भिसा पाएर अमेरिका आउन नपाएका सन् २०२० का डिभी विजेताको भिसा ६ महिना थपिने


प्रकाशित मिति : फाल्गुन ११, २०७७ मंगलबार

सन् २०२० को सेप्टेम्बरमा भिसा पाएका डिभी विजेताहरुको भिसाको म्याद थपिने भएको छ । उनीहरुको भिसा आगामी मार्चभित्र सकिन लागेको र मार्च ३१ सम्मको यात्रा प्रतिबन्धका कारण अमेरिका आउन नपाउने अवस्था रहेको थियो । यो अवस्थामा भिसा पाइसकेका सन् २०२० का डिभी विजेताहरु मार्च ३१ सम्म अमेरिका आउन नपाएपनि उनीहरुको भिसा लम्बिने भएको छ ।

युएस डिस्ट्रिक्ट कोर्टका न्यायाधिस अमित मेहताले भिसा पाइसकेका र मार्च ३१ सम्मको आप्रवासन रोकका कारण अमेरिका आउन नसकेका डिभी विजेताहरुको भिसा थप ६ महिना लम्बाउन आदेश दिएका हुन् । जस अनुशार उनीहरुको भिसा सेप्टेम्बरसम्म लम्बिने देखिएको छ ।

एकहजार भन्दा धेरै डिभी विजेताहरुको भिसा समाप्त भइसकेको छ भने आगामी मार्च १ देखि ३० भित्र झण्डै ६ हजारको भिसा समाप्त हुन लागेको जनाइएको छ । अब उनीहरुको भिसा सेप्टेम्बरसम्म थपिनेछ ।  ट्रम्पले कार्यकारी आदेशमार्फत सन् २०२० को भिसाको औचित्य समाप्त गरेकोमा संघीय अदालतले त्यसको बिरुद्धमा फैसला गरेपछि सेप्टेम्बरमा सयौ नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका थिए ।

युएस डिस्ट्रिक्ट कोर्ट वासिंटन डिसीका न्यायाधिस अमित मेहताले सन् २०२० का डिभी विजेताहरुलाई भिसा जारी गर्न आदेश दिएपछि सेप्टेम्बरको दोश्रो सातादेखि डिभी विजेताहरुलाई भिसा जारी गर्न सुरु गरिएको थियो । उनीहरुले सेप्टेम्बरको अन्त्यसम्म भिसा पाएका थिए । तर उनीहरु ट्रम्पको आप्रवासन रोक जारी रहँदासम्म अमेरिका आउन नपाउने भएकाले नेपालमै रोकिएका छन् ।

अदालतको आदेशपछि डाइभर्सिटी भिसा प्राप्त गर्न सफल नेपालीहरु ४०४ जना रहेको अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । जसमध्ये २२५ जना प्राथमिक डिभी विजेता नेपाली रहेका थिए भने १०५ जना उनीहरुका दम्पत्ति थिए । त्यस्तै ७४ जना उनीहरुका छोराछोरीहरु रहेका थिए ।

काठमाडौंमा रहेको अमेरिकी दूतावासलेमात्र सेप्टेम्बरमा ३७९ जना डिभी विजेताहरुलाई भिसा जारी गरेको थियो । जसमध्ये २१२ जना प्राथमिक डिभी विजेताहरु, ९५ जना उनीहरुका दम्पत्ति र ७२ जना उनीहरुका छोराछोरीहरु रहेका थिए । अदालतको आदेशपछि आफूहरुले सकेजतिलाई भिसा जारी गरेको काठमाडौंस्थीत नेपाली दूतावासले जनाएको थियो ।

अप्रिलमा ४५ सय सम्म केस नम्बर हुने नेपाली डिभी विजेता भिसाका लागि योग्य

सन् २०२० का लागि ३६९६ जना नेपालीहरुले डिभी लोटरी पारेका थिए । तर उनीहरुमध्ये झण्डै साढे १३ सय जना प्राथमिक डिभी विजेताहरुलेमात्र अमेरिकाको भिसा प्राप्त गर्न सफल भए ।

सन् २०२१ का लागि डिभी विजेता नेपालीहरुको संख्या भने ३८०१ रहेको छ ।  सन् २०२१ का डिभी लोटरी पारेकाहरुले आगामी अक्टोबर १ देखि भिसा पाउन सुरु गर्ने नियम भएपनि  भिसा पाउनमा ढिलो भएको छ ।

सन् २०२१ का डिभी विजेताहरुमा नेपाल एसियामा दोश्रो भएको छ । सबैभन्दा धेरै डिभी विजेताहरु इरानका ६ हजार १ जना रहेका छन् । सन् २०२१ का लागि विश्वमै सबैभन्दा धेरै डिभी विजेताहरु भने इजिप्टका ६ हजार २ जना रहेका छन् । त्यस्तै अल्जेरियाका ६ हजार १ जना र सुडानका ६ हजार १ जना रहेका छन् ।

सन् २००७ को अक्टोबर १ अगाडिका अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीको भिसा मार्चमा करेन्ट

आर्थिक बर्ष २०२२ का गत अक्टोबर ७ देखि डिभीका लागि आवेदन खुलेकोमा नोभेम्बर १० सम्म डिभी लोटरी भरिएको थियो । यो डिभीको नतिजा भने सन् २०२१ को मे ८ मा सार्वजनिक हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com