अमेरिकामा ९ प्रकारका अध्यागमन ठगी, आफू पनि बचौं, अरुलाई पनि बचाऔं !


प्रकाशित मिति : माघ २२, २०८० सोमबार

अमेरिकी सरकारले अध्यागमनबारेका नियमहरु फेरबदल गरिरहँदा ठगहरुले त्यसैको दुरुपयोग गरेर आप्रवासीहरुलाई ठग्ने क्रम पनि तीब्र बनेको छ । यस्ता ठगहरुको पछि लाग्दा कतिपयले ठूलो रकम गुमाउने गरेका छन् भने कतिपयले देशनिकालाको सामना समेत गर्नु परेको छ ।

अमेरिकी सरकारको युएससीआईएसले यस्ता ठगहरुबाट जोगिनका लागि चेतावनी नै जारी गरेको छ । किनभने ठगको पछि लागेर गलत कदम चाल्दा वा गलत सुझावका कारण गलत अध्यागमन कागजातहरु तयार गर्दा देशनिकालाको समेत सामना गर्नुपर्ने हुनसक्छ ।

डिभी लोटरी

डिभी लोटरीका सन्दर्भमा विभिन्न भ्रमहरु फैलाएर ठगहरुले धेरै व्यक्तिलाई शिकार बनाउने गर्छन् । डिभी लोटरी निशुल्क भएपनि डिभी पारिदिने प्रलोभन देखाएर रकम असुल्ने, डिभी परेको ठग इमेल पठाएर रकम माग्ने, व्यक्तिगत विवरणहरु मागेर दुरुपयोग गर्ने जस्ता उपायहरु ठगहरुले अपनाउँदै आएका छन् ।

डिभी लोटरी निशुल्क हो, भर्दा कुनै रकम लाग्दैन । कसैले रकम लिएर कसैलाई डिभी पार्न सक्दैन । डिभी लोटरी परेकोबारे अमेरिकी सरकारले कुनै इमेल पठाउँदैन ।  अमेरिकी सरकारको एकमात्र आधिकारिक वेवसाइटमार्फत डिभी लोटरीबारे विवरण प्राप्त गर्न सकिन्छ ।

फोनबाट रकम माग

कतिपय आप्रवासीहरुलाई ठगहरुले अध्यागमन प्रकृयाका लागि भन्दै फोन वा विद्युतीय माध्यमबाट रकम माग्ने गर्छन् । अमेरिकी सरकारको युएससीआईएसले फोन, पेपल, वेष्टर्न युनियनमार्फत रकम स्वीकार गर्दैन ।

युएससीआईएसले निश्चित प्रकारका फर्महरुका लागिमात्र क्रेडिट कार्डबाट रकम स्वीकार गर्छ । तर त्यो युएससीआईएसको आधिकारिक वेवसाइटमार्फत वा आधिकारिक ठेगानामा पठाएरमात्र तिर्न सकिन्छ । माई युएससीआईएस पोर्टलमा एकाउन्ट बनाएरमात्र युएससीआईएसलाई शुल्क तिर्न सकिन्छ । अन्यथा प्रामाणिक चेक र मनी अर्डर ठेगानामा पठाएरमात्र युएससीआईएसलाई रकम तिर्न सकिन्छ ।

टीपीएस दर्ता

टीपीएस दर्ताका नाममा पनि ठगहरुले आप्रवासीहरुलाई ठग्ने गरेका छन् ।  टीपीएस दर्ता वा पुनदर्ता गराउने नाममा कसैले रकम मागेमा वा प्रलोभन देखाएमा त्यस्ता ठगहरुबाट जोगिन जरुरी छ  टीपीएस आवेदकहरूलाई केही ठगहरूले फाइदा उठाउने प्रयास गर्न सक्छन्। तिनीहरूले फोन गरेर फारमहरू नवीकरण गर्न सक्ने दावी गर्दै तत्काल भुक्तानीको लागि सोध्छन्। तपाईंले सही कानुनी सल्लाह र सहायता प्राप्त गरिरहनुभएको छ भनी सुनिश्चित गर्नुहोस्।

टीपीएसबारे थप जानकारी र अपडेट लिन यहाँ क्लिक गर्नुहोला ।  

पब्लिक नोटरी

आप्रवासीहरुले सबैभन्दा धेरै गल्ती गर्ने नोटरीका सन्दर्भमा पनि हो । ल्याटिन अमेरिकामा नोटरी पब्लिक गर्नेहरुसँग कानुनी लाइसेन्स पनि हुन्छ । नेपालमा समेत कानुनी कार्यालयहरुबाट नोटरी पब्लिक गर्न सकिन्छ । तर अमेरिकामा नोटरी पब्लिकलाई कानुनी काम गर्ने कुनै अधिकार हुँदैन । उनीहरु अध्यागमन वकिल होइनन् ।

डिपार्टमेन्ट अफ जस्टिसको यो लिंकमार्फत लाइसेन्स प्राप्त कानुन व्यवसायी भए नभएको चेक गर्न सकिन्छ ।

 

यस्ता विज्ञापनहरु देख्नुभयो भने सावधान हुनुहोला ।

ठगी गर्ने वेवसाइटहरु

आप्रवासीहरुलाई विभिन्न प्रलोभन देखाएर ठगी गर्ने वेवसाइटहरुको पनि अहिले बिगबिगी छ । अमेरिकामा अध्यागमन प्रकृयाका लागि आवश्यक पर्ने सबै फर्महरु निशुल्क डाउनलोड गर्न सकिन्छ । कुन फर्म कसरी भर्ने र कति शुल्क तिर्ने भन्ने विवरण पनि युएससीआईएसको वेवसाइटबाट प्राप्त गर्न सकिन्छ । अमेरिकी सरकारको आधिकारिक वेवासाइटको अन्त्यमा डट जीओभी हुने गर्छ ।

भिसा सहित जागिरको अफर

ठगहरुले अमेरिकामा जागिरको अफर सहित भिसा मिलाइदिने भन्दै रकमको माग गर्छन् । त्यस्ता ठगहरुबाट सचेत हुन जरुरी छ । विदेशमा नै रहेको बेलामा अमेरिकामा जागिर लगाइदिने भन्दै कुनै अफर वा इमेल गरेमा त्यस्ता अफर वा इमेल ठगीको इमेल हुनसक्छ । अमेरिका आउनुभन्दा अगाडि नै आफ्नो देशमा छँदै जागिरको अफर आएमा वा त्यसका लागि कसैले भिसा वा अन्य प्रयोजनका लागि भन्दै रकम मागेमा त्यस्ता ठगहरुबाट सावधान हुनुपर्छ ।

अमेरिकामा रोजगारबारे जान्न यो लिंकमा क्लिक गर्नुहोला ।

त्यसरी गरिने जागिरको अफर बैधानिक नै भएपनि तपाईले अमेरिकाको ग्रिनकार्ड प्राप्त नगर्दासम्म, अमेरिकाको वर्क परमिट र रोजगारमा आधारित भिसा प्राप्त नगर्दासम्म अमेरिकामा काम गर्न पाइदैन । यदि तपाई अमेरिकामा नै विद्यार्थी भिसामा हुनुहुन्छ भने कुनै जागिरको अफर स्वीकार गर्नु अगाडि डीएसओसँग अनिवार्य सल्लाह गर्नुहोला । यदि तपाई ग्रयाजुएट गर्नै लाग्नुभएको छ र ओपीटी आवेदन दिदै हुनुहुन्छ भने अमेरिकी सरकारको आधिकारिक पेजमार्फत थप जानकारी लिनुहोला ।

भारतमा अध्यागमन ठगी

युएससीआईएसको नयाँ दिल्ली फिल्ड अफिसबाट वा भारतमा रहेको अमेरिकी सरकारको विदेश मन्त्रालयको कार्यालयबाट भन्दै ठगहरुले इमेलहरु पठाउने गर्छन् । भिसा आवेदन स्वीकृत भएको र भिसा प्रकृयाका लागि रकम चाहिने भन्दै आउने त्यस्ता इमेलबाट सावधान रहनुहोला ।

अमेरिकी सरकारबाट प्राप्त हुने सबै इमेलको इमेल ठेगाना डट जीओभीमा अन्त्य हुन्छ । युएससीआईएसले डाइभर्सिटी भिसा, अन्य प्रकारका भिसा स्वीकृत भएको भन्दै सामान्यतया इमेल पठाउँदैन । युएससीआईएसले कुनै व्यक्तिका नाममा रकम पठाउन कहिल्यै अनुरोध गर्दैन ।

त्यस्ता ठगीबारे थप जानकारी यहाँ उपलब्ध छ ।

आई नाइन र इमेल ठगी

ठगहरुले कतिपय रोजगारदातालाई आई ९ सुचना भर्न भन्दै इमेल पठाउने गरेका छन् । रोजगारदाताहरुले युएससीआईएसलाई आई ९ फर्म पेश गर्नु जरुरी हुँदैन । न्युज डट युएससीआईएस डट जीओभी (news.uscis.gov) बाट प्राप्त इमेलसमेत नक्कली इमेल भएको युएससीआईएसले जनाएको छ ।

यदि इमेल नक्कली भएको बारे यकिन भएमा फेडरल ट्रेड कमिसनमा रिपोर्ट गर्नुपर्छ । नक्कली वा सक्कली भएकोबारे यकिन नभएमा युएससीआईएस वेवमास्टरमा रिपोर्ट गर्नुपर्छ ।

विद्यार्थीमाथि ठगी

अमेरिका बाहिर रहेका र अमेरिका आउन चाहने विद्यार्थीहरुलाई पनि ठगहरुले निशानामा पार्ने गरेका छन् । यदि तपाई अमेरिकामा विद्यार्थी भिसामा आउन चाहनुहुन्छ भने काउन्सिल फर हाइअर एजुकेशनको वेवपेजमा गएर कलेज वा युनिभर्सिटी आधिकारिक भए नभएको चेक गर्नुपर्छ ।

अमेरिकामा विद्यार्थी भिसामा आउनका लागि आई २० फर्म प्राप्त गर्न जरुरी हुन्छ । विद्यार्थी वा एक्सचेन्ज भिजिटरका रुपमा स्वीकृत भइसकेपछि डीएसओले तपाईलाई आई २० प्रदान गर्छन् । मान्यताप्राप्त नभएका विद्यालयहरुले तपाईलाई विद्यार्थी भिसा स्पोन्सर गर्न सक्दैनन् । आई २० बारे थप जानकारी अमेरिकी सरकारको आधिकारिक वेवसाइटमार्फत प्राप्त गर्न सकिन्छ ।

अन्य ठगीहरुबारे जान्न यहाँ क्लीक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com