ।

तर, प्रतिशोध साँध्ने हिसाबमा बोर्ड ओली समूहले हटाएको माधव समूहका नेताको आरोप छ ।

दुवै पक्षबीच झडपको अवस्था आएपछि अहिले सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ ।

प्रहरी नायब उपरीक्षकको नेतृत्वमा प्रहरी परिचालन भएको छ भने सशस्त्र प्रहरीको उपस्थिति रहेको छ ।

यही क्रममा सुदूरपश्चिममा पनि मंगलबार बिहान धनगढीमा एमालेको बोर्ड राखिएको हो । तर, उक्त बोर्ड माधव समूहले राखेको भन्दै स्वीकार गर्न नसकिने ओली समूहको तर्क छ ।

सर्वोच्च अदालतको आइतबारको फैसलाले नेकपा एमाले र नेकपा माओवादी ब्युँताइदिएपछि दुई फरक-फरक पार्टी बनेका छन् ।

दुई फरक–फरक पार्टी बनेसँगै केन्द्रदेखि जिल्ला र प्रदेशमा बोर्ड राख्ने र कार्यालय स्थापना गर्ने क्रम चलिरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com